Goraksha

National Daily

घरमै बसी लडाईंको अग्रमोर्चा सम्हालौं

विशेष सम्पादकीय 

सरकारले लकडाउनलाई कडाई गर्दै पालिका स्तरमै सिमित हुन नागरिकलाई निर्देश गरेको छ । शनिबार एकै दिनमा थप तिनजना संक्रमी भेटिएपछि सरकार यो निश्कर्षमा पुगेको हो ।

अझ शनिबारको संक्रमणको कुरा गर्दा, एउटा खतरनाक चरण हाम्रा अगाडि उपस्थित हुन पुगेको छ । ९ संक्रमी मध्य ८ जना विदेशवाट आएकाहरु हुन् भने एक महिला यहीँ घरमै बस्ने हुन् । विदेशबाट आएका आफ्नो देवरवाट उनलाई संक्रमण सरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अबस्थालाई विज्ञहरुले ‘लोकल ट्रान्समिसन’ भनेका छन् । यो संक्रमणको दोस्रो अबस्था हो । यो भन्दा अघिल्लो अबस्था अथवा भनौ महामारीभन्दा पूर्वको अबस्थालाई ‘कम्युनिटी ट्रान्समिसन’ भन्दछन् ।

जानकारहरुका अनुसार महामारीको चरणहरुको बिश्लेषण गर्ने हो भने ‘लोकल ट्रान्समिसन’वाट ‘कम्युनिटी ट्रान्समिसन’को चरणमा संक्रमण कुनै पनि बेला उक्लन सक्छ । तसर्थ अहिले उच्च सतर्कता अत्यन्त जरुरी भैसकेको छ ।

उच्च सतर्कता अपनाउने क्रममा सरकारको शनिबारको निर्णय महत्वपूर्ण छ । अब पालो हाम्रो छ । सरकारले नीति, रणनीति बनाउने हो । साधारण अबस्थामा पनि सरकारको नीति रणनीति कार्यान्वयनमा नागरिक सहभागिता र चासो अनिवार्य हुनुपर्दछ । अन्यथा प्रभावकारी कार्यान्वयन संभव हुदैन । अझ यो बिशिष्ट अबस्थामा हाम्रा भूमिकाहरु झनै महत्वपूर्ण हुन पुगेको छ ।

एउटा यथार्थ के हो भने, राज्यले समयमै राम्रो तयारी गर्न सकेन । अझ भनौ यो बिषयलाई दिनुपर्ने जति प्राथमिकता नै दिएन । कोरोनाले रोक्दैन भन्दै पर्यटन बर्ष सफल पार्ने लालसा मन्त्रीदेखि एउटा समुदायमा देखियो । पीपीए लगायतका आबश्यक सामान खरिदमा समयमै देखाउनु पर्ने जति गांभिर्यता देखाएको भए अहिलेको यो कोकोहोला मच्चिने थिएन । भ्रष्टाचारको नियत छताछुल्ल भएको छ । यो सबै समयमै गंभिर तयारी नगर्दाका परिणामहरु हुन् ।
यी त भैगए । यो सन्दर्भमा नेतृत्वको क्षमता र बद्नियतको हिसाव किताव अबस्था सामान्य भयो भने पक्कै गरिने नै छ । तर अहिले भने संक्रमणबाट बच्नका लागि सरकारको निर्णृयलाई अक्षरसः पालना गर्नुको विकल्प छैन ।

पालना गर्ने दायित्व हरेक नागरिकको हुन्छ । राज्यका संरचनाहरु तथा सामाजिक संरचनाहरु नागरिकलाई पालिका स्तरीय लकडाउनको पालना गर्न गराउन सक्रिय हुन जरुरी छ । नागरिकहरुले पनि अब लकडाउनलाई कर्फु बुझेर बेलुका निस्कौं, प्रहरीको आँखा छलेर डुलौं भन्ने चाहनालाई पूर्ण रुपमा त्याग्न जरुरी छ ।

पालिका स्तरको लकडाउन भनेको पालिका भर घुम्ने, बाहिर नजाने भनेको पटक्कै होइन । यो भूगोललाई बिभाजन गरेर संक्रमी देखिएको भुगोलमा थप सतर्कता अपनाउनका लागि घेरा लगाइएको अबस्था मात्र हो । घर भित्र बसेर ‘कम्युनिटी ट्रान्समिसन’का अबस्था कुनै पनि हालतमा आउन नदिनका लागि योगदान दिनु भनेको संक्रमणसंगको लडाइका लागि सबैभन्दा ठूलो अस्त्र तयार गरेर राज्यलाई उपलब्ध गराउनु सरह हो ।

फेरि पनि दोहो¥याएर भन्नुपर्दा, हामी अहिले ‘लोकल ट्रान्समिसन’को चरणमा छौ । यो चरणवाट महामारीको पूर्वाअबस्था मानिने ‘कम्युनिटी ट्रान्समिसन’को चरणमा छिट्टै जाने संभावना बलियो हुन्छ । तसर्थ, हामी सजग बनौं, घरमै बसेर संक्रमण बिरुद्धको लडाईंमा अग्रमोर्चाका सिपाही बनौं ।