Goraksha

National Daily

‘निकट भविष्यमै कोरोनासँगको लडाइँ जितिने छ’

काठमाडौं चैत २० । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको लडाइँमा मानवजातिले निकट भविष्यमा नै सफलता हासिल गर्ने बिश्वास व्यक्त गरेकी छिन् । ‘सम्पूर्ण राष्ट्र एक जुट भएर अगाडि बढेमा कोरोना भाइरसमाथि अवश्य विजय हासिल गर्न सकिने विश्वास व्यक्त गरेकी छु’ उनले भनेकी छिन् । कोभिड–१९ कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै उनले यसको रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालेका कदममा साथ दिन आम नागरिकलाई आह्वान गरेकी छिन् ।

विश्वव्यापी महामारीका सन्दर्भमा देशवासीका नाममा शुक्रबार साँझ सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले कोरोनाबाट संक्रमित भई उपचाररत सम्पूर्ण नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना पनि उनले गरिन् ।

हाम्रो संयमताले नै सिङ्गो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यान दिनु अति आवश्यक रहेकामा राष्ट्रपति भण्डारीको जोड छ । जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नै सरकारले पूरै देशमा लकडाउन गरेको हो भन्दै उनले यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैलाई आफ्नो स्वास्थ्यमा आवश्यक ध्यान दिन आग्रह गरिन् ।

‘यतिबेला हाम्रो आकाश निर्मल र नीलो देखिएको तर कोरोना भाइरसका कारण सिङ्गो धर्ती युद्धमैदान जस्तै भएको महसुस हुन्छ’ उनले भनिन्, ‘लकडाउनले गर्दा हाम्रो दैनिक जीवनमा केही अप्ठ्यारा सिर्जना भए पनि सबैलाई आफ्नो मात्र नभई आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन यस बेलामा संयमित भएर घर बाहिर ननिस्कन आग्रह गर्दछु ।’

महामारीविरुद्धको लडाइँमा आआफ्ना तर्फबाट सक्दो योगदान गर्न सम्पूर्ण राजनीतिक दल, उद्योगपति, व्यापारी, विज्ञ, सञ्चारकर्मी, स्थानीय समुदाय एवं स्वयंसेवी संस्थालाई उनले आह्वान गरेकी छन् ।