धर्म र संस्कृति जीवन जिउने आधार हो

  •   
  •  

नारायणप्रसाद श्रेष्ठ
धर्म र संस्कृति मेटिनु भनेको राष्ट्रिय अस्तित्व संकटमा पर्नु हो । धर्म र संस्कृतिले नै समाजमा सुशासन र अनुशासन कायम गरेको हुन्छ । अनुशासनविनाको स्वतन्त्रता भीडतन्त्र हो । अनुशासनलाई धर्म र संस्कारले गाइड गरेको हुन्छ । पाप र पुण्यको साक्षी बसी इतिहास कायम गरेको हुन्छ । धर्मविनाको संस्कृति र अनुशासनविनाको स्वतन्त्रता प्राणविनाको शरीरझैँ हुन्छ ।

हात, खुट्टा, टाउको त हुन्छ तर उसमा न त विवेक हुन्छ, न त विनासहारा ऊ बाँच्नै सक्छ । जहाँ अनुशासन हुँदैन त्यहाँ विश्वास हुँदैन । जहाँ विश्वास हुँदैन त्यहाँ अराजकताको वातावरण मडारिइरहन्छ । त्रास र भयको वातावरणले मानिसलाई असन्तुलन बनाइरहन्छ । प्रतिशोध र छिनाझप्टीको वातावरण मडारिरहन्छ । अविश्वासले मानिसलाई पतनउन्मुख बनाउँछ । जसरी अनुशासनलाई धर्मले गाइड गरेको हुन्छ, त्यसरी नै धर्मले कानुनलाई पनि गाइड गरेको हुन्छ ।

पाप र पुण्यको हवाला दिई असल कर्म गर्न उत्प्रेरित गरिरहेको हुन्छ । तसर्थ अरु कसैलाई नराम्रो दृष्टिले हेर्नुमात्र पनि पाप हो भन्ने मानसिकता जब प्रत्येकको मन–मन्दिरमा प्रवेश गर्न थाल्दछ तबमात्र कानुनी राज्यको अवधारणा विकसित हुन पुग्दछ । कानुन बन्दैमा सबै हुन्छ भन्ने सोच्नुमात्र पनि अहंकार र घमण्डलाई प्रोत्साहन दिनु हो । कानुनलाई व्यावहारिक जीवनमा उपभोग गर्नको लागि धर्म र संस्कृतिलाई पनि त्यत्तिकै महत्व दिनुपर्छ ।

संस्कृति हराउनु भनेको मानिस अविवेकी बन्नु हो । संस्कार र संस्कृतिबाट नै परिवार, समाज र राष्ट्र गतिशील भएको हुन्छ । यदि राष्ट्रिय अस्तित्वलाई मेटाउनु छ भने संस्कृतिलाई खत्तम गरिदिए अरु कुनै अस्त्र चाहिँदैन भनिन्छ पनि । किनकि संस्कृति नभए मानिस जंगली जनावरभन्दा पनि तल्लोस्तरको बन्न पुग्दछ । जनावर त बरु केही धैर्य र संयमित हुन्छन् तर त्योभन्दा पर मानवीय विवेक गिर्न पुग्दछ । जंगली जनावर आफ्नो संस्कृतिअनुकूल एक झुण्डमा रहने, घुम्ने गरेको हुन्छ ।

यो उनीहरुको परम्परागत संस्कार पनि हो । बाघ बाघसँग, हात्ती हात्तीसँग, चराचुरुंगी, चराचुरुंगीसँग, मृग, मृगसँग यो उनीहरुको संस्कृतिभित्र हुर्किएको संस्कार हो । कुकुर र बिरालोलाई एकै ठाउँमा राख्दा जसरी दुवैबीच वैमनष्य र घोर विरोध भई एकअर्कालाई आक्रमण गर्ने प्रवृत्ति विकास हुन्छ त्यसरी नै धार्मिक असहिष्णुता बढाउँदै जाने हो भने यसले आपसी मनमुटाव भई धर्मयुद्ध सुरु गर्न पुग्दछ । र यस युद्धले राष्ट्र अशान्त भई कमजोर बन्न पुग्दछ ।

