मधुसूदन सुवेदी
यो देशमा भएको के होला ? यो देशमा भइरहेको के होला ? यो देशमा हुन लागेको के होला ? यो देशको चालामाला के होला ? हाम्रो देश इतिहासले नेपाललाई एक सुन्दर शान्त र विशाल देश भन्दछ । हाम्रो देशको राजनीति शास्त्रले बीर–पुर्खाको देश भन्दछ । हाम्रो देशको समाजशास्त्रले गोरखकालीको देश भन्दछ ।
हाम्रो देशको वेद शास्त्रले हिमश्रृंखलाको काखमा रहेको रमणीय देश भन्दछ । हाम्रो देशको धर्मशास्त्रले मन्दिरै मन्दिरको देश भन्दछ । हाम्रो देशको ज्योति शास्त्रको ऋषिमुनिको तपोभूमि देश भन्दछ । हाम्रो देशको तन्त्र शास्त्रले तान्त्रिक देश भन्दछ । हाम्रो देशको कोक शास्त्रले नरनारीको पवित्र देश भन्दछ । हाम्रो देशको नैतिक शास्त्रले हिन्दू राष्ट्रको देश भन्दछ । हाम्रो देशको भूगोल शास्त्रले नदीनालाको देश भन्दछ ।
हाम्रो देशको सर्वत्र शास्त्रले विश्वका अनौठा र अनुपम देशमध्ये एक सुन्दर र अनुपम देश भन्दछ । यति प्रभावशाली देशको अवस्था के हो त ? साँच्चिकै यो देशमा सतिको सराप भएको परेको हो वा यहाँ काम गर्ने व्यक्ति र शक्तिको मति बिग्रेको हो ? यो देश सतिले बिगारेको हो वा मतिले ? सतिको सरापै हो भने पनि यो पवित्र भूमि, यो पावन भूमि, यो गौरवशाली भूमिलाई १२ वर्षपछि मोक्ष हुनुपर्ने हो ।
अर्थात् सतोकरण यहाँका शासक वर्गको मति भाँडिएको, मति बिग्रिएको, मति कुहेको, मति सडेको, मति गलेको, मति जलेको, मति खस्केको, मति भासिएको, मति दूषित भएको र मति भ्रष्ट भएको हो भने पनि यति बेलासम्म ठाउँ र ठेगानमा आउनुपर्ने हो । यो अवस्थामा सधैभरि सतिको नाममा मतिको जालमा कति परिरहने हो ?
काम गर्ने व्यक्ति शासन चलाउने व्यक्ति देश हाँक्ने शक्ति, जनपरिचालन गर्ने संगठन, देशको विकास गर्ने दल, देशभक्त बन्ने मोर्चा, देशको स्वरुप फर्ने पाटो, देशको समृद्धि बदल्ने समूह, नेपाल आमाको रक्षा गर्ने अभ्यास नै दलदलमा भाँसिएको छ भने देश बन्छ कसरी ? यहाँ (ऊ) गर्नेलाई भन्दा (ऊ) गर्नेलाई लाज भने जस्तो भइसकेको छ, देश बन्छ कसरी ?
शासक सत्ता आफू नै पेवा, दाइजो, सम्पत्ति, पुख्र्यौली आर्जन र आफ्नै खलो, आफ्नै दाइँ गर्नेको मनपरी चलेपछि कसको के लाग्छ ? देश कहाँ छ ? जनता कहाँ छन् ? राज्य के छ ? मुलुक कस्तो छ ? विकास के हो ? समृद्धि कुन हो ? शान्ति कहाँ छ ? सुन्दर केमा छ ? धन कहाँ छ ? राष्ट्र कस्तो अवस्थामा छ ? यावत कुरा थाहा नहुनेका लागि शासन के हो ?
