तुलसीपुरमा अटोलाई व्यवस्थित गर्न सुझाव

निरला अर्याल
तुलसीपुर, २८ साउन । दाङभ्याली यातायात प्रालिको प्रथम वार्षिकउत्सव तथा साधारण सभा तुलसीपुरमा सम्पन्न भएको छ । सुरक्षित यात्रा हाम्रो प्रतिबद्धता भन्ने मुख्य नाराका साथ साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो ।

दाङभ्याली यातायात प्रालिका अध्यक्ष वेदप्रकाश ओलीको अध्यक्ष्य तथा तुलसीपुर नगरपालिकाका मेयर टीकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेयर खड्काले पछिल्लो समय अटो रिक्सा सडक यातायातमा नभइ नहुने सवारीसाधन भएको बताए । उनले अटो सजिलोसँग सानो सडकमा पनि गुडाउन सकिने भएकाले सुख, दुःखमा साथ दिने गतिलो साधन भएकोले यसलाई व्यवस्थीत रुपमा चलाउन चालकहरुलाई आग्रह गरेका हुन ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख झबिन्द्र परियारले अटो चालकहरुले अनिवार्य अनुमति पत्र लिएर मात्र चलाउन सुझाव दिए । उनले सीट क्षमतालाई ध्यान दिनुपर्ने, मदिरा सेवन गरेर सवारी नचलाउने, पार्किंग ब्यबस्थित गर्ने,भाडाको एकरूपता हुनुपर्ने, वैज्ञानिक भाडादर सूची कायम गर्ने, रात्रिकालीन समयमा बढी भाडा नलिन सुझाव दिनु भएको छ । कार्यक्रममा मानव अधिकार तथा शन्ति समाजका बरिस्ठ उपाध्यक्ष सुशील बस्नेतले अटो व्यवसायीलाई यात्रु मैत्री बनाउन सुझाव दिए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले अटो व्यवसायलाई नेपाल सरकारको नीति र नियम कानुनले सहयोग नगरेको, अटो व्यवसायको वर्गीकरण हुन नसकेको समस्याहरु उठाइएको थियो । दाङमा मात्र ६ हजार अटो रिक्सा सञ्चालनमा रहेको तथ्यांक रहेको कार्यालय प्रमुख महेन्द्र महराले जानकारी दिएका थिए । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले अटो ब्यबसायीको हक हितको पक्षमा संस्था बलियो हुनुपर्ने बताइन ।

विभिन्न व्यक्तिलाई सम्मान

समितिले प्रथम साधारणसभाका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । जस अनुसार जेष्ठनागरिक अटो ब्यबसायी तोजबहादुर डाँगी, ट्राफिक नियम पालना गरी अटो चलाउने विमबहादुर बाठामगर, मानबहादुर नेपाली, विष्णुप्रसाद भुसाल, शितल चौधरी, राजेश चौधरी, टोपलाल भण्डारी, प्रमित चौधरी नगदसहित सम्मान गरिएको छ ।

त्यस्तै संस्थामा उत्कृष्ट काम गर्ने विष्णुकुमारी खड्का र रमिता चलाउने पुरस्कृत गरिएको छ । कार्यक्रमको सञ्चालन पत्रकार आशिष केसी र रिजु लामिछानेले गरेका थिए ।