रौनकविनाको रोपाइँ

  •   
  •  

अमरराज आचार्य
दाङ, १६ असार । झिमझिम पानी परिरहँदा खेतमा पसेका किसानको अनुहारमा खुसी देखिँदैन । मानो फालेर मुरी फलाउने आशाका साथ खेत छिर्ने किसानहरु मलविनै धान रोपिरहेका छन् । केही किसानहरुले तोरी छर्ने बेलाको मल जोगाएर राखेको बताए भने केही किसानहरुले जिल्लामा मल नै नपाएपछि भारतीय सीमा बजारबाट चर्को भाउमा मल ल्याएको बताएका छन् ।

‘पोहोर साल ११ सय पर्ने युरियालाई यसपालि २५ सय रुपैयाँ प¥यो, मलको गुणस्तरका विषयमा पनि ढुक्क हुन सकेका छैनौं’, ग्वारखोला खेतमा रोपाइँमा भेटिएका किसान फगुन्ना चौधरीले भने । अधियामा खेत लगाउँदै आएका चौधरीले मल, बीउमा पनि आधा लगानी गर्नुपर्ने शर्त छ । असार पन्ध्रलाई नेपालभर राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै गर्दा दाङ जिल्लामा भने रोपाइँको समयमा पनि मल निकै थोरै मात्र आयो । सहकारीले ल्याएको मल खोसा–खोस भयो, मेरो बटामा पन्ध्र किलो मात्रै प¥यो’, फगुन्नाले भने ।

फगुन्ना मात्रै होइन, जिल्लाभरका किसानको एउटै रोदन छ, रोप्ने बेला मल पाउन सकेनौं । अहिलेसम्म जिल्लामा आएको रासायनिक मलले २५ प्रतिशतलाई पनि धान्न सकेको छैन । उन्नत जातको धान र रासायनिक मलको कम्बाइनेशन नै कस्तो छ भने यी हाइब्रिड बीउलाई रासायनिक मलविना कुनै उपाय छैन । अघिल्ला बर्षहरुमा जिल्लाका दशवटै पालिका तथा कृषि ज्ञान केन्द्रको आयोजनामा धान खेतमै गएर धान दिवस मनाइन्थ्यो । धान उत्पादन बढाउने सन्दर्भमा किसानहरुसँग जनप्रतिनिधिहरुको बहस हुन्थ्यो ।

जनप्रतिनिधिहरु समेत खेतमै पसेर रोपाइँमा सहभागी हुन्थे । तर यसपाली धेरै पालिकाहरुले धान दिवस नै मनाएनन् । ‘हामीले किसानलाई मल दिनै सकेका छैनौं, मल नपाएर निराश किसान शान्त पार्न नसक्ने हामीहरु किसानको खेतमा गएर धान दिवस मनाइरहनुको कुनै अर्थ रहेन’, घोराही उपमहानगरपालिकाका एक अधिकारीले बताए । तुलसीपुर उपमहानगरपालिकाले भने यसपालि पनि किसानको खेतमै गएर धान दिवस मनाएको छ ।

मुलुकभर धान दिवस मनाइरहँदा दाङ जिल्लामा भने असार पन्ध्रसम्म १० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । गत वर्ष यो समयमा ७० प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । यस वर्ष पश्चिम क्षेत्रमा ढिलो गरी वर्षा भित्रिएकाले धान रोपाइँमा असर पुगेको छ । आकाशे पानीको भरमा खेती हुने ठाउँमा रोपाइँ सुरु हुन सकेको छैन भने नदी तथा खोलाको पानी सिँचाई हुने क्षेत्रमा रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिएका छन् ।

उनका अनुसार जिल्लामा ६५ हजार ९ सय ८० हेक्टर खेतीयोग्य जमिनमध्ये ३० हजार ४ सय हेक्टरमा धान खेती हुने गरेकोमा यस वर्ष अहिलेसम्म ३ हजार ९ सय ४० हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको छ । राप्ती नदीको पानीले सिँचाई हुने देउखुरी क्षेत्रमा रोपाइँ अन्तिम चरणमा पुगेको छ भने जिल्लाको पश्चिम क्षेत्रमा बबई नदीको पानीले सिँचाई पुगेको ठाउँमा पनि रोपाइँ भइरहेको छ । अन्य क्षेत्रमा रोपाइँ सुरु हुन नसकेको कृषि अर्थ विज्ञ लामिछानेले जानकारी दिएका छन् ।

