चुनावमा गठबन्धन संविधानविपरीतः उपाध्यक्ष नेम्वाङ

  •   
  •  

दाङ, २१ साउन । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले गठबन्धनका दलहरूले चुनावी तालमेल गर्नु संविधानविपरीत भएको बताएका छन् । ‘जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकाले विपरीत सिद्धान्त भएका दलहरूले तालमेल गर्नु गलत छ’, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले शुक्रवार घोराहीमा गरेको प्रदेशस्तरीय प्रशिक्षणको उद्घाटन गर्दै उपाध्यक्ष नेम्वाङले भने– ‘चुनावमा विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्ने कुरा संविधान र संसदीय मूल्य विपरीत नै हो ।’

चौतर्फी दबावले सरकारले चुनाव घोषणा गरेको भन्दै देशलाई हार्न नदिन पनि एमालेले चुनाव जित्नुपर्ने उनले बताए । उनले चुनावमा जनता नै अदालत भएकाले परिणाम एमालेको पक्षमा आउने विश्वास व्यक्त गरे । चुनावलाई पार्टीले अवसरको रुपमा लिने र त्यो अनुसार खट्न नेता तथा कार्यकर्तालाई उनले निर्देशन समेत गरे । ‘जनताको जनादेश लिएर हामी मूुल गेटबाट नै सिंहदरबार प्रवेश गर्छाै’, उनले भने– ‘सिंहदरबार छिर्न अरुलाई जस्तो अदालत एमालेलाई आवश्यक छैन ।’

जनताको माझमा जाने प्रक्रियालाई एमालेले सधै अवसरको रुपमा लिने गरेको उनले बताए । ‘यो निर्वाचन हाम्रो लागि अवसर हो’, उनले भने– ‘जनताले एमालेलाई हिजको भन्दा बलियो शक्तिका रुपमा उभ्याउनेछन् ।’ उपाध्यक्ष नेम्वाङले चुनावमा राष्ट्रियता र एमाले सरकारमा भएका बेला गरेका कामका एजेण्डा लिएर जनताका माझमा जाने समेत बताए ।

‘हामीले सरकारमा रहँदा छोटो समयमा राम्रा काम गरेका छौँ । चुच्चे नक्सा हामीले जारी गरेका छौँ । त्यो कुरा नै लगेर हामी जनताका माझमा जाने छौँ’, उनले भने । उनले स्थानीय तहको चुनावमा लोकप्रियतामा एमाले पहिलो दल भएको समेत बताए । ‘गठबन्धनका बाबजुद पनि स्थानीय तहको चुनावमा एमालेले ३४ प्रतिशत मत प्राप्त गरेको छ’, उपाध्यक्ष नेम्वाङले भने ।

प्रशिक्षणमा नेकपा एमाले महासचिव शंकर पोख्रेलले अहिलेको सरकारले १ वर्षमा नै देशलाई दुर्गतीमा लगेको बताए । उनीहरुले थप वर्ष यस्तै गरेर देश चलाए खत्तम हुने समेत बताए । देशलाई बर्बादीबाट बचाउनका लागि एमालेले चुनाव जित्नुपर्ने महासचिव पोख्रेलले बताए । सत्तारुढ गठबन्धनका नेताहरुको कुनै गन्तव्य नै नभएको उनको आरोप छ । ‘गठबन्धनको कुनै गन्तव्य छैन ।

गठबन्धन स्वार्थहरुको झुण्ड हो । यिनीहरु सत्ताको लागि जे पनि गर्छन् । जस्तोसुकै कुकृत्य गर्न पनि तयार छन्’, उनले भने । महासचिव पोख्रेलले अनुचित र गैरजिम्मेवार काम गरेको अर्थमन्त्रीलाई बहुमतको आडमा उन्मुक्ति दिने काम गरेको समेत बताए । गठबन्धन सरकारका कारण देश संकटमा फस्दै गएको समेत बताए । ‘एमाले सरकारमा रहँदासम्म देशको आर्थिक अवस्था सकारात्मक रूपमा थियो । तर अहिलेको आर्थिक अवस्था नाजुक अवस्थामा छ’, उनले भने– ‘एमालेले सरकार छोड्दा मुलुकको सोधनान्तरस्थित बचतको अवस्थामा थियो । तर गठबन्धन सरकारका कारण एक वर्षको अवधिमा देश घाटामा छ ।’

उनले गठबन्धन सरकारले वैध अर्थतन्त्रलाई ध्वस्त पारेर अवैध अर्थतन्त्रलाई प्रोत्साहन दिने गरेको समेत आरोप लगाए । देशको अर्थतन्त्र संकटमा परेको भन्दै उनले सरकार पूर्णरूपमा असक्षम भएको बताए । उनले मुलुक जोगाउनको लागि एमालको विकल्प नभएको समेत बताए । मुलुकमा समृद्धि नीतिले ल्याउने भन्दै त्यो नीति एमालेसँग मात्र भएको दाबीसमेत गरे । ‘समृद्धि ल्याउन पार्टीको नीति चाहिन्छ । त्यो अरुदलसँग छैन’, पोख्रेलले भने– ‘राष्ट्रको सही दिशा निर्देशन गर्ने नीति एमालेसँग छ ।’

एमालेले आगामी चुनाव केन्द्रित गरेर सात प्रदेशमा प्रशिक्षण सञ्चालन गरेको छ । प्रशिक्षणमा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रदेश कमिटीका सदस्यहरुको सहभागिता छ । प्रशिक्षणको लागि पार्टीका उपाध्यक्ष नेम्वाङ, महासचिव पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली र अन्य नेताहरु दाङमा छन् । प्रशिक्षण शनिवार सकिने छ । प्रशिक्षण कार्यक्रम प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा भएको थियो । प्रदेश कमिटी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रदेश सचिव लक्ष्मण आचार्यले गरेका थिए ।