क्षेत्र नं. ३ ले ग¥यो जनप्रतिनिधिलाई स्वागत, पार्टी–जनप्रतिनिधि समन्वयको अपेक्षा

गोरक्ष समाचारदाता
तुलसीपुर, १९ असार । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. ३ क का जननिर्वाचित पदाधिकारीहरुलाई सम्मान कार्यक्रमको आयोजना गरियो । प्रदेश कांग्रेस समितिले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाबाट निर्वाचित हुने वडाध्यक्ष, वडा सदस्य तथा जिल्ला समन्वय समितिका पदाधिकारीहरुसमेत सम्मिलित थिए ।

कार्यक्रममा पार्टी र जनप्रतिनिधिबीच समन्वयको आवश्यकता औल्याइयो । साथै पार्टीले जनप्रतिनिधिहरुलाई आफ्नो कार्यदिशामा अघि बढाउन पनि सल्लाह र सुझाव दिँदै जननिर्वाचित प्रतिनिधिका गुनासाका विषयमा पनि छलफल भएको थियो । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. ३ प्रदेश ‘क’ का सभापति देवेन्द्र रिजालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा प्रदेशसभा सदस्य शंकर गिरीले पार्टी र जनप्रतिनिधिहरुबीच फरक खालको सम्बन्ध स्थापित हुनुपर्ने बताए । उनले पार्टीको निर्देशनमा जनप्रतिनिधिहरुले काम गर्न र आवश्यक परेको अवस्थामा निर्वाचित जनप्रतिनिधिहरुलाई थप बजेटका लागि पार्टीले नै लविङ गर्ने बताए ।

पछिल्लो समयमा तुलसीपुर उपमहानगरपालिका कंगाल भएको आफूले पनि थाहा पाएको उल्लेख गर्दै प्रमुख अतिथि गिरीले तुलसीपुर उपमहानगरपालिकामा जिल्ला सरहको बजेट परेको बताए । उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई यो आर्थिक बर्ष प्रदेश सरकारले जसरी भए पनि सम्बोधन गरेर विकासका योजनामा सघाउ पुराउने अभिव्यक्ति दिए ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति जगत खड्काले कांग्रेस सधैका लागि सबैका लागि अपरिहार्य भएको बताए । सर्पले काँचुली फेरेको जस्तो चुनावमा रुखमा भोट नहाल्ने कांग्रेस कार्यकर्ता पार्टीलाई नचाहिएको भन्दै त्यस्ता चरित्रका स्वघोषित कांग्रेस संगठनबाट बाहिरिन पनि आग्रह गरे । ‘महाधिवेशनमा हामीले खेमा खोजेको हौला, त्यसलाई हामीले स्वाभाविकरुपमा लिएका छौं, तर आम निर्वाचनमा कांग्रेसलाई मत नदिने कांग्रेस हामीलाई चाहिएको छैन’, खड्काले भने ।

नेपाली कांग्रेस दाङ निर्वाचन क्षेत्र नं. ३ ‘क’ को आयोजनामा भएको जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका वडाध्यक्षहरु, वडा सदस्यहरु, जिल्ला समन्वय समितिका उपप्रमुख, तथा सदस्यहरुलाई सम्मान गरिएको थियो ।

प्रदेश ३ ‘क’ का सभापति देवेन्द्र रिजालको अध्यक्षतामा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि विमल रिजाल, डा. नहकुल केसी, टोपबहादुर केसी, शुषमा गिरी, देवा डाँगी, जोगेन्द्र विश्वकर्मा, घनश्याम ढकाल, महिला नेतृ तथा महाधिवेशन प्रतिनिधि सुशीला सुवेदी, शुषमा लामिछाने गिरी, महिला नेतृ यमुना कँडेल, वडाध्यक्षहरु विरेन्द्र शाह, रामबहादुर केसी, शंकर खड्कालगायतले पार्टीले आफूहरुलाई कार्यदिशामा अघि बढाउनुपर्ने सुझाव राखेका थिए ।

उपसभापति शालिकराम रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रदेश सचिव तेजबहादुर डाँगीले गरेका थिए । कार्यक्रममा प्रदेश अध्यक्ष देवेन्द्र रिजालले धन्यवाद ज्ञापन गर्दै पार्टी र जनप्रतिनिधिहरुबीच सुमधुर सम्बन्धको अपेक्षा गरेका थिए । सो अवसरमा जिल्ला समन्वय समिति तथा वडामा निर्वाचित सबै पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।