शासक के हो ? सरकार के हो ? राज्य कसको हो ? थाहा छ ? सधैको किचकिच, सधैको दौडधूप, सधैको भागाभाग, सधैको लुछाचुडी, सधैको बैवनश्य, सधैको ईष्र्या, सधैको वैमनश्य, सधैको कलह, सधैको झगडा, सधैको असहमति, सधैको गाली–गलौज, सधैको आरोप–प्रत्यारोप, सधैको जुहारी, सधैको हानथाप, सधैको खिचातानी, सधैको बेमेल, सधैको भागवण्डा, सधैको रडाको, सधैको झुट, सधैको बेइमानी यी सबै किन, केका लागि, कसका लागि ? यी सबै कहिलेस्म्म ? यी सबै कहाँसम्म ?
यी सबै कुन बेलासम्म ? देश बचाउने शासकले कि शासितले ? देशको रक्षा गर्ने शासकले कि शासितले देशको भलो र उन्नति चाहने ? शासकले कि शासितले देशको संरक्षण गर्ने ? जनताले कि नेताले देशको मुहार बदल्ने ? नेताले कि जनताले । यो देशलाई बचाएको जनताले हो । यो देशमा राजनीतिक परिवर्तन गरेको जनताले हो ।
यो देशको पटक–पटकको युद्ध जितेको जनताले हो भने जनताको स्थान, मान, सम्मान र हैसियत खै ? जनता हली र खेताला भएका छन् । नेता मालिक र राजा र भगवान् भएका छन् । नेताहरुले आफैले आफैलाई देवत्वकरण गरिरहेका छन् । (३०) राजाको स्तुतिवादी राजतन्त्र फालेर गणतन्त्र ल्यायौ भनेका छन् तर आज आफै्र हिजोको राजाभन्दा पनि बढ्ता देशको सेवा, सुविधा, लत्ताभत्ता र सत्ताको दुरुपयोग गरेका छन् ।
यिनलाई पूजा गर्दागर्दा अबिर र फूल नै अभाव भएको छ । यिनलाई खादा ओढाउँदा–ओढाउँद खादा महंगिएको छ । यिनलाई पञ्चेबाजा बजाउँदा–बचाउँदा बजाउनेका हात–मुख नै सुकेको छ । यी आजका गणतन्त्रका नाइकेहरुको रवाफ राजाभन्दा के फरक छ ? सेवा, सुविधा राजाको कामकाज फुटेको बाजाको ? यिनको मति कहिले सुध्रिन्छ ? यिनको मतिको बिर्को कहिले उघ्रिन्छ ? खाली आफ्नो बयान आफै गरेर दिन बिताउने ?
आज सत्ताधारीले हिजोको जे–जे फालेर नयाँ ल्यायौ भनेका छन् नि ती सबै नाटक, अभिनय, जाल, प्रपञ्च, मुकुण्डो, नकाप र नक्कली मात्र हो । केही बदलेका छैनन् । यदि बदलेका छन् भने आफ्नै खानपान, आफ्नै रहन–सहन, आफ्नै सेवा, सत्ता र आफ्नै ओहदा, आफ्नै फूर्तिफार्ती र आफ्नै भाग्य बदलेका छन् । आफ्नै अनुहार बदलेर नयाँ नेपाल बनायौ भन्न लाज मान्ने कि नमान्ने ? देश बदल्ने अक्षर, कागज र शब्दमा आफूलाई बदल्ने काम, नाम, दाममा ।
यस्तो पनि हुन्छ ? देश बनाउने मति खै मति ? मतिमा घुन लाग्यो, मतिमा पुत्लो लाग्यो, मतिमा धमिरा लाग्यो, मतिमा किरा लाग्यो । मतिमा खराब मनशाय भित्रियो । मतिमा बिर्को लाग्यो । मतिमा सिलिसा लाग्इो । मति भाँडियो । मति कुहियो । मति नै अति भएपछि देश बन्छ कसरी ? मतिमा भएको दोष सतिमा धुपारेर हुन्छ ? मतिको औषधि खै मतिको उपचार खै ? मतिको अभ्यास खै ? मति बिग्रेको कसैलाई अत्तोपत्तो छ ? कसैलाई थाहा छ ? कसैलाई ज्ञान छ ? कसैलाई जानकारी छ ? कसैलाई बोध छ ?