शिव राज खनाल
राजपुर, २९ साउन । दाङको राजपुर बेला गाउँपालिकाका माध्यमिक विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सुरु भएको छ ।
गाउँपालिकामा रहेका ८ वटा माध्यमिक विद्यालयमा यो कार्यक्रम लागू गर्न थालेको हो । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यावसायिक, सीपयुक्त एवम् स्वालम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्य सहित यो कार्यक्रम सुरु भएको हो ।
यो कार्यक्रम सुरुवात भएसँगै विद्यालयमा खाली रहेका जग्गा सदुपयोग हुने र अतिक्रमणको चपेटाबाट बचाउन सकिनुका साथै विद्यार्थीहरू बाल्यकालदेखि नै कमाउने वातावरण सिर्जना हुने भएकाले यो योजना लागू गरिएको राजपुर गाउँपालिकाका अध्यक्ष सरद बुढाथोकीले बताए । ‘अहिले नेपाली आफ्नो देशमा काम गर्न लाज मान्ने स्थिति देखिएको छ, हामी परजीवीजस्तै भएका छौँ, अब त्यसको अन्त्य राजपुर गाउँपालिकाबाट सुरुवात गरिनेछ’, बुढाथोकीले भने ।
विद्यालयमा ७, ८, ९ कक्षा पढिरहेका बालबालिकालाई सुरुमा ग्रुपमा बाँडिनेछ । त्यसपछि एउटा गु्रपलाई एउटा काम दिइनेछ (जस्तै बंगुरपालन, कुखुरापालन, तरकारी खेती आदि ।’ यसरी विद्यालयमा भएका उत्पादन होटेल, रेष्टुरेण्टलगायतसँग समन्वय गरेर बजारीकरण गरिने अध्यक्ष बुढाथोकीले बताए । ‘यसरी भएको आम्दानीबाट २५ प्रतिशत विद्यालयको कोषमा र ७५ प्रतिशत विद्यार्थीका लागि छुट्याइने गाउँपालिकाकी उपाध्यक्ष धनपतीदेवि यादवले बताइन् ।
विद्यालयमा पढ्दै कमाउँदै स्वरोजगार बन्नका लागि यो कार्यक्रमले अभिप्रेरित गर्नेछ । कार्यक्रम सञ्चालनका लागि सुरुवाती सम्पूर्ण आर्थिक सहयोग राजपुर गाउँपालिकाले गर्ने राजपुर गाउँपालिकाका लेखा संयोजक प्रमोद बस्नेतले बताए । स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय वा कसैको सहयोग पाएमा कार्यक्रम सञ्चालन गर्न सहज हुने बस्नेतको भनाइ छ । यो कार्यक्रम आउँदो आर्थिक वर्षदेखि कार्यान्वयन हुने उनले बताए ।
त्यस्तै राजपुर गाउँपालिकाका प्रवक्ता श्यामबहादुर रोका मगरले यो कार्यक्रमले गरिब विपन्न परिवारलाई लक्षित गरेर सुरुवात गरिएको बताए । वडा नं. २ का अध्यक्ष ओमप्रकाश यादवले यतिबेला गाउँपालिकाको टिम सहित विद्यालयमा पुगिरहेको विद्यार्थी अभिभावकबाट राम्रो प्रतिक्रिया आएको बताए ।