मौसमी संक्रमणमा सावधानी

मनसुनी बर्षातसँगै खोलानालामा पानीको बहाव बढेको छ । खानेपानीका मुहानहरु धमिला भएका छन् । मुहानबाट आउने पानी मात्र होइन, इनारको पानी पनि प्रदूषित भएको छ । प्रदूषित पानीका कारण अहिले भाइरल ज्वरो, जण्डिस, टाइफाइड, झाडा पखालालगायतका संक्रमणहरु देखिएका छन् । अस्पताल तथा स्वास्थ्य संस्थामा भाइरल संक्रमणका बिरामीहरु बढिरहेका छन् ।

अत्यधिक मात्रामा शरीर दुख्ने, ज्वरो आउने, वान्ता हुने तथा पखाला लाग्नेजस्ता समस्याहरु संक्रमित मानिसमा देखिन थालेका छन् । केही संस्थाहरुमा बेड नपाउने समेत अवस्था देखिन थालेको छ । दूषित पानीसँगै यो मौसममा सरुवा रोगको संक्रमण फैलने सम्भावना पनि त्यत्तिकै देखिएको छ । भाइरल संक्रमणसँगै लामखुट्टेको टोकाइबाट हुने हात्तीपाइले, डेंगु, औलो जस्ता रोगका संक्रमणहरु देखिने समय पनि यही हो ।

मानिसमा देखिने संक्रमणको प्रमुख कारण प्रदूषित पानी हो । हाम्रो शरीरमा हुने रोगहरुमध्ये कम्तीमा ७० प्रतिशत संक्रमणहरु फोहर पानीकै कारण हुन्छन् । अहिले हरेक स्थानमा खानेपानीका मुहान प्रदूषित भएका छन् । यो समयमा पानीलाई प्रशोधन नगरी उपभोग गर्नु हुँदैन । पानी उमालेर मात्र प्रयोग गर्नु संक्रमणबाट बच्ने पहिलो उपाय हो । पानी शुद्धीकरणका अन्य विकल्पहरु पनि छन् । फिल्टर गरेर पनि उपयोग गर्न सकिन्छ ।

त्यसैगरी बर्षातको मौसममा घर आँगन सफा राख्ने तथा पानीका मुहान सुरक्षित गर्नेतर्फ पनि समुदायको ध्यान जान आवश्यक देखिएको छ । हरेक बर्षातको समयमा हुने यस्ता संक्रमण घातक पनि हुन सक्छन् । मौसमी संक्रमणले गम्भीर अवस्था पनि ल्याउन सक्छ । यो अवस्थामा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्न पनि आवश्यक हुनसक्छ । यसमा आम नागरिक सचेत हुनु जरुरी छ ।

अर्को मौसमी संक्रमण नाइरोबीको संक्रमण पनि हो । नेपालभर फाटफुटरुपमा देखिएको यो संक्रमण तुलसीपुरमा पनि देखिएको छ । नाइरोबी संक्रमण एक प्रकारको किराबाट हुने संक्रमण हो । यसले मानव शरीरमा डाबरहरु देखापर्ने, चिलाउने, फुट्ने र शरीरमा घाउ बनाउनेजस्ता समस्या ल्याउन सक्छन् ।

यद्यपि मानव शरीरका लागि अन्यन्तै घातक अवस्था भने नाइरोबी संक्रमणले ल्याउँदैन । योे मौसममा यस्ता किराको संक्रमणबाट पनि जोगिन आवश्यक छ । यो किरा प्रायः रातको समयमा मात्र देखिने पुष्टि भएको छ । यसको टोकाइबाट जोगिन रातको समयमा झुल लगाएर सुत्न उपयुक्त हुन्छ ।

झुलको प्रयोगले नाइरोबीको संक्रमणमात्र होइन, लामखुट्टेको टोकाइबाट सर्ने डेंगु तथा हात्तीपाइलेजस्ता घातक संक्रमणबाट पनि बच्न सकिन्छ । संक्रमणपछि उपचार भन्दा संक्रमण फैलनै नदिनु राम्रो हो । न्यूनतम स्वास्थ्य सावधानीका मापदण्ड अपनाए यस्ता मौसमी संक्रमणबाट बच्न सकिन्छ ।