खेमराज रिजाल
तुलसीपुर, १३ भदौ । चारलेन सडकको समाचार नलेखौं भनेर केही दिन बिट मारेको थिएँ । पेटी ठेकेदार फेरिएपछि चारलेन सडक अब बन्छ कि भन्ने आशा पनि थियो, तर भदौ सुरुको भरीले फेरि डायरी झिक्न बाध्य बनायो । शर्षिकमा लेखेँ, कालाखोला उकालोमा दुर्घटनाको निम्तो…।
आइतवारको झरीमा बिजौरीबाट तुलसीपुर जाने क्रममा कालाखोला भेन्टेड ब्रिज क्रश गरेर उकालो लाग्दै गर्दा पत्रकार राकेशले चलाएको मोटरसाइकल अपर्झट रोकियो । सडक उकालोमा जिंग्र्रिङ बाहिर निस्केका फलामे छडमा टायर ठोक्किएको थियो । मोटो टाएर भएकाले धन्न प्वाल परेको रहेनछ । बाइक स्टार्ट गरी केही पर पुग्दा सडकको खाडलमा सिम जागेको थियो । सधै त्यहाँ सिम जाग्थ्यो, सायद ढिलो झरी परेकाले यो साल भदौ आधाआधीमा मात्रै सिम जाग्न थालेका छन् ।
‘अति गारो भो दाइ, यो सडकमा गाडी चलाउन, चारलेनले निकै सास्ती दियो, खोई चारलेन चलाउने सरकार ?’, रोकिएको बाइक स्टार्ट गर्न नपाउँदै गोरखा मावि तुलसीपुरका शिक्षक एकराज भण्डारीले बोलिरहेका रहेछन् । पछि फर्केपछि देख्यौं । आइतवारको झरीमा एक तमासले सवारी साधनहरु कालाखोला उकालोमा ठसठस गर्दै पार गरिरहेका थिए । कति धरापमा छ, कालाखोला । त्यही कारण यातायात व्यवसायीहरुको अघिल्लो साताको भेलाले चारलेन सडक स्तरोन्नतिको माग गर्दै गाडी ग्यारेजमा थन्क्याउने चेतावनी दिएका थिए ।
सोही खण्डको बीस मिटर उकालोमा हामी फेरि रोकियौं । किनकि अघिल्तिर एउटा यात्रुवाहक बस तेल सकिएर बीचमै रोकिएको थियो, ओड हालेर । एकजना यात्रुले भनिरहेका थिए– ‘चारलेनमा सरकारको उपस्थिति देखिएन ।’ उनी बोल्न नभ्याउँदै रोकिएको गाडीका स्टाफले भनेका थिए– ‘किन छैन सरकार, हामीलाई जतिसुकै धरापको सडकमा पनि कर त बढाएको बढायै छ नि ।’ सरकार छ र सरकार छैन भन्नेमा विवाद नगरौं, तपाई पत्रकारहरुले यो सडकको दूरावस्थाका विषयमा किन लेखिरहनुभएको छैन ? अर्का एक यात्रुको निर्देश थियो, पत्रकारहरुलाई । सायद ती यात्रु पत्रिका पढ्ने लायकका थिएनन्, फेसबुकसम्म हेर्दा रहेछन् ।
कहाँ छन् ? चारलेन परियोजनाका सडक मर्मतकर्ता, जसले भत्केका किनाराहरु दिनदिनै बेल्चामा माटो ल्याएर पुरिदिन्थे । यसैले पनि सडकलाई सहज बनाएको हुन्थ्यो । ती पहेलो ज्याकेटमा देखिने सडक ज्यामीहरु देखिन छाडेको दुई बर्ष नाघिसक्यो । यो सडकलाई चारलेन परियोजनामा गाभिएपछि ती सडक ज्यामीलाई पनि सडक विभागले चारलेनमै जिम्मा लगाएको रहेछ । तर चारलेनले ती ज्यामीहरुलाई अझै ग्रहण गरेको छैन । त्यही भएर अहिले सडकको सबैभन्दा ठूलो जोखिम भनेको दुवै किनारा च्यातिँदै बीचसम्म आउन थालेका छन् ।
