झरीले होइन, पसिनाले भिजेका किसान

बालाराम खड्का
तुलसीपुर, २ साउन । असारलाई विदाइ गरेर साउनलाई स्वागत गरिरहँदा बहिनी रुने झरी लाग्थ्यो रे । यो दिनको झरीले जताजतै बाढी आउने भएकाले भेट्न नपाउने भनेर असार र साउन धुरुधुरु रुन्छन् भन्ने पौराणिक विश्वास छ । तर यो साउनमा झरीको रोदन होइन, खडेरीले रुवाएको छ किसानहरुलाई ।

दंगीशरण गाउँपालिका–३ का टोपाराम चौधरी घरी आकाश हेर्छन्, घरी रोप्न बाँकी खेतका गराहरु हेर्छन्, उज्यालो आकास, चिराचिरा परेका गराले उनको मन खिन्न छ । रातभर टहटह जुन लागिरहेको छ । ‘भ्यागुता कराउन थालेका छैनन् । गाउँलेहरुले भन्ने गरेका छन्– ‘इन्द्र रिसाएर हो कि पानी परेको छैन’, टोपाराम चौधरीले गोरक्षलाई भने । दंगीशरण पालिका भरी कम्तीमा पनि ५० प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन । आकाशे झरी नलाग्दै खेलमा कुला चल्दैनन् । जसोतसो गाउँमा राखिएको लिफ्ट सिँचाइले सबै खेतलाई पानी पर्याप्त छैन ।

आकासमा कालो बादल देख्दा किसान हौसिन्छन्, तर उतिखेरै फाटिदिन्छ बादल । बादल फाटेजस्तै किसानको मन पनि फाटेको छ । प्रकृतिले ठगेपछि कसको के लाग्छ र पुर्पुरोमा हात राखेर पर्खिरहेका छन् किसानहरु । खेतको डिल्मा बसेर छाता ओढेर बाँझो खेत हेर्न किसान बाध्य छन् । दाङ जिल्ला कृषिको उर्बर भूमि हो । धान खेती यहाँको मुख्य नगदे बाली पनि हो । यहाँको मुख्य खाद्यान्न बाली धान हो ।

जिल्ला कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार यहाँ उत्पादन भएको धानले यहाँको खपत करीब करीब पूरा हुन्छ । तर यो बर्ष असार सकिएसँगै करीब ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धेरैजसो किसानहरु आकासे पानीको भरमा खेती गर्ने गरेका छन् । कहिले शारदा त कहिले माडीको पानी दाङ ल्याउने योजनाहरु आउने गरेका छन् । तर मुहान सुक्दै गएपछि शारदा र माडीमा पनि त्यति पानी छैन ।

असार सकिँदा पनि कतै पानीका मूल फुटेका छैनन् । जिल्लामै बंकल्पिक सिँचाइको व्यवस्था नहुँदा किसानहरुले आकासतिर हेरेर बस्नुपर्ने अबस्था छ । त्यसो त यहाँ बृहत दाङ सिँचाइ आयोजना पनि छ । यो आयोजनाले धेरै ठाउँमा डिप बोरिङ पनि धसेको छ । तर बोरिङको पानी तान्नलाई विद्युत सेवा सहज छैन । त्यही कारण धसेका बोरिङ पनि उपयोगविहीन छन् ।

जिल्लाको देउखुरी उपत्यका क्षेत्रमा शतप्रतिशत रोपाइँ सम्पन्न भइसकेको अवस्थामा जिल्लाको पश्चिम क्षेत्र घोराही, तुलसीपुर, शान्तिनगर र बबई क्षेत्रका केही स्थानमा मात्र धान रोपाइँ गरिएको र धेरै ठाउँमा रोप्न बाँकी रहेकोे छ । उत्तरी महाभारत श्रृंखलामा अनियन्त्रितरुपमा चुनढंगा उत्खनन् भइरहँदा यहाँ पानीको संश्लेषण पनि कमजोर भइरहेको छ । चुनढुंगानै नरहेपछि पानी सोस्ने आधार नै छैन । यो बर्ष मौसम बरालिएसँगै किसानहरुको मन पनि खिन्न छ ।