कमजोर मानसिकताले नयाँ परिवेश उद्घाटन गर्न सक्दैन । अनि ऊ बाध्य भएर अरुको शरणमा जान बाध्य हुन्छ । तसर्थ आफ्नो धर्म, संस्कृति र परम्परालाई अक्षुण्ण राख्दै धर्मबाट प्रेरित कानुन र संस्कृतिबाट बनेको संस्कार र परम्पराअनुसार सामाजिक सद्भाव र अनुशासनलाई सबैले बुझ्न जरुरी छ । संस्कृति र संस्कार हाम्रो जीवनको अभिन्न अंग हो । बाँच्ने आधार पनि हो । हामी छौँ त संसार छ, हामी नभए संसार शून्य हुने हो, यो सत्यलाई अंगीकार गरी धर्म छ त सत्य छ, सत्य छ त संसार अडेको छ यो मूलमन्त्र कायम गरी जीवन र जगत्लाई गतिशील बनाउनु हामी सबैको दायित्व र कर्म पनि हो ।

अहिले मानव जीवन अन्धकारलाई उज्यालो बनाउँदै, अशक्तको शक्ति, अन्धाको आ ँखा बनेर सबैको सहारा भई प्रस्तुत हुने समय छ । पञ्चतत्वबाट बनेको भौतिक शरीरको मानसिक र शारीरिक शक्ति भनेको संस्कृति र मर्यादा हो । तसर्थ मर्यादाभित्र बाँच्ने मानिसको मौलिक हक र स्वतन्त्रतालाई कायम राख्दै अनुशासित र सदाचारी बन्न आफूभित्रको सत्य, जसलाई धर्म र संस्कृतिले गाइड गरेको छ, त्यसको अनुशासित ढंगले अनुशरण गरी आफूलाई परिचालन गर्नुपरेको छ ।

आफूभित्रको सगुण साकार सत्यलाई बुझेर लुकाएर, छिपाएर होइन, पारदर्शी विचार र सिद्धान्तमा आधारित कर्मभित्र आफूलाई परिचालन गर्नु, गराउनु पर्दछ । दुःखैदुःखले भरिएको मोहको जालबाट अलग रही चर्मदृष्टिको भ्रममा नपरी मनको स्वच्छतामा रमाउने संकल्प गर्नुपर्दछ । मन चंगा र कठौतीमा गंगा भनेझैँ धर्म र संस्कृतिबाट शुद्ध भएको मनको पवित्रतामा आँच आउन नदिई समय र प्रकृतिले दिएको शुद्ध चिन्तन गर्नु, गराउनु वर्तमानले हामीलाई निर्देश गरेको छ ।

धर्म के हो र संस्कृतिले हामीलाई के दिएको छजस्ता व्यर्थको संकल्प गरी मानसिक विचलन गराउनुको सट्टा कुनै पनि समस्याको समाधान सरल छ, सजिलै समाधान गर्न सकिन्छ भन्ने मान्यता राखी आपसी द्वन्द्व बढाउने चिन्तन गर्न छोड्नुपर्छ । संसारमा जति पनि मानव जाति छन्, ती हाम्रा दाजुभाइ, दिदीबहिनी हुन् भन्ने मान्यता बोकेर एकअर्काको सहयोगी कसरी बन्न सकिन्छ भन्ने चिन्तन गरी आफूलाई प्रस्तुत गर्नुपर्दछ ।

