प्रदेश र प्रतिनिधि सभा चुनाव मंसिर ४ गते गर्ने मन्त्रिपरिषद्‌को निर्णय

काठमाडौं,१९ साउन । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो।

यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो। यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो।

प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ।