नारायणप्रसाद श्रेष्ठ
मञ्जुश्रीले चोभारको डाँडो काटी उपत्यका बनेको काष्ठमण्डप उपत्यका गाईभैँसी चरिचरणको लागि निकै उपयुक्त समथर मैदान बनेको थियो । गाईभैँसीको लालनपालनको सिलसिलमा उपत्यका प्रवेश गरेका गोपाल वंश र महिसपालहरुको नामले परिचित आदिवासी जनजातिको मूल थलो जसलाई भाषा र संस्कृतिको माध्यम नेवार भनेर पहिचान दिएको पाइन्छ ।
त्यही नेवार समुदायले स्थापित गरेको गथा मुगः (गठेमंगल) पर्व नेवार समुदायको आफ्नै मौलिक संस्कृतिभित्रको वर्षको पहिलो पर्व हो । यसै विषयमा शताब्दी पुरुष सत्यमोहन जोशी भन्नुहुन्छ– ‘नेवार समुदाय संस्कृति र संस्कारको धनी वर्ग हो । त्यसको छुट्टै पहिचान र विशेषता छ । यो समुदायको रीति थिति, संस्कृति र संस्कार विश्वसमुदायमा नै परिचित छ । यो संस्कृति र संस्कारमा हुर्कन पाउनु भनेको भाग्यमानी ठानिनु हो ।
वास्तुशास्त्र, कला र अन्य विविध संस्कृतिभित्र रमाएर पनि समाजमा स्थापित परम्परा र संस्कृतिलाई हिजोदेखि आजको वर्तमान अवस्थासम्म जीवन्त राख्न जसरी नेवार समुदाय सफल भयो, त्यसलाई सरसर्ती हेर्ने हो भने नेवार समुदाय नेपालको साच्चिकै धर्तीपुत्र ठहरिन्छ । आपसी एकता र भाइचाराको सम्बन्ध कायम गरी एकताको प्रतीकको रुपमा रहेको नेवार समुदायको आफ्नै मौलिक संस्कृति र संस्कार रहेका छन् । ती संस्कार र संस्कृतिमध्ये गथा मगः पनि एक हो । नेवार राष्ट्रको पहिचान पनि हो । नेवारको संस्कृति र संस्कारबाट नै राष्ट्रको पहिचान बढेको छ ।
गथा मुगः (गथा मुगः, गठेमंगल) नेवार समुदायको आफ्नै मौलिक यासंस्कृतिभित्र रहेको पर्व हो । सिथी नखः (खुमार षष्ठी) कूलपूजापछि मनाइने यो वर्षको पहिलो पर्वको छुट्टै विशेषता छ । कसैले यसलाई त्रेता र द्वापर युगसँग जोडेर कृष्णको जन्मसँगै कंशको विनाश भएको तथा सत्यको विजयसँग यसलाई जोडिएको पाइन्छ भने कसैले काम, क्रोध, लोभ, मोहरुपी राक्षसी प्रवृत्तिको अन्त्य गरी सुखी र समृद्ध समाज निर्माणसँग जोडेर व्याख्या गरेको पनि पाइन्छ ।
इतिहासकारहरु कसैले यसलाई भूत, प्रेत, तान्त्रिक विद्यासँग पनि जोडेको पाइन्छ । कसै–कसैले भने राक्षसी प्रवृत्ति भएको भूतलाई आफ्नो नोकरको रुपमा प्रयोग गरेर कामकाज गराएको अथवा आफैमा भूत प्रवेश गराइ काम गरेको कथासँग पनि यस पर्वलाई जोडिएको पाइन्छ । कामकाज सकिएपछि आफूभित्र प्रवेश गरेको भूतलाई त्यसको मूर्ति पूजा गरी पञ्छाउने दृष्टिकोणले नर्कटको मूर्ति बनाइ त्यसमा राक्षसको प्रतिमा राखेर फोटो टाँसी यो पर्व मनाउने प्रचलन भएको पनि भन्ने गरेको पाइन्छ । चाहे जेसुकै होस् ( यसको यथार्थ इतिहासले खोज्ने नै छ ।)
