भारतीय बजार गएका दुई नेपाली युवतीमाथि सिमावर्ती क्षेत्रमा बलात्कार

घोराही,१३ असार । नेपाल-भारतको सीतावर्ती क्षेत्रमा दुई नेपाली युवती बलात्कारमा परेका छन् । आइतबार बिहान करीव एघार बजे भारतको बलरामपुर जिल्लाको मनीपुर बजारमा खाद्यान्न किन्न गएका दाङको राजपुर गाउँपालिका- ६ खङ्ग्रा नाका निवासी दुई युवतीलाई भारतीय युवाहरुको समुहले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

दाङको खङ्ग्रा नाकाबाट मनिपुर बजारमा खाद्यान्न किन्न जाने क्रममा नेपाल–भारत सीमावर्ती क्षेत्रको दक्षिणतर्फको भारतीय जंगलमा युवाहरुको समुहले बलात्कार गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ । उहाका अनुसार प्रत्येक आइतबार मनिपुरमा हाटबजार लाग्ने भएकाले किनमेलका लागि ६ महिलाहरु जाने क्रममा घटना भएको थियो ।

´भारतीय बजार किनमेलका लागि पाँच जना युवती र एक जना महिला जाने क्रममा दुई युवतीमाथी करणी भएको जानकारी आएको छ´,प्रहरी नायव उपरीक्षक रिजालले भन्नुभयो,`घटनास्थल र बलात्कार गर्ने भारतीय युवा भएकाले भारतीय प्रहरीसंग समन्वय गरेर घटनाबारेमा अनुसन्धान भैरहेको छ ।’

नेपाल–भारत सीमावर्ती क्षेत्रको दशगजादेखि करिब चार किलोमिटरको भारतीय जंगलमा घटना भएको प्रहरी नायव उपरीक्षक रिजालले बताउनुभयो । उहाँका अनुसार उनीहरुसंगै गएका अन्य चार जनालाई धम्काउदै कुटपिट गर्नुका साथै सरसामान पनि लुटपाट गरिएको बताए छ ।

जिल्ला प्रहरी कार्यक्रम दाङका अनुसार भारतको हरैया थानाले उक्त घटनामा संलग्न पाँच जना मध्य चारजनालाई पक्राउ गरेर घटना बारे अनुसन्धान गरिरहेको छ ।