प्रतिष्ठानको पोषण पुनःस्थापना गृहबाट ४२ जनाले लिए सेवा

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, १६ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङले पोषण पुनःस्थापना गृहबाट ४२ जना कुपोषित बिरामीले उपचार सेवा लिएका छन् । वि.सं. २०७५ असार मसान्तमा नेपाल युथ फाउन्डेशनले हस्तान्तरण गरेपश्चात सञ्चालनमा ल्याउने प्रयास गरिए पनि गत वर्षको पुस १ गतेबाट विधिवत रुपमा सञ्चालनमा ल्याइएको पोषण पुनःस्थापना गृहबाट साविक राप्तीका दाङ, सल्यान, प्यूठान, रोल्पा र रुकुमका कुपोषित बिरामीको उपचार गरिएको समीक्षा कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा पोषण अधिकृत सर्जु बरालले हाल ६ बेडबाट सेवा प्रदान गर्दै हालसम्म ४२ जना भर्ना भएकोमा ३६ डिस्चार्ज भएको र ६ जना उपचाररत रहँदा १ जनालाई भने रिफर गरिएको बताइन् ।

उनका अनुसार २०७८ को पुसमा १, माघमा १, फागुनमा ७, चैतमा ८, बैशाखमा १०, जेठमा ८ असारको १४ गतेसम्म ७ जना गरी ४२ जना भर्ना भएकोमा उपचारपछि ३६ जना डिस्चार्ज भएका छन् । उपचारका लागि आउने बिरामीहरुलाई पोषण सुरक्षासहित आहार, औषधि, उपचार निःशुल्क, जाँच परीक्षण, चिकित्सकको निर्देशनअनुसार औषधि पनि हुने गरेको छ ।

सो अवसरमा उपकुलपति डा. लामिछानेले केन्द्रको मात्रै बजेटले उपचार सेवा सम्भव नहुने भन्दै सकेसम्म कुपोषण हुनै नदिने गरी समुदायस्तरमा सचेतना बढाउने कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिए । उनले समुदायमा रहने नागरिकको स्वास्थ्यका लागि वडास्तरबाटै पहल हुनुपर्ने भए पनि अहिले पनि स्थानीय सरकार पूर्वाधार निर्माणमा मात्रै केन्द्रित हुँदा मानवीय विकास पछि पर्दै गएको बताए ।

‘हामी अण्डा बेचेर चाउचाउ खान्छौ, दूध बेचेर रक्सी खान्छौँ अनि कसरी मानिस स्वस्थ हुन्छ ?’ उनले भने । प्रतिष्ठाका निर्देशक डा. प्रज्ञा बस्नेतले हालको सेवा सुविधा बढाउन पूर्वाधार विकासमा ध्यान दिने बताइन् । सेवाको पहुँचसँगै आम नागरिकमा पोषण सुरक्षाका बारेमा सही जानकारी दिने गरी प्रतिष्ठानले निरन्तर कार्यक्रम गर्दै जाने उनको भनाइ थियो । कार्यक्रममा सु आहाराका रोशन पौडेलले दाङमा १२ सय बढी कुपोषित बिरामी रहेको जानकारी गराउँदै समुदायस्तरमा पुगेर उनीहरुको उपचार गर्न चुनौतीपूर्ण बन्दै गएको बताए ।

जानेका व्यक्तिले लापरवाही गर्ने तथा दूरदराजका नागरिकहरुले नजानेरै कुपोषणको शिकार हुने क्रम रहेको उनको भनाइ रहेको थियो । ‘कतिपय अत्यन्तै विपन्न भएकै कारण बालबालिका कुपोषणको शिकार भएका छन् भने कतिपय पोषण स्वास्थ्यका बारेमा जानकारी नपाएर प्रभावित भएका छन् यसमा सबै पक्षको सहयोग चाहिन्छ,’ उनले भने– ‘वडाले यस्ता कुरामा पहल गर्नु जरुरी छ, त्यसका लागि लक्षित बिरामीको उपचारमा वडाले पहुँच बढाउनुपर्छ ।’

जिल्लामा अहिले कडा खालको कुपोषित बिरामी करिब ४ सय बढी रहेको पनि बताए । कुपोषण दर घटाउन र स्वस्थ नागरिक बनाउन समुदायस्तरबाटै स्वास्थ्य सचेतना बढाउनुपर्ने हुँदा स्थानीय सरकारसँगको सहकार्यमा अब बृहत्रुपमा कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको कार्यक्रममा सहभागीहरुले बताएका थिए । कार्यक्रममा स्वास्थ्य कार्यालय दाङकी जनस्वास्थ्य निरीक्षक सीता कवँर, वरिष्ठ कन्सल्टेन्ट डा. जनार्दन पन्थी, मेडिकल निर्देशक डा. रमेश कँडेललगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण निशानदाजु भट्टराईले गरेका थिए ।