समयमै निर्माण सम्पन्न नहुनु अटेरी कि बाध्यता

बालाराम खड्का
तुलसीपुर, ६ भदौ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै छ । त्योसँगै यो विकास मैले गरेको हुँ, त्यो मैले गरेको हुँ भन्न सुरु भएको छ । त्यस्तै विकासका कामहरु उद्घाटन र शिलान्यास गर्नेको होडबाजी छ तर जिल्लाका निर्माणाधीन विकास निर्माणका कामहरु सुचारु गराउनमा कसैको ध्यान छैन ।

तुलसीपुर एयरपोर्ट, घोराही तुलसीपुरको फोरलेन बाटो पनि चुनावमा भजाउने विकास भएको छ । त्यस्तै भर्खरै कालोपत्रे सडकमा बेस हालेको तुलसीपुर–सल्यान सडकखण्डमा खाडल परिसकेका छन् । रक्षाचौरको आँखा अस्पतालसम्म पुग्ने बाटोमा बेस हालेको करिब २ महिना भयो तर कालोपत्रे भएको छैन् । भताभुङ्ग, लथालिंग विकास निर्माण अटेरी कि? निर्माण कम्पनीको बाध्यता ? सबैले प्रश्न गर्ने गरेका छन् । घोराही–तुलसीपुर सडकखण्ड निर्माणको जिम्मा लिएका ठेकेदार काम अलपत्र पारेर भाग्ने गरेका छन् ।

अहिले त्यसले काम अलपत्र छ । घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तीखौवासम्मको २८ दशमलव १९ किलोमिटर सडक फोरलेन बनाउनुपर्नेमा अहिलेसम्म सडकछेउको जमिन कटान र ह्युमपाइप हाल्नेबाहेक अरू केही काम हुन सकेको छैन । केही समय पहिले निर्माण कम्पनीले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, राजनीतिक दलका प्रमुख र सरोकारवालाको उपस्थितिमा निर्माण कम्पनीले अब सडक समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो । तर अहिलेसम्म केही काम हुन सकेको छैन । भएको बाटो पनि भत्काइदिँदा निकै समस्या भएको छ ।

सोही फोरलेन सडक निर्माण सुरु भएसँगै धेरैको अकालमै ज्यान गइसकेको छ । कतै काम हुन सकेका छैन भने कतै सडक निर्माण भएको १ महिना नपुग्दै खाल्डाखुल्डी परेका छन् । ‘सल्यान रोडमा कालोपत्रे सडकमा बेस हाल्ने काम भएको थियो तर एक महिना नपुग्दै सडकभरि खाडल छन् यो कसले हेर्ने हो ?’, स्थानीय शोभाराम भण्डारीले भने । उनले गुणस्तरीय काम नभएकोले १ महिना पनि सडक नटिकेको बताए । त्यस्तै व्यवसायी, राजनीतिक दल तथा सर्वसाधारणहरुले दिनहुँ सामाजिक सञ्जालमा आक्रोश पोख्ने गरेका छन् ।

‘घोराही–तुलसीपुर सडकखण्डमा भएको कालोपत्रे सडक पनि किन भित्काएको होला ? बाटोको विजोग छ कहाँ छ स्थानीय केन्द्रीय सरकार ?’ व्यवसायी उमेशचन्द्र मजगैयाँले भने । उनले व्यवसायीहरुलाई विभिन्न बहानामा समस्यामा पारेको समेत गुनासो गरे । ‘बाटोको अवस्था यस्तै छ, तेल बढेको बढ्यै छ, विकास निर्माणको काम बर्षाैदेखि अलपत्र पार्नेलाई खै केही हुन्न !’ उनले भने ।

त्यस्तै राजनीतिज्ञ तथा यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सल्लाहकारसमेत रहेका सुरेश हमालले पनि आफ्नो फेसबुक वालमा तुलसीपुर–घोराहीको बाटो बनाउने काम शुरुवात नभएमा सम्पूर्ण सार्वजनिक सवारीका साधनहरु घर ग्यारेजमा राख्न बाध्य हुनेछौं भनेका छन् । उनले सम्बन्धित निकाय के गर्दैछ भनेर प्रश्न गर्दै दाङमा सञ्चालित सबै यातायात व्यवसायीहरुलाई भनेका छन् ।

त्यस्तै स्थानीय बसन्तकुमार सिंहले पनि तुलसीपुर–घोराही सडक बन्ने कहिले हो यसको जवाफ दिने कसले हो, हैन यो देशमा जसले जे गरे पनि हुने हो ? भनेर प्रश्न गरेका छन् । त्यस्तै अब चाडपर्व नजिकिएसँगै कतिले ज्यान गुमाउनुपर्ने हो भन्ने तर्क समेत गरेका छन् ।