दिदीघरमा तुलसी अस्पताल

  •   
  •  

गोरक्ष समाचारदाता
तुलसीपुर, १२ असार । शनिवार तुलसीपुर–६ डुम्रीगाउँ स्थित दिदीघरमा अचानक तुलसी अस्पतालको टिम पुग्दा दिदीघरका सञ्चालिका स्यानी चौधरी मख्ख थिइन् । तुलसी अस्पतालका सञ्चालक डा किशोर खत्रीको नेतृत्वमा १० जना स्वास्थ्यकर्मीको टोली सञ्चालकको आग्रहमा त्यहाँ पुगेको होइन, एसआरएम फाउण्डेशनको आग्रहमा दिदीघरमा आश्रित बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षणका लागि त्यहाँ पुगेको थियो ।

एसआरएम अर्थात तुलसीपुर स्थित तुलसी बोर्डिङमा अध्ययनरत विद्यार्थीहरूको एउटा समूहले त्यही स्कूलमा अध्ययनकै क्रममा निधन भएका आफ्ना स्वर्गीय मित्र शिवराज डाँगीको स्मृतिमा एसआरएम फाउण्डेशन बनाएको छ । फाउण्डेशनले यस अघि पनि दिदीघरमा पब्लिक लाइब्रेरी समेत बनाइदिएको छ ।

कुनै पनि औपचारिकताबिनै फाउण्डेशनको आयोजना तथा तुलसी अस्पतालको सहकार्यमा त्यहाँ स्वास्थ्य शिविर मात्रै भएन, दिदीघरमा आश्रित अनाथ बालबालिकाका लागि अस्पताल परिवारले बेबी ड्रिङ्क्स, चकलेट तथा विभिन्न खेल सामग्रीहरू समेत उपलब्ध गराएको थियो । बालबालिकाको स्वास्थ्य परीक्षण अघि आयोजित छोटो अनौपचारिक कार्यक्रममा दिदीघरका सञ्चालक तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले आफूले सानो छँदा भोगेका विभिन्न समस्याका कारण अहिले आएर यो संस्था चलाउन थालेको अभिव्यक्ति दिइन् ।

साविक फूलबारीको तुइखोलामा जन्मेकी चौधरी व्याकवार्ड सोसाइटी एजुकेशन सोसाइटी बेस, दिदीघर हुँदै जनप्रतिनिधिसम्मको भूमिकामा छिन् । ‘गास, बास र कपासको समस्याले कुनै पनि नागरिकले मर्नु नपरोस् र शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका वञ्चित हुनु नपरोस् भनेर मैले दिदीघर संस्था खोल्न पुगेँ, अहिले २५ जना अनाथ बालबालिकाको पालन–पोषणसँगै शिक्षा–दीक्षाको पनि व्यवस्था मिलाएकी छुँ’, सञ्चालिका स्यानी चौधरीले भनिन् ।

दिदीघरमा अहिले ४ वर्षदेखि १३ वर्ष उमेर समूहका कम्तिमा २ दर्जनजति अनाथ बालबालिका आश्रित छन् । कतिपय बालबालिकाको त अझै पनि घरठेगाना पत्ता लगाउन नसकिएको स्यानीले बताइन् । स्थानी चौधरीको एकल प्रयाससँगै विभिन्न संघसंस्थाको सहयोगले संस्था चल्दै आएको छ ।

निःशुल्क स्वास्थ्य शिविर आफ्नो अस्पतालको सामाजिक उत्तरदायित्वअन्तर्गत् आयोजना गरिएको तुलसी अस्पतालका सञ्चालक बालरोग विशेषज्ञ डा किशोर खत्रीले बताएका छन् । स्वास्थ्य परीक्षण अघि आयोजित कार्यक्रममा डा खत्रीले आफू पनि दिदीघरको सदस्य सरह भएर बालबालिकाको निःशुल्क स्वास्थ्योपचारमा सहयोग गर्ने बताए ।

आजका बालबालिकाले नै भविष्यमा देश चलाउने दनशक्ति भएकाले बालबालिकाको स्वास्थ्य र शिक्षामा समाजका सबै तह र तप्काबाट सहयोग हुनुपर्ने र त्यसरी सहयोग गर्न आफू तयार रहेको डा खत्रीको भनाइ थियो । शिविरमा डा खत्री सहित डा सुरेश थापा, डा निकितालगायत स्टाफ नर्सहरूले त्यहाँ आश्रित बालबालिकाको स्वास्थ्योपचार गरिरहेका छन् । तुलसीपुरमा सो संस्था विसं २०६४ सालदेखि नै सुरु भएको भए पनि विधिवत रूपमा विसं २०६५ सालदेखि सक्रियतामका साथ काम थालेको थियो ।