भालुवाङबासीले छिट्टै पुर्जा : मन्त्री चौधरी

भालुवाङ, १९ असार । सहरी विकास मन्त्री मेटमणि चौधरीले भालुवाङबासीले अब लालपुर्जा छिट्टै पाउने बताएका छन् । राप्ती प्रेस मञ्च राप्तीले शनिवार भालुवाङमा गरेको पत्रकार भेटघाट तथा स्वागत बधाई कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सो कुरा बताएका हुन् । मन्त्री चौधरीले लालपुर्जा वितरण नीतिगत रुपमा पास हुनेबित्तिकै उच्च स्तरीय भूमिसुधारमार्फत पुर्जा वितरणको काम अगाडि बढ्ने बताए ।

५५ वटा शहरमध्ये भालुवाङ बजार पनि लालपुर्जाविहीन बजार भएकाले पुर्जा वितरणको काममा अब ढिलाई नहुने बताएका छन् । मन्त्री चौधरीले प्रदेश राजधानी पनि अब अस्थायी मुकाम बुटवलबाट क्रमशः स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा सर्ने र आउँदो हिउँदे अधिवेशन पनि बस्ने गरी काम भइरहेको बताए ।

यस्तै अब प्रदेशको बैठक पनि देउखुरीमै बस्ने बताए । आउँदो संघ र प्रदेशको निर्वाचन कहिलेसम्म हुन्छ ? भन्ने पत्रकारको जिज्ञासामा मन्त्री चौधरी यसै भन्न नसक्ने बताए । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका प्रमुख संरक्षक महेश रिजालले आफ्नो भनाइ राखेका थिए । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

मन्त्री चौधरीलाई बधाई ज्ञापन
राप्ती उद्योग वाणिज्य संघ भालुवाङले शनिवार सहरी विकास मन्त्री मेटमणि चौधरीलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

संघका अध्यक्ष सुरज खड्काको अध्यक्षता एवं शहरी विकास मन्त्री चौधरीको प्रमुख आतिथ्यमा भएको स्वागत बधाई कार्यक्रममा बोल्दै मन्त्री चौधरीले साउन महिनाभित्र भालुवाङ बजारका सबै गल्ली कालोपत्रे हुने बताए । मन्त्री चौधरीले आफ्नो कार्यकालमा आफ्नो निर्वाचन क्षेत्रमा गर्नुपर्ने महत्वपूर्ण काम गर्ने समेत बताए । उनले आफ्नो कार्यकालमा कसैको शिर निहुरिने गरी काम नगर्ने बरु शिर उच्च हुने गरी काम गरेर देखाउने बताए ।

मन्त्री चौधरीले राजधानी स्थान्तरणमा ढिला भएको भन्ने जनगुनासो आएकोले अब त्यो काम पनि छिटो हुने र प्रदेशको बैठक पनि स्थायी राजधानीमै बस्ने बताएका छन् । कार्यक्रममा राप्ती गाउँपालिकाका निर्वतमान अध्यक्ष नुमानन्द सुवेदी, राप्ती उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जगतप्रसाद पोख्रेललगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघका वरिष्ठ उपाध्यक्ष बाबुराम थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संघका महासचिव नारायण शर्माले गरेका थिए ।