दाङ, ३० असार । नेपाली कांग्रेस केन्द्रीय समितिको असार २७ बाट शुरु बैठकमा अवको चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेमा नै केन्द्रित भएको छ । आफू उम्मेदवार हुँदा गठबन्धन सजिलो वा गठबन्धन गर्दा आफूले टिकट नै पाइन्न भन्ने आस र त्रासमा नेताहरु छन् । त्यही लयमा केन्द्रीय सदस्यले धारणा राख्ने गरेका छन । अधिकांश केन्द्रीय सदस्यले अब हुने चुनावमा आफूलाई केन्द्रमा राखेर धारणा राख्ने गरेका छन् ।
आफू उम्मेदवार हुँदा गठबन्धन हुँदा सजिलो पर्छ कि गठबन्धन गर्दा आफूले टिकट नै पाइन्न भन्ने आस र त्रासबीच केन्द्रीय सदस्यले धारणा राख्ने गरेका छन् । केन्द्रीय समितिमा सभापति देउवाले स्थानीय चुनाव समीक्षा र विविध दुई एजेन्डा राखेका थिए । केन्द्रीय समिति सुरू भएकै दिन सोमबार केन्द्रीय सदस्य शेखर कोइरालाले धारणा राखेका थिए । गठबन्धन गरेर केही पालिकामा सिट बढाए पनि आदर्श र सिद्धान्तलाई कता लैजाँदैछौं भन्ने प्रश्न कोइरालाको १२ बुँदे लिखित धारणामा समेटिएको छ ।
सभापति देउवा पक्षका अधिकांश नेताहरू गठबन्धनलाई निरन्तरताको पक्षमा छन् तर कोइराला पक्षका नेताहरू भने गठबन्धन समीक्षा गर्दै अब हुने चुनावमा कसरी जाने सामूहिक धारणा बनाउनुपर्नेमा छन् । कांग्रेस केन्द्रीय समिति १६९ सदस्यीय हो। सभापति देउवाले २० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ। अहिले कांग्रेसमा १४९ केन्द्रीय सदस्य छन् । बुधवारसम्म धेरै केन्द्रीय सदस्यले बैठकमा धारणा राखिसकेका छन् ।
बैठकमा सातै प्रदेशका सभापतिलाई पनि आमन्त्रित सदस्यका रूपमा छन् । उनीहरूले चुनावी समीक्षालगायत विषयमा खुलेर कुरा राखेका छन् । प्रदेशलाई विधानले दिएको अधिकारमाथि केन्द्रले हस्तक्षेप गर्न नहुने माग राखेका छन् । स्थानीय चुनावमा प्रदेशले टिकट दिए पनि केन्द्रले उल्टाइदिएकोमा उनीहरूको आपत्ति छ ।
कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुन मगरले वैशाखमा भएको स्थानीय चुनावको अनुभव सुनाउँदै अरू दलसँग चुनावी गठबन्धन गर्नभन्दा बरू प्रतिस्पर्धामै जानुपर्ने बैठकमा नै राखेका छन् । ‘लुम्बिनीमा ४० पालिकामा गठबन्धन गरेकोमा १६ ठाउँमा जितियो । ६९ पालिकामा गठबन्धन नगरी एक्लै चुनावमा जाँदा ३२ पालिका प्रमुख जित्यौं,’ उनले भने– ‘रूपन्देही, गुल्मी र पाल्पामा मात्रै गठबन्धन फलदायी भयो । अन्यत्र माओवादी बलियो भएका ठाउँमा पालिका छाड्नै चाहेनन् ।
त्यसैले अब हामी गठबन्धनभन्दा प्रतिस्पर्धामै उत्रियौं ।’ कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले स्थानीय चुनावमा गठबन्धन गरे पनि अपेक्षित नतिजा आउन नसकेको बताए । ‘एकीकृत समाजवादीले हामी एमालेबाट फुटेर आएको हुनाले ०७४ मा एमालेले जितेका ठाउँ चाहिन्छ भनेर दाबी ग¥यो । यसले पनि चुनावमा समस्या भयो,’ शर्माले भने– ‘माओवादीले भने कांग्रेसको भरोसा पनि खोज्ने र विश्वास पनि नगर्ने खालको देखियो ।’ प्रदेश नं. १ का सभापति उद्धव थापाले गठबन्धनबाट स्थानीय चुनावमा कांग्रेसलाई फाइदा नै पुगेकोले अब संघीय र प्रदेश सभा चुनावमा पनि गठबन्धन गर्नुपर्ने बताए ।
‘एकचरण प्रदेश तथा संघीय चुनावमा गठबन्धन गरौं । यससँगै हाम्रो पार्टीभित्रका आन्तरिक समस्या पनि समाधान गर्न लागौं,’ उनले भने– ‘गठबन्धन गर्दा नै फाइदा छ ।’ सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले गठबन्धनमा रहेका अरू दलले आफ्नो शक्तिभन्दा धेरै माथिको हैसियत खोज्दा स्थानीय चुनावमा समस्या देखिएको बताए । ‘हैसियतभन्दा बढी सिट खोजेका छन्।
