राष्ट्रको भावना र अपेक्षा

२०७७ चैत्र २२ गते
केही यस्ता व्यवहारहरु हुन्छन् जसबारे पूर्णरुपमा तर्क गरेर मात्र ठिक बेठिक छुट्याउन वा पुष्ट्याउन सकिँदैन । किनभने मानिसले आफूले गरेको वा गर्न चाहेको कामलाई सकेसम्म उचित नै ठह¥याउन प्रयास गर्छ । यसका लागि तर्ककै भर पर्ने गरिन्छ । त्यसैकारण कतिपल्ट त यो काम उचित भएन भन्ने आफ्नो मनले मान्दामान्दै पनि तर्क गर्न नसकेर चुप लागेर बस्नुपर्छ ।

कहिलेकाहीँ त आफैले त्यस्तो व्यवहार गर्नुपर्ने परिवेश पनि बन्नसक्छ । तर पनि अरुलाई यो ठिक वा बेठिक भनेर एउटा निश्चित समूह अथवा क्ष्ँेत्रमा भन्न मन लाग्छ र भनिन्छ । त्यसैले तर्कको भरमाभन्दा जिम्मेवारी र मर्यादाको भरमा समेत धेरै व्यवहार गर्नुपर्ने हुन्छ । यस्तो नगरेमा व्यक्तिको मात्र होइन त्यो संस्था वा पदको समेत मर्यादा घट्नसक्छ । अनि त्इसबारे विवाद वा आलोचना बढी हुनसक्छ । मानिसको आफ्ना कमजोरी हुन्छन् । तिनीलाई सकेसम्म लुकाएर राख्नुपर्छ ।

खास गरेर कुनै संस्थाको यो उच्च पदको सम्मानार्थ यस्तो गर्नैपर्छ तर हिजो मात्रै नेपालका महामहिम राष्ट्रपति पार्टीको आन्तरिक खिचलोले पार्टी टुक्रिने अवस्थामा पुगेको बेला त्यो बीचको मिलाउने एकजना नेताको घरमै पुगेको समाचार आयो । त्यहाँ गएर पार्टीलाई खिचलोयुक्त बनाएर एकबद्ध सशक्त बनाएर लैजानुपर्नेमा चर्चा भएको समेत सञ्चार माध्यममा आयो ।

राष्ट्रपति जस्तो पदमा पुगेको राष्ट्र, व्यवस्था र संविधानको संरक्षकको भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी भएको व्यक्ति अथवा राजनीतिभन्दा माथि सबैको संरक्षक भएको व्यक्ति देशको प्रथम नागरिकको सम्मान पाएको व्यक्ति एउटा पूरै सर्वोचच संस्था घरघरमा गएर पार्टीको विषयमा आफै इन्टेन्सन लिएरु विवाद मिलाउन प्रयास गर्नुले वहाँ पूरै राष्ट्रको राष्ट्रपति हो कि होइन भन्ने प्रश्न उठ्नसक्छ ।

पार्टी भन्दा माथि उठ्न नसकेको वहाँ चरित्र प्रष्ट पार्छ । यस्तो गतिविधिलाई स्वयम् त्यो पार्टीकै नेतृत्व र कार्यकर्ताले समेत पचाउन नसक्नुपर्ने हो । राष्ट्राध्यक्षले पार्टी संरक्षण गर्ने हो कि राष्ट्र संरक्षण गर्ने हो ? यो कुरामा त सबै प्रष्ट हुन सक्नुपर्ने हो । मानवीय भावना अनुरुप बिरामी भेट्न गएको भए समाचारलाई नबङ्ग्याउनुपर्ने हो । अझ कतिपल्ट त मैले माथि भनेझैँ आफ्ना भावनाहरुलाई समेत आफैमा नियन्त्रण गरेर निष्पक्ष र निरपेक्ष बस्नुपर्ने पनि हो । सायद यस्तै चरित्रलाई पदीय गरिमा धान्न नसकेको भनिन्छ ।

यस्तै व्यक्ति र यस्तै क्रियाकलापले संस्थाप्रति, व्यवस्थाप्रति र व्यक्तिप्रति प्रश्न गर्ने मौका दिने गर्छन् । नियमले बाँधिएकाहरु, जिम्मेवारीले बाँधिएकाहरुको अगाडि भावना धेरै पछिको कुरो हो । राष्ट्रको भावना र अपेक्षाका अगाडि आफ्ना भाव र अपेक्षामा अंकुश लगाउनै पर्छ । अन्यथा गरिमामा चोट पुग्छ । सही वा गलत तर्कहरु सबैसँग हुन्छन् तर राष्ट्राध्यक्षले राष्ट्रकै बारेमा सोच्नुपर्छ, पार्टी विवादको बारेमा होइन ।