यतिबेला धानले हराभरा हुनुपर्ने खेतहरु घाँस पलाएर हरियाली भएको छ । समयमै बर्षात हुन्छ र खेती किसानी सकौँला भनेर बसेका किसानहरु अहिले निधारमा हात लगाएर बस्नुपर्ने अवस्था छ । नारायणपुरमा एक झरी पानी पर्छ घोराहीको डवरीमा खेत जोतिरहेका किसानहरु छाता ओड्नुपर्ने अवस्था छ । फाटफुट परेको खण्डबृष्टिका कारण चाहेअनुरुप रोपाइँ हुन सकेको छैन । सक्रिय मनसुन सुरु हुन अझै तीन÷चार दिन कुर्नुपर्ने मौसम अनुमान शाखाले जनाएको छ ।

सिँचाइ सुविधा भएको क्षेत्रमा पनि पर्याप्त मात्रामा खोलाहरुमा पानी नहुँदा किसानहरुले पानी नपाएर तड्पिनुपर्ने अवस्था जिल्लामा छ । दाङ जिल्लाको कुल जनसंख्यामध्ये ६० प्रतिशत जनताको जीवनयापन कृषिमा आधारित रहेको छ ।

आर्थिक विकासको मेरुदण्ड कृषि नै भएकोले आधुनिक कृषि प्रविधिको प्रचार–प्रसार गरी परम्परागत कृषिमा आधारित खेती प्रणालीमा सुधार ल्याई निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायिक कृषि प्रणालीमा रुपान्तरण गरी कृषकको जीवनस्तरमा सुधार ल्याउनेतर्फ भने कसैले चासो दिएको नखेख्दा खेती किसान गर्ने किसानहरुको मन खिन छ ।

स्थानीय सरकारले पनि कृषि क्षेत्रलाई जोड दिने र कृषिको विकासका लागि लाग्ने भनेर भूउपयोग नीति ल्याउने भने पनि भएका जमिनहरु सिँचाइ सुविधा नहुँदा बाँझै छन् । जिल्लामा करीब ३९ हजार हेक्टरमा धान खेती हुँदै आए पनि पर्याप्त सिँचाइ सुविधा भने छैन । असार महिना सकियो तर खेतीपातीका लागि आकाशबाट खेतलाई पुग्ने पानी पर्न सकेको छैन । खेतमा रोप्नलाई ठिक्क भएका धानका व्याड पानी नपाएर पहेँलै हुन थालिसकेको किसानहरु बताउँछन् । कतै व्याड सुक्न थालिसक्यो भने कतै खेत सुकेर चिराचिरा परेका छन् ।

किसानका आँखा भने आकासतिरै छन् । पानी पर्छ कि भन्ने आशामा बसिरहेका छन् । आकासे पानीको भरमा खेती गर्नुुपर्ने किसानहरु आकासतिर हेरेर बस्नुपर्ने बाध्यता छ । तुलसीपुर उपमहानगरपालिका–१२ का किसान सुन्दरकुमार चौधरीले आकासेपानीलाई पर्खेर बसेको बताउँछन् ।

‘न पानी आउँछ न रासायनिक मल, यसपालि खेती लाग्दैन कि भन्ने चिन्ता छ’, किसान लोकराज वलीले भने । उनले व्याड राखेको २१ दिन भएको र व्याड छिप्पिन लागिसकेको बताउँछन् । ‘कुलामा पानी छैन अन्य बैकल्पिक सिँचाइको सुविधा छैन’, किसानहरु बताउँछन् । महंगोमा धानको बीउ किनेर व्याड राखेको किसानहरु पनि पानी नआउँदा खिन्न छन् । जसोतसो महंगो मूल्यमा मल जुटाएका किसानले पानी जुटाउन सकेका छैनन् ।

कृषिबाट मात्र समृद्धि हासिल गर्न सकिन्छ भनेर नेता तथा जनप्रतिनिधिको भाषण सुनेका किसानहरुको पक्षमा भने कोही कसैले पनि ध्यान नदिएको किसानहरु बताउँछन् । ‘ठूला–ठूला योजना बनाउँछन्, बबईमा पानी त्यतिकै बगेको छ तर त्यो पानी माथितिर लिफ्टिङ गरेर ल्याउनेतर्फ कसैको ध्यान छैन’, स्थानीय मोहन वलीले भने ।

त्यस्तै दाङमा पर्याप्त मात्रामा डिप बोरिङ खनेर सिँचाइ सुविधा दिन सकिने सम्भावना हुँदाहुँदै पनि त्यसतर्फ कसैले ध्यान नदिएको स्थानीयहरु बताउँछन् । ‘चुरे पहाड नाङ्गो छ, खोलाको मुहानमै पानी छैन, अनि कसरी हुन्छ यहाँ रोपाइँ ?’ किसानहरु प्रश्न गर्छन् ।