कांग्रेसले मत दिएर उनीहरूको हैसियत र शक्ति किन अझै बढाइदिने?,’ उनले प्रश्न गरे, ‘कांग्रेस आफ्नै बलमा पनि चुनाव लड्न सक्छ, जित्न सक्छ । चुनावी तालमेल गर्नुअघि धेरै कुराहरू विचार पु¥याएर निर्णय गर्नुपर्छ ।’ केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले आफू व्यक्तिगत रूपमा गठबन्धनको पक्षमा नरहेको बताए ।
‘म सैद्धान्तिक रूपमा गठबन्धन मान्दिनँ,’ उनले भने, ‘तर परिस्थितिअनुसार हामीले इमान्दार भई गठबन्धनमा जानुपर्नेछ। माधव नेपाल र प्रचण्ड एक्लाएक्लै चुनावमा जाने भनेर अभिव्यक्ति दिइरहेका छन्, यसबारे गम्भीर रूपमा छलफल गरेर चुनावी गठबन्धनको निर्णयमा पुग्नुपर्छ।’ केन्द्रीय सदस्य जिपछिरिङ लामाले अब चुनाव नलडने बैठकमा जानकारी दिएका छन् । ‘मभन्दा पनि जुनियर सांसदहरू मन्त्री बन्ने अवसर पाउँदा मैले किन पाइनँ ?,’ उनको प्रश्न थियो, ‘म अब पार्टीबाट चुनाव लड्दिनँ ।
पार्टीले पनि मैले चुनाव लडिदिओस् भन्ने चाहेको छैन ।’ केन्द्रीय सदस्य कुन्दराज काफ्लेले भने केन्द्रीय समिति बैठकमा आफू दोलखामा प्रत्यक्ष चुनाव लड्ने इच्छा देखाएका थिए । तर चुनावी गठबन्धन गरेर जानुपर्ने उनले बताए । चुनावी गठबन्धन गर्ने हो भने मापदण्ड बनाउन केन्द्रीय सदस्य योगेन्द्र चौधरीले माग गरेका छन् । ०७४ को प्रदेश सभा र प्रतिनिधि सभामा जसले जितेको छ त्यसलाई उक्त क्षेत्र छोड्न नहुने पनि उनले बताए ।
‘०७४ मा जुन क्षेत्रमा जुन दलका उम्मेदवारले जितेका थिए अहिले त्यो क्षेत्र गठबन्धनका नाममा त्यो दललाई नै छोड्न हुन्न,’ उनले भने– ‘पहिले हारेका ठाउँमा कांग्रेसको अहिले राम्रो भएको पनि हुन सक्छ, राम्रोसँग अध्ययन गरौं र लोकप्रियलाई उम्मेदवार दिऔं ।’ केन्द्रीय सदस्य रमेश लेखक पनि चुनावी गठबन्धनका पक्षमा छन् । उनले कम्युनिष्टहरूको मत जोड्दा कांग्रेसको भन्दा बढी हुने भएकोले अहिलेकै गठबन्धनको निरन्तरता हुनुपर्ने बताए ।
‘कम्युनिष्टहरूको मत जोड्दा झन्डै दुई तिहाइ पुग्न आउँछ। कम्युनिष्टलाई जित्ने हाम्रो तागत छ भने मात्र एक्लै लडौं,’ उनले भने, ‘मत बढाउने केही योजना छन् भने पेश गरौं । होइन भने चुनावी गठबन्धनमै जाऔं ।’ केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि सकेसम्म एक्लै चुनावमा जानुपर्ने बताए । कांग्रेसविरूद्ध बन्न सक्ने अर्को गठबन्धनको चुनौतीलाई सामाना गर्न सक्ने आँट र तयारी हुनुपर्ने उनको भनाइ थियो ।
केन्द्रीय सदस्य रामहरि खतिवडा पार्टीभित्रकै आन्तरिक एकतालाई बलियो बनाउनुपर्ने विचार राखे । उनले चुनावी गठबन्धन गरे पनि पार्टीभित्र एकता नभए जित्न नसकिने बताए । ‘गठबन्धन गरेर जाने हो भने ढिला नगरौं, साउनभित्रै निर्णय लिऔं,’ उनले भने, ‘आन्तरिक एकतालाई पनि जोड दिऔं ।’ केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले स्थानीय चुनावमा सिन्धुपाल्चोकमा गठबन्धनविनै धेरै सिट जितिएको बताए ।
‘सिन्धुपाल्चोकमा धेरै ठाउँमा गठबन्धन नगरे पनि जितिएको छ । मेरो क्षेत्रमा गठबन्धन आवश्यक छैन,’ उनले भने, ‘गठबन्धन गर्ने र अरू पार्टीलाई छाड्ने चलखेल भयो भने म विद्रोह गर्छु ।’ उनले आफू प्रत्यक्ष चुनावबाट आउने र समानुपातिकमा नबस्ने घोषणा नै गरे । नेता रामचन्द्र पौडेल पनि अहिलेको चुनावी गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन्। स्थानीय चुनावमा गठबन्धन गरेर कांग्रेस ठूलो दल बनेको र पार्टीलाई क्षति नपुगेको उनको दाबी थियो ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अुनसार चुनावी गठबन्धन गरेर जानुपर्दछ भन्नेमै अधिकांश केन्द्रीय सदस्यहरूले धारणा राखेको बताए । ‘कांग्रेस नेतृत्वमा सहज रूपमा सरकार बन्ने अवस्था बन्नुपर्दछ भन्ने अधिकांशको धारणा छ,’ उनले भने, ‘गठबन्धन सरकारका सीमा छन्, भनेजस्तो काम गर्न सकिएको छैन। तर चुनावी गठबन्धनलाई निरन्तरता दिनुपर्दछ भन्ने छ ।’