विविध किसिमले यसको व्याख्या र विश्लेषण भए पनि यो नेवार संस्कृति र परम्पराभित्र लुकेको नेवारको आफ्नै मौलिक पर्व हो । यो पर्व नेवार र भीमसेन मन्दिर जहाँ हुन्छ त्यहीँ यस पर्वलाई धुमधामसँग मनाउने प्रचलन रहेको छ । यस पर्वदेखि नेवार समुदायको घरभित्र थन्क्याइरहेको बाजागाजा, ढोल, झ्याली निकाली बजाउने प्रचलन रहेको पाइन्छ । राक्षसी प्रवृत्तिलाई पनि तान्त्रिक विधिद्वारा वशमा ल्याएर वा आफूमा सवार गराएर काम काज गराउन सकिन्छ भन्ने मान्यता यस पर्वसँग जोडिएको देखिन्छ ।
(हामी कहिलेकाहीँ भन्ने पनि गर्छौँ, यसलाई त भूत सवार भएको छ, कस्तो फुर्तिका साथ काम गर्छ नि !’ दानवीय शक्तिलाई दैविक शक्तिमा रुपान्तरण गर्न सकिन्छ भन्ने यथार्थ सत्य लुकेको यस पर्वले भक्षक पनि रक्षक बन्न सक्छ भनी प्रमाणित गर्न खोजिएको छ । नेवार यस्तो जाति हो जसले राक्षसलाई पनि पुज्ने गरेको पाइन्छ । रक्षक नै भक्षक भएको वर्तमान अवस्थालाई हेर्ने हो भने यस्तो पनि हुन सक्ला र भनी नकारात्मक चिन्तन गर्न सकिएला तर नकारात्मक प्रवृत्तिलाई सकारात्मक प्रवृत्तिउन्मुख गराउन नेवारी संस्कृतिभित्रको यस पर्वले अवश्य नयाँ सन्देश दिन खोजेको पाइन्छ ।
हुनसक्छ मानवीय प्रवृत्ति भित्र रहेको राक्षसी प्रवृत्तिलाई हटाउन यो गथा मुगः पर्व मनाइएको होला तर यो कति सत्य छ, यो पनि भन्ने गरिन्छ । तर पनि गथा मुगः पर्वको विशेषता बुझ्न जरुरी छ । यस पर्वको अर्को विशेषता भनेको तान्त्रिक विद्या सिक्ने र साधना गर्ने पर्वको रुपमा पनि लिने गरेको देखिन्छ । मानिस बुद्धिमान भएर पनि उसले देखाउने प्रवृत्तिमा जुन किसिमको नकारात्मक व्यवहार र प्रवृत्ति देखापरेका छन् त्यसलाई सकारात्मक प्रवृत्ति उन्मुख गराएर आफू र जगतको कल्याण गर्न यो परम्परा बसेको हो भन्ने पनि धेरैको मत पाइन्छ ।
तसर्थ, यसभित्रको सत्यलाई ग्रहण गरी राक्षसी प्रवृत्तिको अन्त्य गर्दै सुविचारद्वारा आफू र जगतको कल्याण खातिर मानवीय चेतना सधैँ जागृत भइरहनु पर्दछ । प्रत्येक वर्षको साउन कृष्णपक्षको चुतर्दशी तिथिबाट मनाइने यो पर्व गथा मुगः नेवारको आफ्नै मौलिक पर्व रहेको र तत्पश्चात लाखेजात्रा, गाइजात्रा, रोपाइजात्रा, सिपाहीजात्रा, कृष्णरथयात्रा जस्ता पर्वहरु सुरुवात हुने परम्परा रहेको छ ।
कतिपयले गथा मुगः पर्व र घण्टाकर्णलाई एउटै दृष्टिले हेर्ने गरेको पनि पाइन्छ । वास्तवमा सारतत्व एउटै देखिए पनि त्यसमा धेरै भिन्नता पाइन्छ । घण्टाकर्ण बाहिरबाट आयातीत संस्कृतिसँग जोडिएको छ भने गथा मुगः पर्व नेपाल अधिराज्यभित्र रहेका नेवारको आफ्नै संस्कृति र संस्कारभित्र परिस्कृत हुँदै आएको पाइन्छ । यो पर्व राजा गुणकामदेवको पालादेखि प्रचलनमा आएको यद्यपि वर्तमान इतिहासले बताउँछ । वर्षाको हिलो मैलोमा खेतीपाती गरी (धान रोपाइँदेखि) राक्षसलाई अब तिमी आफ्नो गन्तव्यमा जाउ भनी मन्छ्याउँदै पूजा गरी मनाउने पर्वको रुपमा यस पर्वलाई हेरिन्छ भने घण्टाकर्णलाई राक्षस बहिरो छ, तसर्थ यसलाई घाँटीमा घण्टी झुण्ड्याइ हिडाउने गरिन्छ भन्ने कथासँग जोडिएको पाइन्छ ।
