Goraksha

National Daily

कांग्रेसको अपिल : संक्रमितका परिवारको परीक्षण गरौं

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणबाट मुलुकलाई बचाउन निरन्तर खबरदारी र सत्तापक्षलाई झकझकाउने गरिरहेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आजै प्रेस विज्ञप्ति जारी गरी भन्नुभएको छ, ‘सरकार ! अझै साइत कुर्ने कि व्यापक परीक्षणमा लाग्ने ? चीनको सफलताबाट सिक्ने कि कतिपय देशको झैं भयावह स्थिति प्रतिक्षा गर्ने ?’

‘हामी अब गम्भीरताको दोस्रो चरणमा प्रवेश गरेका छौं’, प्रवक्ता शर्माले भन्नुभएको छ, ‘सरकारलाई हाम्रो अपील छ, यसअघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेक र घुलमिल भएका साथी समूहको परीक्षण, परीक्षण र परीक्षण तत्काल, तत्काल, तत्काल गरौं ।’ उहाँले बाहिरबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गरौं र सबै स्थानीय तह र प्रशासनमार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गरौं ।’ स्थानीय एक र अन्यमा दुई गरी एकै दिन तीनमा संक्रमण देखिएको आजैको दिन सबैखाले ढिलासुस्ती र अकर्मण्यतालाई आहुति दिएर व्यापक सर्तकता, व्यापक परीक्षण र व्यापक उपचार बढाउने क्रममा सरकार युद्धस्तरमा प्रवेश गर्ने दिन बन्नुपर्ने पनि प्रेस विज्ञप्तिमा उल्लेख छ ।