पार्टीका नेता जनतासँग जोडिनैपर्छ : महरा

  •   
  •  

लमही, २१ साउन । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं प्रतिनिधिसभाका पूर्व सभामुख कृष्णबहादुर महराले राजनीतिक दलका नेताहरु तल्लो तहका जनतासँग जोडिन आवश्यक रहेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सल्लाहकार स्व. द्रोपता पौडेलको श्रद्धाञ्जली सभा कार्यक्रममा पूर्वसभामुख महराले दलहरु जनतासँग नजोडिँदा जनगुनासो बढेको बताएका हुन् । उनले जनताको गुनासो सम्बोधनका लागि नेताहरु जनतासँग जोडिएर राजनीति गर्न सुझाव दिएका हुन् ।

‘पार्टीका नेताहरु जनतासँग नजोडिँदा जनता र पार्टीबीचको दूरी कम भएको छ’, प्रवक्ता महराले भने– ‘पार्टीलाई बलियो बनाउनका लागि नेताहरु जनतासँग जोडिन आवश्यक छ ।’ उनले नेताहरुलाई जनभेटघाटलाई बढाउँदै जनताको समस्यालाई सम्बोधन गर्ने गरी राजनीति गर्न आग्रह गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) का महराले माओवादीको केन्द्रीय सम्मेलनले जनतासँग जोडिने गरी कार्यक्रम ल्याएको भन्दै जिल्ला तहका नेताहरुलाई जनतासँग जोडिएर काम गर्न आग्रह गरेका हुन् । माओवादी पार्टीमा पनि आधार छोडेको जस्तो देखिएको स्वीकार्दै उनले जनजीविकाका सवालमा केन्द्रित भएर महाधिवेशनमा समीक्षा गरिएको बताएका थिए ।

नेता महराले भने– ‘अहिले पार्टीमा समस्या कम भएको र महाधिबेशनपछि प्रगति पनि देखिन थालेको छ ।’ कार्यक्रममा लुम्बिनी प्रदेशकी सांसद दामा शर्मालगायतको सहभागिता थियो । दाङको लमही नगरपालिका वडा नं. ५ निवासी स्व. द्रोपता पौडेल २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट लमही नगरपालिकामा नगर प्रमुखमा उम्मेदवार बनी पराजित भएकी थिइन् ।