शिवराज खनाल
लमही, २ दाङ । पानी नपर्दा दाङमा धान रोपाइँ प्रभावित भएको छ । आकासे पानीको भरमा खेती हँुदै आएको जग्गा बाँझै छन् भने, धान रोपेका खेतका गरा सुकेर चिरा पर्न थालेका छन् ।
यसपालि धान रोपाइँ गर्न रासायनिक मलको अभाव भोगेका किसानलाई मौसमले समेत साथ दिएको छैन् । असार महिनामा मुस्किलले थोरै पानी प¥यो । किसानले सकी–नसकी धान रोपाइँ गरे । तर, धानलाई पानी चाहिने बेलामा पानी परेको छैन । साउन महिना सुरु भए पनि पानी नपर्दा किसानले रोपेको धानको गरामा ठूला–ठूला चिरा परेका छन् ।
लमही नगरपालिका वडा नं. ५ निवासी किसान कालीप्रसाद चौधरी पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा छन् । ‘यसो त मलविना खेती गर्न थालेको अझै पानी नपरेर यस्तो अवस्था छ अब केही दिन पानी परेन भने रोपाइँ सुक्ने भो’, चौधरीले भने । देउखुरीमा गत बर्ष यो समयमा धान रोपाइँ सकिएको थियो ।
तर, यसपालि मुस्किलले ७० प्रतिशत मात्रै रोपाइँ भएको तथ्यांक कृषि ज्ञान केन्द्र दाङसँग छ । सिँचाइ सुविधा पुगेको ठाउँमा धान रोपाइँ भएको छ भने बाँकी आकासे पानीको भरमा खेती हुने जग्गा बाँझो पल्टिएको छ । धान रोपाइँ गरेको जग्गामा समेत सिँचाइको लागि पानी पु¥याउन नसक्दा अप्ठेरो अवस्था आएको अर्का किसान हरिराज धितालको भनाइ छ ।
जिल्लामा ३९ हजार ९ सय ८० हेक्टर जमिन खेतीयोग्य छ । जसमध्ये ३० हजार ४ सय हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । १९ हजार ६ सय ५१ हेक्टर जमिनमा पूर्णरुपमा सिँचाइ सुविधा पुगेको छ भने बाँकी ३९ हजार २ सय ११ हेक्टर जमिनमा आंशिक सिँचाइको व्यवस्था छ । सिँचाइ सुविधा नपुगेका स्थानमा भूमिगत पानीमार्फत पनि सिँचाइ सुविधा पु¥याउन सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।