२०७७ चैत्र २७ गते

आज म जीवनमै अति खुसी भएको बिहान । चैत्र २६ गते अलि राती पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापनाका लागि राजदरबारमा सहमति भएछ । यो २०४६ सालको कुरो हो । मैले भोलिपल्ट चैत २७ गते बिहान पाँच बजे रेडियो नेपालबाट थाहा पाएँ ।

मलाई सम्झना छ आफ्नो परिचयायक धुनपछि रेडियो नेपालका त्यतिबेलाका सञ्चालकले भनेको जसको नाम मात्र लिँदा हामीलाई जेल जानुपथ्र्याे, उनै वीपी कोइरालालाई श्रद्धाञ्जली दिँदै र सम्झना गर्दै आजको कार्यक्रम सुरु गर्न गइरहेका छौँ । यस्तै–यस्तै म सुतेको मानिस उफ्रेको हुँ र कराएर श्रीमतीलाई यो कुरा सुनाएको हुँ ।

त्यतिबेलाको खुसीको अनुभूति अहिले पनि हुन्छ । त्यतिबेलाको राजनीतिक चेतनाको मूलपक्ष भनेकै नागरिक स्वतन्त्रता, जसमा राजनीतिक स्वतन्त्रता समेत सामेल होस् र आम नागरिक प्रजा वा दास नभएर निर्णायकको हैसियतमा पुगून भन्ने थियो । त्यही भए सबै सुस्त सुस्त सुध्रिँदै जान्छ ।

कसैको व्यक्तिगत मनमानी चल्दैन भन्ने विश्वास थियो । अहिलेको भनौँ वा त्यसपछिका भोगाइले सबै कुरा मैले अपेक्षा गरेको जस्तो भएको छैन । यो मैले स्वीकार गर्नैपर्छ तर नागरिक स्वतन्त्रताको पक्षमा म अझै पनि छुँ । त्यसका लागि आवश्यक राजनीतिक पक्ष प्रजातन्त्र नै हो भन्नेमा पनि म विश्वस्त छुँ । त्यसैले मैले आजका मितिमा पनि भन्ने गर्छु– मैले राजनीतिक लक्ष्य प्राप्त गरेकै हो ।

म आफू केही बनूँला, कुनै पद पाउँला वा आर्थिक फाइदा लिउँला भन्ने मेरो उद्देश्य नै थिएन । अब प्रजातन्त्रका सञ्चालकहरु या त नियत खराब भएका या क्षमता नभएका भए अथवा अतिमहत्वाकांक्षी भए र यसको उचित व्यवस्थापन गर्न पनि सकेनन्, उचित चरिकाले संरक्षण गर्न पनि सकेनन् । उचित तरिकाले प्रयोग गर्न पनि सकेनन्, यो व्यवस्थाको दोष होइन । यो त सञ्चालक वा शासकको दोष हो ।

गर्छु भनेको नगर्ने वा गर्न नसक्ने, सामान्य भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बरु त्यसैमा आफू समेत प्रतिस्पर्धी हुने चरित्रले राष्ट्रिय हितलाई सधौ चोट पु¥याउँछ । यहाँ केही राम्रो गर्नैपर्छ भन्ने सोचको विकास भएन, बरु म केही बन्नैपर्छ भन्ने र त्यसका लागि सही गलत सबै उपाय अवलम्बन गर्ने, आफ्नो संघर्षलाई विक्रीको वस्तु सम्झने चरित्रले अपेक्षित बाटो पकड्न नदिएको हो । अभिव्यक्ति स्वतन्त्रताकै कारणले अहिलेसम्म यहाँ व्यवस्था यथावत छ नत्र तानाशाह जन्मिसकेको हुन्थे ।

मीठो भाषामा भन्ने हो भने म भुक्न पाएको छु र त गलत काम गर्नेहरुलाई केही हदसम्म रोक्न सकेको छु । यो पनि नपाउने हो भने यहाँ केही बच्ला जस्तो लाग्दैन । त्यसैले यो दिन आज पनि मेरो लागि सम्झनलायक दिन एउटा महत्वपूर्ण दिन बनेको छ । म सक्दासम्म आजको दिनको यही महत्वबारे लेख्ने बोल्ने पनि गर्थे । अब मलाई खोजिँदैन । अर्को पिढी तयार भइसकेको छ तर यो दिनमा एउटा नयाँ उत्साह भने अझै पनि आउँछ ।