Goraksha

National Daily

छिन्न-भिन्न भयो ‘चियागफ’

लिलाधर वली

दाङ चैत २१ । घोराही वजारका चिया पसलहरुमा एकथरी युवाहरु दिनुहुँ भेटिन्थे । मेवाड, मट्का, बिशाल चियाघर यस्ता हुन्, जहाँ चिया मात्र बेचिदैन, युवाहरुलाई गफ गर्ने ‘स्पेस’ पनि उपलब्ध गराइन्छ । चियाका पारखीहरुको यो मस्त छलफलमा पत्रकारहरुको संख्या धेरै देखिन्छ, अनी राजनीतिकर्मी, अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधिहरु, साहित्यिक संस्थाका अगुवाहरु पनि ।
‘चिया पसल समाचारको स्रोत हो, त्यसैले एक चरण चिया पसलमा बसौं भन्ने लाग्थ्यो’ पत्रकार महासंघका केन्द्रीय सचिव समेत रहेका चियाका पारखी उदय जिमएम भन्छन्, दाङमा रहदाँ मेवाडमा चिया पिउनु मेरो नित्यकर्म झै भैसकेको छ ।’ उनैको यो नित्यकर्मलाई पछ्याउदै पत्रकारहरु चिया पसलमा जोडिदै गएका हुन् । पत्रकारवाट सुचना पाउन सकिन्छ भन्ने लागेर अरुहरु पनि क्रमशः चियागफमा जोडिदै गएका छन् ।
अहिले कोरोनाको संक्रमण गर्न घोषणा गरिएको लकडाउनले गर्दा चियाका पारखीहरु छिन्न-भिन्न भएका छन् । घरवाट फेसबुकमा दौतरीहरुसंग चियाकफ मिस गरियो भन्ने सन्देश आदान प्रदान गर्दै छटपटिमा रहेका देखिन्छन् उनीहरु ।
तिनै चियाका पारखीहरु अहिले कस्तो अनुभूति गरिरहका छन् त ? यो जिज्ञासामा प्रतिनिधिमुलक चिया पारखीहरुको जवाफ यस्तो छ ।

सुदीप गौतम (पूर्व अध्यक्ष नेपाल पत्रकार महासंघ दाङ)
मलाई चिया मन पर्छ । जसले गर्दा चिया पिउने गर्दछु । चिया पिउन पसलसम्म जादा साथीभाईसँग भेटघाट समेतहुने गर्दथ्यो । तर अहिले त्यस्तो अवस्था छैन । लकडाउनका कारण बजार बन्द छ । म पनि अहिले ११ दिनदेखि परिवारसहित आफ्नो पुरानो घर हापुरमा छु । घरमा रहेकाले चिया खान मन लागे आफै पकाउने गर्दछु । लकडाउनको समयलाई अध्ययनमा लगाएको छु । फुर्सदको समयमा सामाजिक सञ्जाल समेत हेर्ने गर्दै आएको छु ।

के.एल. पीडित (पूर्व अध्यक्ष नेपाल पत्रकार महासंघ दाङ)
लकडाउनका कारण ११ देखिदेखि घरमै छु । मेरो घर बजारदेखि थोरै तर गाउँतिर भएकाले दिन कटाउन सजिलै भएको छ । बजारमा जस्तो कोठाभित्र बसिरहनुपर्ने अवस्था छैन । घरायासी काममा श्रीमतीलाई सहयोग गर्ने फुर्सदकोसमयमा गजल सिर्जना ध्यान लगाउने गरेको छु ।
गाउँमै घरभएपनि प्राय बजारमै रहने र चियागफका बहनामा साथीभाईसँग भेटघाट गर्ने हुन्थ्यो । त्यो छुटेको पनि आज धेरै दिन भएको भयो । चियागफका बहनामा साथीसँग भेटघाट गर्ने गरेको सपनामा समेत आउने गरेको छ । चिया खाएको, रमाइलो गरेको र घुमफिर गरेको खुव याद आउने गरेको छ । तर कोरोनाका कारण अहिले चिया खान मन लागे घरमै बनाएर खाने गरेको छु ।

सन्तोष सुवेदी (अध्यक्ष प्रेस युनियन दाङ)
मैले विहान र दिउसो चिया खाने गरेको थिए । चिया नभई नहुने भन्दा पनि साथीभाईसँग भेटघाट गर्नका लागि पनि दुई टाइम ग्रिन–टी खाने गरेको छु । तर त्यै पनि अहिले बजारमा चिया पसलहरु बन्द हुदा अप्ठेरो पर्ने गरेको छ । चिया खाने ठाउँ नै छैन । त्यसैले मन लागे घरमे बनाएर खाने गरेको छु ।

देवेन्द्र बस्नेत (नागरिक दैनिक)
अहिले त चिया असाध्यै मन पथ्र्यो भन्ने बेला हुन थालिसक्यो । बजारमा चिया खान नपाएको आज ११ दिन भैक्यो । सुरुका २–४ दिन त चियाको सम्झनाले हेरानै बनायो । तर अहिले कम भैसक्यो । साथीसँग भेटघाट गर्ने र चिया खाने अहिले छुटेको छ । चिया खान नपाउँदा पैसा समेत बचत भएको छ ।

सन्तोष पोख्रेल (विद्यार्थी नेता )
चिया सवैसँग भेटघाट गर्ने माध्यम हो । त्यसैले चिया खाने बहानामा पहिले चिया पसललगायतका ठाउँमा गएर चिया खान गरिन्थ्यो । तर अहिले समय बद्लिएको छ । अहिले सामाजिक सञ्जालका माध्यमबाट साथीहरुसँग भेटघाट भैरहेको छ । कोरोना भाइरसबाट बच्नका लागि राज्यले बनाइदिएको नियमलाई सवैले मान्दै कोरोना भाइरस विरुद्धको अभियानमा सवै लाग्न आवश्यक छ ।