मिजासिला लगनशील र कर्ममा विश्वास गर्ने वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा हिमान्सु शाह । उनको जन्मथलो जनकपुर हो ।जन्मथलो जनकपुर भए तापनि हाल कर्मथलो दाङ बनाएका छन् । उनले आफ्नो विशेषज्ञता हासिल गरेसँगै दाङका सयौँ जनतालाई आफ्नो विशेषज्ञता देखाउन पाउँदा उनी सधैँ खुसी छन् ।
विगत ३ वर्षदेखि जिल्लाको घोराहीमा मितेरी तथा मध्यपश्चिम पोलिक्लिनीक प्रालिमा काम गर्दै आएका डा. शाहले पेसाप्रतिको लगाव र आफ्नो इमानदारीले नै आफूलाई खुसी बनाएको उनी बताउँछन् । ‘जीवनमा सुख दुःखका पलहरू धेरै छन् तर मेरो पहिलो खुसी भनेकै मेरा सेवाग्राहीहरूलाई नै मान्नुपर्छ, उहाँहरूको खुसी नै मेरो पहिलो खुसी हो’, डा शाह भन्छन्, ‘दाङका पहिले–पहिले हाडजोर्नीसम्बन्धी डाक्टरहरू कमै पाउने र मुस्किलले यही सानातिना शल्यक्रिया हुने रहेछन् ।’
धेरै जसो बिरामीहरू नेपालगञ्ज, बुटवल जानुपर्ने बाध्यता यहाँ थियो तर हामी यहाँ आएपछि विभिन्न किसिमका जटिल र समान्य सल्यक्रिया यहीँबाट दिन सुरु ग¥यौँ, यो पनि हाम्रो लागि अर्को खुसीको कुरा भयो’, उनले भने । शाहले खुट्टा, हातहरू भाँचिएर बाहिर रड हाल्न जानुपर्ने बाध्यता हटेको भन्दै धेरै सेवाग्राहीहरूलाई जिल्लामै सेवा दिन पाउँदा अर्को खुसी मिलेको सुनाए । उनीले त्यस्ता बिरामीको हात–खुट्टाहरूबाट रड निकाल्दा र उनीहरू सन्चो भएर जादाँ धेरै खुसी लाग्ने गरेको सुनाए । ‘धेरैले हामीलाई धन्यवाद दिनुहुन्छ, आफ्नो गाउँघरमै यस्तो सेवा दिनुभयो भनेर धन्यवाद दिनुहुन्छ, त्यतिबेला झनै खुसी लाग्छ’, उनले भने ।
त्यस्तै शाहले धेरै व्यक्तिहरू आर्थिक अभाव भएको भन्दै उपचार सेवाबाट वञ्चित हुने अवस्था आउने गरेको र आफूहरूको सानो सहयोगले उनीहरूले उपचार गर्न पाउँदा खुसी लाग्ने गरेको सुनाए । उनले आफूले बंगलाचुलीका एक जना बूढीआमाको खुट्टाको हड्डी भाँचिएर बाहिर आएको र आफूले शल्यक्रिया गरेर निको हुँदा पनि खुसी भएको सुनाए ।
‘एकजना आमाको खुट्टा भाँचिएर हड्डी बाहिर आएको थियो, आर्थिक अभावले उहाँको उपचार हुनसकेको थिएन् तर शल्यक्रिया खर्च मैले र अन्य औषधीका खर्च स्थानीयले सहयोग गरेर उहाँको सफल उपचार भयो, त्यस दिन पनि मलाई निकै खुसी लागेको थियो’, शाहले भने । त्यस्तै काठमाडौंमा पढेका शाहले पहिलो पटक एमबीबीएसमा नाम निकाल्दा पनि अर्को खुसी प्राप्त भएको सुनाए । उनले नेपालगञ्ज मेडिकल कलेजमा आफूले एमबीबीएस पढेर पाटन अस्पतालमा इमरजेन्सीमा काम गरेको बताए ।
त्यसपछि शाहले हाडजोर्नी तथा नसारोग विशेषज्ञ पढ्नका लागि १४ नम्बरमा नाम निकाल्दा पनि खुसी लागेको सुनाए । ‘पहिले पनि मेरो नाम निक्लेको थियो तर हाडजोर्नीमा होइन, त्यसपछि अर्को वर्ष निकाल्न सफल भए त्यसमा पनि मलाई निकै खुसी लागेको थियो’, उनले भने । डा. शाहले आफू सानोमा अलि बदमास भएको र बुबा पनि सरकारी जागिर खाने त्यसमा पनि दिदी डाक्टर भएकाले आफू यस पेसामा आएको बताए । ‘म सानोमा अलि बदमास थिएँ रे, मेरो सानोको इच्छा त डाक्टर बन्ने होइन तर पछि डाक्टर भएँ, म यसमैमा खुसी छु’, उनले भने ।
त्यस्तै शाहले आफूहरू दुवैजना मेडिकल क्षेत्रमा काम गर्ने र खुसीका साथ आफूहरूले सेवा गरिरेको बताए । शाहले श्रीमती वरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा अनुपमा शर्मा र आफूले सँगै काम गर्ने गरेको भन्दै आफूहरूले खुसीका साथ दाङमा सेवा गर्न पाउँदा खुसी लागेको सुनाए । त्यस्तै शाहले दाङमा सेवा दिए पनि आफूहरूले सिकेको सीपलाई भरपुर प्रयोग गर्न नपाउँदा भने अलि भनेजस्तो खुसी पाउन नसकेको बताए ।
‘जस्तोसुकै बिरामीहरूलाई पनि यहीँ उपचार र शल्यक्रिया गर्न पाए हामी खुसी हुने थियौँ, साधन, स्रोत छैन्, त्यसमा अलि हामीले चाहेजस्तो बिरामीलाई खुसी र हामी पनि खुसी हुन नसकेको अवस्था छ’, डा शाहले भने । वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा हिमान्सु शाहले सेवाग्राहीहरूको खुसी नै आफ्नो खुसी भएको बताए । ‘जब हामीले उपचार गरेका बिरामीहरू खुसी हुन्छत त्यो नै हाम्रो लागि खुसी हो’, उनले भने ।
प्रस्तुती : बालाराम खड्का