ऋतुको परिवर्तनसँगै वर्षा ऋतुको समयमा वर्षदिनको लागि चाहिने खाद्यान्न बाली धान, मकै, कोदो र तरकारी उब्जाउन खेतबारीमा काम गर्नुपर्ने भएकोले र शारीरिक अवस्था कमजोर नहोस् भनी राक्षसी प्रवृत्तिलाई पुजेर उसको शक्ति आफूमा निहित गराउन काम गराउँदा सजिलो हुन्छ भन्ने प्रचलन र मान्यता स्वरुप पनि यो पर्वसँग गाँसिएको देखिन्छ । पौराणिक मान्यताअनुसार काम गर्दा शरीरमा चिसो, गर्मी केही नभनी भुतले जसरी काम गरी सम्पन्न गराउँछ त्यसैले नै मानिसले उसको शक्ति आफूमा आओस् भनी तान्त्रिक विधिबाट भूतलाई पूजा गर्ने प्रचलन रहेको पनि देखिन्छ ।
यसरी सधैँ भूतलाई घरमा राखिरहँदा उसको आहार, विहार, लालन, पालन गर्न कठिनाइ पर्ने र केटाकेटीलाई पनि सास्ती दिने भएकोले यसलाई घरबाट निकाल्ने उपायको रुपमा राक्षसलाई पूजा गर्ने परम्पराअनुसार गथा मुगः पर्व मनाइएको पनि हुनसक्छ । यसरी पूजा गर्दा वा भूत भगाउने कार्य गर्दा उसलाई दोबाटो, चौबाटोमा पूजा गरी खुसी बनाउने र दिनभर जगात (कर) लिई त्यसैबाट उसको पूजा अर्चना र मन्त्रणा गरी साँझ खोला किनारमा विसर्जन गर्ने गरेको पनि हुनसक्छ । यसरी पूजा गर्दा भूतले पनि मलाई सम्मान गरे भनी सम्झने र आफ्नो घर, गाउँ, टोल छिमेकमा अप्ठेरो नपार्ने भएकोले सोही मान्यता स्वरुप यो पर्व मनाएको पनि पाइन्छ ।
यसरी प्रचलनअनुसार मनाइने यस पर्वमा कसैले यसलाई नर्कटको तीन खम्बा बनाइ (राक्षसको मूर्ति बनाएर) दोबाटो, चौबाटोमा उठाइ जगात माग्ने गरेको पनि पाइन्छ भने कसैले पातीको डाँठबाट राक्षसको तीनखुट्टे मूर्ति बनाइ टाउकोमा राक्षसको प्रतिमूर्ति राखेर चौबाटोमा उठाइ जगात गर्ने पनि प्रचलन छ । यो स्थान विशेष आफ्नै किसिमले पूजा गरी मनाइने भए तापनि यसभित्र लुकेको सत्य सबैले आत्मसात गरेको पाइन्छ । हिजो नेवार समुदायले मात्र गर्ने यो प्रचलन अहिले आएर सबै जात, धर्म, संस्कृतका अनुयायीहरुले पनि यसको महत्वबारे अध्ययन अनुसन्धान गरिरहेको पाइन्छ ।
यसरी विविध विचार र संस्कृतिभित्र मनाउँदै आएको यो पर्व दाङ जिल्लाको विभिन्न स्थानमा पनि मानाइयो । यसरी मनाउँदा यस पर्वभित्र जोडिएको किम्बदन्तीअनुसार घरभित्र प्रवेश गर्न नसकोस् भनी यसै दिन घरको मूलढोकामा तीनवटा फलामको किला ठोक्ने, फलामबाट निर्मित औँठी धारण गर्ने र फलामबाट बनेको औजारहरु सिरानीमा राख्ने प्रचलन पनि यहाँ आएको देखिन्छ । वर्तमान समयमा यस पर्वसँग गाँसिएको संस्कृतिप्रति सबैको चाहना र चासो बढेको पाइन्छ । सबैले यसलाई स्वीकारेको अवस्था देखिन्छ ।
अहिले पनि आमाहरुले बच्चालाई लिएर बाहिर जाँदा कुनै भूतप्रेत नलागोस् भनी खुट्टाको धुलो बच्चाको निधारमा लगाउने र सानो फलामको चक्कु भोटीको तुनामा बाँध्ने चलन यद्यपि रहेको पाइन्छ । यसरी विविधतामा एकता बोकेर नेवारको मौलिक संस्कृतिभित्र हुर्केको गथा मुगः पर्व हिजो सम्पन्न भइ आजदेखि लाखे नाच सुरु भएको अवस्था छ । यसबारे अर्को अंकमा जानकारी गराउने छु । आजलाई यत्ति, अस्तु ।