टरिगाउँ विमानस्थलको इन्धन डिपो निर्मान स्थलमा तालाबन्दी

दाङ,१५ साउन । तुलसीपुर–१२ टरिगाउँस्थित बिमानस्थलमा निर्माण भइरहेको इन्धन डिपो स्थलमा तालाबन्दी गरिएको छ । विमानस्थलमा रहेको बाउजरलाई लग्नका लागि काठमाडौंबाट टोली आएपछि त्यसलाई रोक्न तालाबन्दी गरिएको हो ।

काठमाडौंबाट रामेछाप लैजाने तयारी रहेको भन्दै यसलाई रोक्नकालागि यस क्षेत्रका जनप्रतिनिधि, उद्योगी, ब्यबसायीलगायत सरोकारवालाले तालाबन्दी गरेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताईन् । ‘एयरपोर्टमा बाउजर आएपछि यस क्षेत्रका नागरिक खुसी थियौं’,उनले भनिन्‘तर, इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको बेला बाउजर लैजान खोजेपछि हामीलाई शंका लागेको छ ।’

नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका प्रमुख विपिन श्रेष्ठले केन्द्रबाट लैजाने भनि निर्णय भएको र सोही अनुसार काठमाडौं पठाउन लागिएको बताए । उनले यसको सट्टामा अर्को बाउजर ल्याउन लागिएको बताए ।