तुलसीपुरले मनायो धान दिवस

 तुलसीपुर उपमहानगरपालिकाले वडा नं. १ को देवीस्थानमा धान दिवस मनाएको छ । नगर प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, राष्ट्रिय सभा पूर्व सदस्य कोमल वली, उपमहानगरका कर्मचारीहरु, जनप्रतिनिधिहरु, स्थानीय अगुवासहित तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत कृषि विषयका विद्यार्थीहरुको सहभागिता थियो ।

 प्रमुख खड्काले खेतमा धान रोपेर कृषकलाई हौसला प्रदान गरेका बताए । खड्काले रैथाने बालीको संरक्षण गर्नु आजको आवश्यकता रहेको बताए । ‘पछिल्लो वर्षहरुमा रैथाने बालीहरु विस्थापित हुँदै गएका छन्’, प्रमुख खड्काले भने– ‘अब हरेक नेपालीहरुले रैथानेबालीहरु संरक्षण गर्न आवश्यक छ ।’ तुलसीपुर–१ का वडाअध्यक्ष हुमकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गौतमले जैविक विविधतालाई संरक्षण गरेर आयात प्रतिस्थापन गर्न सकिने बताए ।

तुलसीपुर उपमहानगरपालिकाभित्र १० हजार १ सय ६८ हेक्टर जमिनमा धान खेती हुँदै आएको प्रमुख गौतमले बताए । उनका अनुसार करिब ४ मेट्रिक टन प्रतिहेक्टरका दरले धान उत्पादन हुँदै आएको छ । तर जलवायु परिवर्तनका कारण गतवर्ष धान उत्पादन घटेको छ । गत वर्ष ३५ हजार १ सय ८० मेट्रिक टन उत्पादन भएको गौतमले जानकारी दिए ।

कार्यक्रममा कृषि सामग्री संस्थाका प्रमुख तीर्थ न्यौपानेले कोभिड र युक्रेनको युद्धका कारण किसानहरुको मागअनुसार रासायनिय मल उपलब्ध गराउन नसकेको बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । नेपाल सरकारले २०६१ साल मंसिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

मेलो सार्दै मेट्रोका विद्यार्थी

 तुलसीपुर मेट्रो कलेजमा कृषि विज्ञान अध्ययन गर्ने प्रतिक्षा डाँगीले असार पन्ध्रको छेको पारेर धान रोपाइँको मेलो अगाडि सारिरहेकी थिइन् । गाउँघरमा धान रोप्दै आएकी डाँगीले यसपटक भने अलिक भिन्नै अनुभूति गरिन् ।

‘आज भने विद्यार्थीको हिसाबले केही सिक्न धान रोपिरहेकी छुँ’, उनले भनिन् । अर्की विद्यार्थी सुस्मिता डाँगीलाई पनि रोपाइँको मेलो सार्दा रमाइलो अनुभव भएको थियो । कलेजको पोशाकमा हिलाम्य भएकी डाँगी हिलोमा रमाइरहेकी थिइन् । ‘हामी कृषिप्रधान देशमा बस्नेहरुले कृषिलाई सधै माया गर्नुपर्दछ’, उनले भनिन् ।

कलेजमा कृषि विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुलाई असार पन्ध्रको महत्वका बारेमा जानकारी दिनका लागि कलेजले धान रोपाइँ कार्यक्रममा सहकार्य गरेको थियो । तुलसीपुर उपमहानगरपालिका कृषि शाखाको संयोजनमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई असार पन्ध्रको महत्वका बारेमा पनि जानकारी गराइएको थियो । मानो रोपेर मुरी फलाउने दिनका रुपमा असार १५ को धेरै महत्व हुने गरेको अर्की विद्यार्थी सपना नेपालीले बताइन् ।

उनले कृषि क्षेत्रमा आधुनिकीकरणको आवश्यकता भएको भन्दै आफूले पढाई सकेर अभियान सञ्चालन गर्ने बताइन् । ‘अहिलेको युगअनुसार हामीले खेतीपाती गर्नुपर्दछ । अब कसरी उब्जनी बढाउन सकिन्छ भन्ने बारेमा सबैले थाहा पाउनु आवश्यक छ’, उनले भनिन् । कलेजमा अध्ययनरत ४० जना विद्यार्थीको कार्यक्रममा सहभागिता रहेको थियो । कृषि विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुलाई विभिन्न परियोजनासँग जोड्नका लागि असार १५ को रोपाई कार्यक्रम आयोजना गरिएको कृषि विज्ञान प्रशिक्षक कल्पना वलीले बताइन् ।