‘लाल यातायात’ सेवाले सार्वजनिकलाई धक्का

खेमराज रिजाल
तुलसीपुर, १२ असार । शुक्रवार तुलसीपुर विद्युत कार्यालय अघि एउटा कार रोकियो । साविक लुम्बिनी अञ्चल यातायात कार्यालयमा दर्ता भएको रातो नम्बर प्लेटको रातै कार चालकले बोलिरहेका थिए, ‘बुटवल ! बुटवल !! बुटवल !!! भाडा ५ सय ।’

ती बोलिरहेका व्यक्ति चालक मात्रै हुन वा मालिक हुन्, ठम्याउन सकिँदैनथ्यो । सार्वजनिक यातायात प्रालिका कर्मचारी आएर धपाएपछि मात्रै सो कार यात्रु नलिएरै घोराहीतर्फको यात्रामा लाग्यो । तुलसीपुरकै वीपी चोक र गुम्राहचोकमा पनि यस्तै रातो प्लेटका निजी कार, स्कर्पियो, बलेरो गाडीहरूले पनि, ‘नेपालगञ्ज ! नेपालगञ्ज !!’, भन्दै यात्रुहरू खोजिरहेका प्रशस्तै भेटिन्छन् । ती गाडीहरू उताबाट रिजर्भमा यात्रुहरू ल्याएर आएका हुन सक्छन्, त्यसैले उता फर्कँदा सार्वजनिक यातायातकै भाडामा उनीहरूले यात्रु फकाइरहेका देखिन्छन् ।

दाङबाट बाहिर जानका लागि मात्र होइन, नेपालगञ्जको पुष्पलाल चोकमा पनि यसरी नै दैनिकजसो यात्रुहरू खोजिरहेका निजी कार र स्कर्पियोहरू देखिन्छन् । उनीहरूले पनि यात्रुहरूलाई प्रतिव्यक्ति ५ सय रूपैयाँमा नेपालगञ्जबाट तुलसीपुरसम्म यात्रु बोकिरहेका छन् । केही स्कर्पियो मालिकले त पछिल्लो समयमा आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् नै यात्रु खोज्ने अभ्यास थालेका छन् ।

कोरोना भाइरसको संक्रमणताका चर्को भाडामा राजधानीसम्म पुग्ने अभ्यास थालेका ती निजी सवारीधनीहरूको लत अहिले सार्वजनिक बसका यात्रु खोस्नेमा बसेको छ । यसरी खुलेआम रातो प्लेटका कार, स्कर्पियोले यात्रु बोकिरहँदा यातायात क्षेत्रलाई समृद्ध बनाउने जिम्मा पाएका यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी तथा स्थानीय प्रशासन मौन बसेका देखिन्छन् । यसरी निर्वाध रूपमा चल्ने रातो प्लेटका सवारी साधन (लाल यातायात सेवा) ले सार्वजनिक यातायात व्यवसायीलाई ठूलो धक्का दिएको छ ।

ती निकायहरू मौन बस्दा यस्ता गाडी मालिकहरू सवारी बोक्न हौसिएका छन् । यसको धक्का सार्वजनिक यातायात व्यवसायीहरूलाई परेको छ । सार्वजनिक यातायात व्यवसायीहरूले जति विरोध गर्दा पनि यो प्रवृत्ति रोकिएको छैन । साना गाडी चढ्न चाहनेहरूका लागि पनि सार्वजनिक यातायात सेवा नभएको भने होइन ।

दाङकै यातायात व्यवसायीले वैधानिक रूपमा आफ्नो स्कर्पियोलाई कालो प्लेटको बनाएरै रूट वा रिजर्भमा सेवा दिइरहेका छन् । रातो प्लेटका सवारी साधनलाई यात्रु नबोक्न भन्दै यातायात व्यवसायीले राजमार्गको चोक–चोकमा अवरोध गर्नेसम्म पनि गरे तर रातो प्लेटका गाडीहरूले यात्रु चोर्ने काम भने रोकिएको छैन ।

यही प्रसङ्गमा यातायात व्यवसायी फेरि आक्रोशित भएका छन् । यो सन्दर्भमा दाङमा क्रियाशील त्रिसिद्धेश्वरी राप्ती सार्वजनिक यातायात प्रालि, अम्विकेश्वरी सार्वजनिक यातायात व्यवसायी प्रालि तथा तुलसीपुर टेक्सी तथा माइक्रो मिनीबस बस व्यवसायी प्रालिले सार्वजनिक रूपमा विज्ञप्ति जारी गर्दै यस्तो प्रवृत्तिलाई रोकाउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

