दाङ, १५ असार । दुर्गम क्षेत्रका अभिभावक तथा विद्यार्थीलाई यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने उद्देश्यले शिक्षकहरुका लागि आयोजना गरिएको वृहत यौनिकता शिक्षा तालिम सम्पन्न भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरको सहकार्यमा नेपाल परिवार नियोजन संघ दाङको आयोजनामा घोराहीमा रुकुम–पूर्वका शिक्षकहरूलाई सञ्चालन भएको तालिम बुधवार सम्पन्न भएको हो ।
नेपाल परिवार नियोजन दाङ शाखा सचिव माया पोख्रेलको अध्यक्षता तथा नेपाल परिवार नियोजन संघकी केन्द्रीय उपाध्यक्ष निर्मला गौतमको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्ने बक्ताहरुले तालिममा सिकेको सिपलाई व्यवहारमा लागुगर्न जोड दिएका थिए । बालबालिकाहरुलाई यौनिकता शिक्षा प्रभावकारी रुपमा दिनका लागि शिक्षकहरुको महत्वपूर्ण भूमिका हुने भन्दै आफुले तालिममा सिकेको सिपलाई कार्यस्थलमा प्रभावकारी रुपमा लगाउन आग्रह गरेका थिए ।
समापन अवसरको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले समाजमा अहिले पनि खुल्न नसक्ने यौन शिक्षाका बारेमा शिक्षकहरुले सचेत बनाउनुपर्ने बताइन । समाजले शिक्षकशिक्षिकाहरुलाई विश्वास गर्ने भएकाले यौनिक शिक्षाका बारेमा विद्यालयदेखि बालबालिकाहरुलाई दिने शिक्षा प्रभावकारी हुने बताइन । उनले शिक्षकहरुले विद्यालयमा विद्यार्थीहरुलाई खुलेर यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा सचेतना फैलाउन आवश्यक रहेको बताइन ।
शनिवारदेखि सुरु भएको तालिम बुधवारसम्म चलेको थियो । जसमा रुकुम–पूर्वका विभिन्न १७ विद्यालयबाट २८ जना शिक्षक सहभागी रहेका थिए । तालिमको प्रशिक्षकमा डा. भगवान अर्याल, अनुप अधिकारी, बसन्त खनाल, नारायणी त्रिपाठी, रेणु यादव, खुमानन्द सुवेदी रहेका थिए । कार्यक्रमको सहजीकरण नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालले गरेका थिए ।
परिवार नियोजन संघले पछिल्लो समय दुर्गम क्षेत्रमा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै वृहत यौनिकता शिक्षाका बारेमा वृहत रूपमा सचेतना अभियान गर्दै आएको छ ।