खानेपानी र अटो व्यवस्थापन समितिसँग परिचयात्मक कार्यक्रम

गोरक्ष समाचारदाता
दाङ, ५ साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघले छुट्टाछुट्टै कार्यक्रम गरी घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित पदाधिकारी तथा घोराही अटो टाउन व्यवस्थापन समितिका पदाधिकाहरूसँग परिचयात्मक कार्यक्रम गरेको छ ।

कार्यक्रममा बोल्दै घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देवीबहादुर डिसीले घोराहीका नागरिकलाई स्वच्छ र सहज पानी खुवाउने आफूहरूको प्राथमिकता रहेको बताए । त्यसका लागि आफूहरू अगाडि बढेको बताए । घोराहीमा दीर्घकालीन पानीको समस्या समाधानका लागि बबईको पानी घोराहीमा ल्याउने योजना सम्झौता भइसकेको उनको भनाइ छ ।

‘बबईको पानी घोराहीमा ल्याएपछि ५० वर्षसम्म खानेपानीको समस्याको समाधान हुनेछ’, उनले भने । यस कार्यका लागि संस्थाले मात्र नभई सबैको सहयोग रहनुपर्ने उनले बताए । सबैको सहयोगले मात्र जुनै पनि काम सफल हुने उनले बताए । आपूm समाज सेवा गर्ने उद्देश्यले खानेपानी संस्थामा लागेको समेत बताए । ‘समाजमा सम्मान पाउन निःस्वार्थ खानेपानीमा लागेको हुँ’, उनले भने ।

सबैको सहयोगले संस्थालाई यहाँसम्म ल्याउन सकिएको र आउँदा दिनमा सबैको सहयोगले संस्थालाई अगाडि बढाउन सहयोग मिल्ने उनको भनाइ थियो । दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चन्द्रराज पन्तले सहरीकरण बढ्दै गएको र खानेपानीको समस्या हुनसक्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । सरसफाइको क्षेत्रमा काम गर्न समेत आग्रह गरे ।

कार्यक्रममा संघका विशिष्ट सदस्य मित्रदेव अधिकारीलगायतले भनाइ राखेका थिए । कार्यक्रम संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागतबाट सुरु भएको कार्यक्रमका सहभागीलाई धन्यवाद ज्ञापन संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले गरेका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।

यसैबीच घोराही अटो टाउन व्यवस्थापन समितिका पदाधिकारीहरूसँग भएको परिचयात्मक कार्यक्रममा बोल्दै अटो व्यवस्थापन समितिका अध्यक्ष रत्नराम बन्जाराले घोराहीलाई सफा र स्वच्छ राख्न आफूहरू अगाडि बढ्ने बताए । व्यवसायीहरूलाई अटो टाउनमा लगेर बजारलाई सफा र स्वच्छ राख्न सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । यसका लागि आवश्यक पर्ने जग्गाको खोजी भइरहेको उनको भनाइ रहेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष टंकसिंह बुढाथोकीले व्यवसायीहरूको समस्या समाधानका लागि उद्योग वाणिज्य संघ सधैँ लागिपर्ने बताए । व्यवसायीहरूलाई समस्याका बारेमा जानकारी गराउन समेत आग्रह गरे । सबै मिलेर बजार व्यवस्थित गर्नुपर्ने उनको भनाइ थियो । यसका लागि संघले आफ्नो तर्फबाट सहयोग गर्ने समेत बताए ।

कार्यक्रममा संघका सदस्य ज्ञानवहादुर फौदार क्षेत्री, अटो टाउन व्यवस्थापन समितिका नारायण उपाध्यायलगायतले बोलेका थिए । संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागतबाट सुरु भएको कार्यक्रमका सहभागीलाइ धन्यावाद ज्ञापन संघका कोषाध्यक्ष सुशीलल पोख्रेलले गरेका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।