पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग

दाङ, ८ भदौ । नागरिक समाज दाङले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । समाजको मंगलबार घोराहीमा बसेको बैठकले भारतबाट खरिद भई आउने पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीका आधारमा समायोजन गर्नुपर्ने भए पनि पछिल्लो ३ पटक मूल्य घटेर आउँदा पनि नेपाल आयल निगमले मूल्य समायोजन नगर्दा आम उपभोक्ता थप व्ययभारमा परेको भन्दै खरिद मूल्यअनुसार नयाँ मूल्य अबिलम्व निर्धारण गर्न माग गरेको हो ।

समाजका संयोजक केबी मसालको अध्यक्षतामा बसेको बैठकले संघीय संसदबाट पारित भएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएकोमा प्रतिनिधि सभाबाट पुनः जस्ताको तस्तै पारित भई राष्ट्रियसभामा पेश भएको सन्दर्भमा नागरिक समाज दाङले ध्यानाकर्षण भएको जनाएको छ । समाजले नागरिकता भन्नेजस्तो राष्ट्रिय संवेदनशील विषयमा राजनीतिक दलबीचको इगो नबनाई प्रत्येक प्रदेशस्तरमा सर्वपक्षीय भेला गराई नागरिकको आवाज समावेश गरेर मात्र अगाडि बढ्न नेपाल सरकारसमक्ष माग गरेको छ ।

जनवायु परिवर्तनका कारण यस वर्ष पर्याप्त वर्षा नहुँदा खडेरी भई धानबालीमा असर गरेकाले धान उत्पादनमा ह्रास आउने प्रायः निश्चित भएको हुँदा आगामी वर्ष खाद्य संकट बढ्ने सम्भावना बढेको र राष्ट्रिय अर्थतन्त्रमा समेत असर पर्ने खतरा बढेको भन्दै सतर्क गराएको छ । यसका कारण समयमै मल–बीउको समूचित व्यवस्था गरी गहुँबालीलगायत अन्य नगदेबाली उत्पादनमा ध्यान दिई गास, बास र कपासजस्ता आधारभूत आवश्यकता परिपूर्ति गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

नेपाल सरकारले जेष्ठ नागरिकलाई उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत भुक्तानी दिँदै आएकोमा बैंकमा लामो समय लाइनमा बस्न पर्दा कठिनाई महसुस गरेको व्यापक गुनासो आएकाले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता सरल, सहजरुपमा उपलब्ध गराउन वडा समितिका कार्यालय र सम्बद्ध बैंकका कर्मचारी खटाई गाउँ–टोलमा पुगेरै भुक्तानीको व्यवस्था मिलाउन नागरिक समाजले अनुरोध गरेको छ ।

समाजले नेपालमा क्रियाशील विभिन्न राजनीतिक दलहरुले समय–समयमा विभिन्न माग राख्दै नेपाल बन्द, चक्काजामजस्ता अशोभनीय कार्यहरु गर्दै आएकोमा बन्दको विकल्प खोज्दै आफ्ना मागहरु सम्बोधन गर्न दुई पक्षीय वार्ताबाट निकास खोज्न पनि अनुरोध गरेको छ । यस्तै, आउँदै गरेका हरितालिका तीज पर्वलगायतका चाडलाई महंगो, भड्किलो र देखासिकीमा नभई हुँदा खाने र हुने खानेबीचको भेद नछुट्टिने गरी समभाव राखेर पर्व मनाउन सबैमा आग्रह गरेको छ ।

बैठकमा समाजका निवर्तमान संयोजक चन्द्रराज पन्त, कोषाध्यक्ष हरिलाल विश्वकर्मा, निवर्तमान सचिव लक्ष्मी आचार्य, सदस्यहरु रामदयाल गुप्ता, भूपेन्द्र सुवेदी, केशवकुमार शर्मा, पद्मपसाद शर्मा, शरद गौतम, बसन्तराज भट्टलगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण समाजका सचिव नारायणप्रसाद श्रेष्ठले गरेका थिए ।