त्रिसिद्धेश्वरी राप्ती सार्वजनिक यातायात प्रालिका प्रशासनिक सचिव मीनप्रकाश शर्मा (प्रकाश भट्ट), तुलसीपुर टेक्सी तथा मिनी माइक्रो बस व्यवसायी प्रालिका अध्यक्ष पवन बुढाथोकी तथा अम्विकेश्वरी यातायात प्रालिका सचिव घनश्याम बस्नेतले संयुक्त विज्ञप्ति जारी गरी रातो प्लेटका सवारीसाधनले सार्वजनिक रूपमा यात्रु नबोक्न आग्रह गरेका छन् ।

साथै यो काम नरोकिए कडा प्रतिवाद गर्ने उनीहरूले चेतावनी समेत दिएका छन् । ती प्रालिहरूले जारी गरेको विज्ञप्तिको बोधार्थ जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी तथा प्रादेशिक यातायात व्यवस्था कार्यालय तुलसीपुरलाई पनि दिइएको छ ।

रातो प्लेटका निजी स्कर्पियो तथा कारले मात्र होइन, अटोहरू पनि आफूले पाएको रूटपरमिटभन्दा बाहिर छाडा शैलीमा चल्दा यातायात व्यवसायी मारमा परेका छन् । बुटवल, नेपालगञ्जलगायतका सहरहरूमा अटोलाई राजमार्गमा निर्वाध रूपमा गुड्न बन्देज छ तर यहाँ त तुलसीपुर उपमहानगरपालिकाभित्र मात्रै चल्ने अनुमति पाएका अटोहरूले यात्रु बोकेर जिल्लाका कुना–कुनासम्म निर्वाध रूपमा कदिरहेका छन् ।

यात्रुहरूबाट चर्को भाडा लिएर अटोहरू चलिरहँदा यसलाई निगमन गर्ने कुनै निकाय छैन । अटो जहाँतहीँ गुडिदिँदा दुर्घटनाको जोखिम दिनहु बढिरहेको यातायात व्यवसायी पवन बुढाथोकीले बताएका छन् । अटोको सञ्चालन विधिलाई कार्यान्वयनमा ल्याउन उनले स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।

प्रादेशिक यातायात कार्यालय राप्तीले भने स्थानीय तहले सिफारिस गरेवमोजिम नै रूटपरमिट दिने जनाएको छ । कुन रूटमा चलिरहेको छ, नियमसम्मत चलेको छ÷छैन भनेर ट्राफिक प्रहरीले निगमन गर्ने पनि प्रादेशिक यातायात व्यवस्था कार्यालय राप्तीका प्रमुख प्रदीप खनालले बताए । रूटपरमिटका लागि स्थानीय पालिकाले गरेको सिफारिसका आधारमा हुने पनि उनले गोरक्षलाई बताएका छन् ।

ट्राफिकले नियमसम्मत सञ्चालन नभएकालाई जरिमाना काट्ने हो । हामीले यो विषयमा चाहेर पनि जनशक्तिको अभावमा नियमित अनुगमन गर्न सकिरहेका छैनौँ’, यातायात कार्यालयका प्रमुख खनालले भने । ट्राफिक प्रहरीले भने न अटोको रूटपरमिटमा विशेष ध्यान दिने गरेको छ न त रातो प्लेटका सवारी साधनहरूले यात्रु बोकिरहँदा कारबाही गर्न सकेको छ ।

कारबाहीका लागि निर्देशन दिइसकेका छौँ : प्रजिअ रेग्मी

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एउटा जिल्ला यातायात अनुगमन समिति छ तर जिल्ला प्रशासन कार्यालयबाट यसको नियमित अनुगमन हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पछिल्लो समयमा रातो प्लेटका सवारी साधनले यात्रु बोकिरहेको गुनासो आएपछि त्यसलाई रोक्न सम्बन्धित सबै सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताएका छन् ।

‘रातो प्लेटका स्कर्पियो र कारजस्ता सवारी साधनले सार्वजनिक यात्रुहरू बोक्न मिल्दैन, यसलाई तत्काल रोक्न हामीले जिल्ला ट्राफिकलाई निर्देशन दिइसकेका छौँ’, प्रमुख जिल्ला अधिकारी रेग्मीले भने । समस्या आएमा स्थलगत अनुगमन गरी कारबाही गरिने प्रजिअ रेग्मीको अभिव्यक्ति थियो ।