व्यर्थ कर्म र बानीले ल्याउने परिणामको ख्याल गरी मनलाई सकारात्मक चिन्तनतर्फ आकर्षित गरिरहनुपर्दछ । खाली दिमाग सैतानको घर भनेझैँ विचार र कर्ममा जब तालमेल मिल्दैन तब त्यहाँ स्वार्थरुपी अग्निको ज्वाला बढ्न गई मानिस मोह र स्वार्थको जालोमा अल्झिन पुग्दछ । त्यसबेला उसले चाहेर पनि केही गर्न सक्दैन । फलस्वरुप मानव जीवनले प्राप्त गर्न खोजेको आदर्शता केवल सपनाको महलभित्र गुम्सिन पुग्दछ ।

अराजकताको धमिराले मानिसलाई क्रमशः अद्योगतितिर उन्मुख गराउँछ । तसर्थ जीवनलाई अनुशासित र मर्यादित बनाइराख्न धर्म र संस्कृतिले दिएको गतिशीलताउन्मुख विचार र शुद्धतालाई हरहमेशा ताजा बनाइरहनुपर्दछ । धर्म र कर्मलाई सन्तुलन मिलाई अघि बढ्ने संकल्प गर्नुपर्दछ । अरुलाई परिवर्तन गरी शुद्ध बनाउँछु भन्नुभन्दा पहिले आफूले आफैलाई शुद्ध र चरित्रवान् बनाउनुपर्दछ ।

आफूभित्रको कमजोरी सच्चाई धैर्य र लगनशील भई हर समस्याको समाधान आफू स्वयं हुँ भन्ने मान्यता राख्नुपर्दछ । जब यस्तो अवस्था हुन्छ, त्यसबेला धार्मिक स्वतन्त्रताभित्रको हाम्रो अस्तित्वले बाह्य आवरणमा आउने नराम्रा गतिविधि स्वतः खत्तम गर्न सक्षम हुन्छ । तसर्थ पारससमान जीवनको क्षणलाई हिराजडित आभूषणले श्रृंगारी आफ्नो मौलिक धर्म र संस्कृतिप्रतिको उच्च आदर्शता सधै जीवन्त रहने कर्म र व्यवहार गर्नु, गराउनु पर्दछ । देहधारी मानव जीवनको गतिलाई उत्तम र पवित्र बनाउने कर्मतर्फ आफूलाई समर्पण गर्नुपर्दछ ।

हुन त भौतिक विलासीले ढपक्कै छोपेको वर्तमानमा मानिसको चिन्तन धर्म र संस्कृतिभन्दा स्वार्थतर्फ केन्द्रित भइरहेको छ । यस बेलामा यो कसरी सम्भव होला भनी प्रश्न उठ्नसक्छ । विभिन्न उदाहरण दिई सत्यलाई पर्दा लगाउन पनि कोशिस गरिन सक्छ । तर सोचौँ जुन धर्म, संस्कृति र संस्कारले हिजो हाम्रो जीवनलाई गाइड गरिरहेको थियो कि त्यो बदलिएको छ ? त्यो त निरन्तर गतिशील भइरहेको छ नि । हो हिजो जुन व्यवहार थियो, आज त्यो छैन, मानिसको सोच, चिन्तन र व्यवहार बदलिरहेको छ ।

हिजोको बच्चा आज युवा र भोलिको बृद्ध यो प्रकृतिको नियमानुसार गतिशील भइरहेको छ । विचार र कर्ममा पनि रुपान्तरण भइरहेको छ । तर पनि हाम्रो आचरण र व्यवहारले खोजेको अनुशासन परिवर्तन भएको छैन । बरु वर्तमानमा अनुशासन र मर्यादा झन् खड्किँदो छ । यसलाई कसरी परिमार्जित गर्ने भनी मानिस झन् चिन्तत भएको अवस्था छ । त्यसैले विश्वशान्तिको उद्घोष गर्ने शक्ति आफूमा छ भन्ने सत्य बुझी अनुशासन र मर्यादाअनुकूल जीवनशैली अपनाउन हामी सबै लागिपरौँ, हामीलाई धर्म र संस्कृतिले जुन विश्वासिलो आधार तयार गरेको छ, त्यसलाई दिगो राखी समर्पण गरौँ । वर्तमान यही खोजिरहेछ ।