कोरोना बिरुद्धको सचेतनासँगै राहतसम्म : प्रमुख प्रशासकीय अधिकृत रिजाल

नेपालमा कोरोना भाइरस (कोभिड–१९)को नेपालमा छठौ संक्रमित भेटिएसँगै संक्रमण अझै फैलिन सक्ने मानिसमा चिन्ता छ । सरकारले लकडाउन गरेको छ । चैत ११ गतेदेखि शुरु भएको लकडाउन चैत २५ सम्मको लागि छ । यो अवस्थामा सरकारको कुरालाई मानेर घरबाहिर ननिस्कनु बुद्धिमानी नै हो । कार्यालयहरुले अति आवश्यक कामबाहेक सम्पूर्ण काम स्थगित गरेका छन् । स्थानीय सरकारहरुले कोरोना विरुद्धको सचेतना, क्वारोन्नाटाइन निर्माण, राहत वितरणका काम गरीरहेका छन् । यो परिस्थितिमा राप्ती गाउँपालिकाले कसरी काम गरिहेको छ । प्रस्तुत छ राप्ती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालसँग गोरक्षका लागि इन्द्र डिसीले गरेको कुराकानी ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएसँगै संक्रमण फैलिन सक्ने मानिसमा चिन्ता छ । अतिआवश्यक सेवाबाहेक सवै सेवा स्थगित नै छ । यो अवस्थामा राप्ती गाउँपालिकाले कसरी काम गरिराखेको छ ?

नेपाल कोरोना भाइरसको उच्च जोखिमा छ । आजसम्म नेपालमा छंठौ संक्रमित फेला परिसकेको अवस्था छ । त्यसकारण हामी सचेत र सजक बन्न जरुरी छ । यो संक्रमणप्रति हामी गम्भिर नै छौ । त्यसैले हामीले पनि सरकारले भने जस्तै अतिआवश्यक सेवा दिने गरेका छौ । तत्तकालको समयको लागि आवश्यक कर्मचारी कार्यालय बोलाएर काम गर्ने गरेका छौ । त्यसैगरेर पालिकाभित्र के आवश्यक छ त्यसको लिष्ट निर्माण गर्ने र त्यसको आधारमा कामहरु अघि बढाउँदै आएका छौ ।

यो संक्रमणबाट बच्न पालिकामा के के काम गरिरहेको छ ?

यो रोगबाट बच्नको लागि पालिकाले विभिन्न महत्वपूर्ण काम गरिराखेको छ । पालिकाका सवै नागरिकलाई रोगबाट बच्न सचेत र सजक रहन अपिल गर्दै हातधुने सावुन, सेन्टेराइजर, प्रर्चा, पम्प्लेट वितरणका काम भएका छन् । त्यसैगरेर पालिका भित्र दुईवटा क्वाराइन्टाइन निर्माण गरेका छौ । एक ठाउँमा १५ बेडको र अर्को स्थानमा ९ वेडको क्वारानटाइन निर्माण गरेका छौ । त्यसैगरेर राहतका कार्यक्रम पनि भएका छन् । विपन्न र मजदुरी गरी खाने वर्गको लागि यो लकडाउनले केही समस्या श्रृजना गरेको छ । त्यसको लागि केही भए पनि संवोधनको लागि परिवार संख्याको आधारमा प्रथम चरणमा ५ देखि१० किलो चामल, १ किलो दाल, २ प्याकेट नुन, १ लिटर तेल र साबुन वितरणको कामहरु भैराखेको छ । यो पालिकामा १० हजार घरधुरी र ५३ हजार बढि जनसंख्या छ ।

 चालु आव २०७६÷०७७ का विकास निर्माणको कामको अवस्था कस्तो छ ?

विकास निर्माणका काम आजभोली स्थगित नै छन् । लकडाउनसँगै विकास निर्माणका काम रोकिएका छन् । ठेक्कामार्फत हुने काम पनि रोकिएका छन भने उपभोक्तामार्फत हुने काम पनि स्थगित नै छन् । त्यसैगरेर विकास निर्माणको कामको पनि यो समयमा अनुगमन हुन सकेको छैन । अधिकास योजना सम्झौता भैसकेका छन् । केही योजना सम्झौताको चरणमा छन् । यो समय विकास निर्माणको समय हो । तर विषम परिस्थितिका कारण समस्या आएको छ, यो देशभरको साझा समस्या हो ।

खेतीपाती शुरु हुने समय भै सकेको छ । कृषकलाई मल विउको समस्या लागि कस्तो सोंच बनाउनुभएको छ ?

कृषकलाई विउ, विजको वितरणको काम भैराखेको छ । विशेष गरे भिडभाड नहुने गरी कृषकलाई विउविज वितरण गर्न सम्बन्धित शाखालाई भनेको छौ । त्यो अनुसारको काम भैराखेको छ ।

अन्त्यमा केही भन्नु छ ?

यो लकडाउनको समय हो । सरकारको कुरालाई मानेर घरबाहिर ननिस्कनु पालिकावासीलाई विशेष आग्रह गदर्छु । यो रोगबाट जोगिन व्यक्तिगत सरसफाईमा बढि ध्यान दिन, आफुपनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित बनाउने कार्यमा लाग्न आग्रह गर्दछु ।