कालाखोला उकालो भन्दा खतरनाक अब फाटेका सडक किनारा रहेका छन् । जसले सबैभन्दा बढी दुर्घटनाको निम्तो दिइरहेका छन् । पत्रेखोलाको उकालो त्यस्तै जोखिमपूर्ण छ, सेवारको वल्लो–पल्लो खण्ड बर्षातभरी सवारी चलाइनसक्नुको छ । मोटरसाइकल चालकहरुलाई सबैभन्दा बढी सास्ती हिलो र धुलोको । खोइ ? चारलेन परियोजनाका डिइ अर्जुन बम ? खोइ स्थानीय सरकारका प्रमुख नरुलाल र टीकाराम ?, खोइ प्रमुख जिल्ला अधिकारी र डिभिजन सडकका डिई ? आम यात्रुहरुले सडकमा यिनै महान व्यक्तित्वहरुलाई स्मरण गरिरहेका छन् ।
चारलेन सडकको पेटी ठेकेदारबाट अनुप पाण्डे बाहिरिए, को भित्रिए ? आम जिल्लाबासीलाई थाहा छैन । कसैले श्रेष्ठ कन्स्ट्रक्शनले काम धमाधम गरिरहेको छ भनेर उसको बचाउ गरिरहेका छन् । तर जति बचाउ गरे पनि कहाँ भएको छ काम ? चलेका भन्दा रोकिएका निर्माण सामग्रीहरु देखिन्छन् सडकमा । चारलेन कम्पनीको नाममा मज्गैमा एउटा निर्माण सामग्री राख्ने स्थान छ । त्यहाँ दर्जन जति टिप्पर, लोडर, डोजरहरु पार्किङ गरी राखिएका देखिन्छन् । पत्रेखोला पुलको दक्षिणतर्फ कालोपत्रेको माल बनाउन बनाइएको एउटा मेसिनसहितको संरचना देखिन्छ । तर काम भने कत्ति पनि सन्तोषजनक छैन ।
धरौटी जफत हुने अवस्थामा बल्ल यहाँ आएको श्रेष्ठ कन्स्ट्रक्शनले पन्ध्र महिनामा चारलेनको काम सक्ने लिखित प्रतिबद्धता चारलेन सडक परियोजनाको कार्यालयमा बुझाएको थियो । सायद असार मसान्तमा काम गरेको अर्को किस्ता पाएपछि फेरि कछुवा तालमा पुग्यो चारलेन भनेर आम जिल्लाबासीहरुले भन्न थालेका छन् । भारत सरकारको सहयोगमा भारतको मुम्बैस्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फा प्रोजेक्ट प्रालिले घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तीखौवासम्म कतै दुई लेन त कतै चारलेन सडक कालोपत्रे गर्ने गरी ठेक्कामा लिएको थियो ।
तर कम्पनीका आधिकारिक प्रतिनिधि प्रवीण ब्रम्हदेव पाण्डे एकपटक मात्रै दाङमा आएर एक बर्षमा काम सक्ने प्रतिबद्धता भिंग्रेली होटल बाहिरको चौरमा जनाएका थिए, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, पत्रकार, प्रहरी प्रमुख र केही राजनीतिक दलका प्रतिनिधिहरुसँग । त्यसको पनि समयसीमा पूरा हुन थालिसकेको छ । तर फेरि अर्को पटक प्रवीण ब्रम्हदेव दाङ आएका छैनन् । ३३ महिनामा निर्माणको काम सम्पन्न गरिसक्ने भनी ठेक्का सम्झौता भएको थियो । त्यो समय सकिइसकेको छ ।
अघिल्लो महिना एउटा अनलाइन संस्करणमा एउटा समाचार हेरेको थिएँ, भारतले सडक निर्माणमा विश्व रेकर्ड ब्रेक गरेको । भारतले एक दिनमा २२ किमि सडक निर्माण गरेर यसअघि कतारले गरेको रेकर्डलाई तोडेको थियो । तर त्यही भारतको एउटा निर्माण कम्पनीले लिएको ठेक्कामा किन यति धेरै लापरबाही ? कारबाहीको साटो म्याद थप गरेर पुरस्कार दिइरहेको छ, परियोजना कार्यालय । यही कारण यहाँका नागरिकहरु अहिले मौन छन्, किनकि उनीहरुलाई चारलेन सडक एकादेशको कथाजस्तै लागिरहेको छ ।