खगराज न्यौपाने
श्रीयुत भाइ रमेश,
शुभाशीर्वाद
यहाँ नेपालमा हामी सबै अर्धआराम छौ । त्यहाँ अमेरिकामा अध्ययनार्थ गएका तिमी र तिम्रा साथीहरुको सुस्वास्थ्य र सफलताको कामना गर्दछु । यस पटक तिमीले पठाएको पत्र समयमै प्राप्त भयो । यसपटक तिमीले शिक्षा, स्वास्थ्य, राजनीति आदि विविध विषयमा नेपालमा के भइरहेको छ ? जानकारी पाउ भनी पत्रमा चाहना राखेका रहेछौँ, खुसी लाग्यो । टाढा बसेर पनि देश र देशवासीको विषयमा जानकारी राखेकोमा तिमीलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।
भाइ रमेश, शिक्षाले मानिसमा चेतना ल्याउछ । चेतनाको स्तरको आधारमा विकास निर्माणका कामहरु हुने गर्छन् । हाम्रो देशमा विद्यालय पठन–पाठन सुरु भइसक्दा पनि विद्यार्थीहरुले पाठ्य पुस्तकहरु पाउन सकेका छैनन् । विना किताब पढाइ कसरी हुन्छ ? विना किताब भएको पढाइ कस्तो होला ? यो सोचनीय विषय रहेको छ । यस विषयमा सरकार भन्छ स्थानीय तहको निर्वाचनका लागि मनपत्र छपाउन परेकाले पाठ्यपुस्तक समयमा छपाउन सकिएन, त्यसैले ढिला भएको हो ।
अब हामीले पाठ्यपुस्तकहरु सबै ठाउँमा, विद्यालयहरुमा पठाउँछौं । चुनावको कारण देखाएर समयमा किताब विद्यार्थीहरुलाई उपलब्ध नगराउने अनि विद्यार्थीहरुले कसरी पढेर राम्रो अंक ल्याउँछन् ? सरकारकै लापरबाहीका कारण पढाइको स्तर खस्कँदै गइरहेको छ । जानकारी भन्छन्, सबै कुरा केन्द्रमै राख्ने, विकेन्द्रीकरण नगर्ने अनि कसरी काम हुन्छ ? सातवटै प्रदेशलाई आ–आफ्नो प्रदेशमा चाहिने् पाठ्यपुस्तकहरु छापेर वितरण गर्ने व्यवस्था गरेको भए, समयमै पाठ्यपुस्तकहरु विद्यार्थीले पाउने थिए र पढाइ पनि व्यवस्थित हुने थियो । आगामी दिनमा सरकारले कमिशनको लोभमा जनक शिक्षा सामग्रीबाट मात्र किताब छाप्ने कुरा हटाएर प्रदश प्रदेशलाई यो जिम्मेवारी दिन सकेमा राम्रो हुने देखिन्छ ।
भाइ रमेश, गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार सरकारले नागरिकलाई उपलब्ध गराउनुपर्छ । तर हाम्रो यहाँ सरकारले जेष्ठ नागरिकहरुलाई यातायातमा सुविधा दिने भन्छ । कानुनमा टिकट दरभाउमा छुटको व्यवस्था गरेको छ तर यातायातमा कतै पनि त्यो सुविधा जेष्ठ नागरिकहरुले पाएका छैनन् । सरकारको त्यो कानुन वा नीति–नियम फाइलमा सीमित छ । व्यवहारमा देखिँदैन ।
लागू गर्न नसके किन कानुन बनाउनु ? ६० वर्षमाथिका नागरिकहरुलाई सरकारले जेष्ठताको प्रमाणपत्र दिन्छ तर भत्ता दिँदैन । भत्ता लिनका लागि ७० वर्ष पुग्नुपथ्र्यो, हालको सरकारले ६८ वर्षकालाई भत्ता दिने भनेको छ । जेष्ठ नागरिक भएर पनि भत्ता जेष्ठले पाउँदैनन् । पेन्सन पाउनेृहरुले सेवा गरेवापत पेन्सन पाउँछन् । तर तिनीहरुले बृद्धभत्ता हालसम्म पाएका छैनन् । जब कि बृद्धभत्ता पेन्सनवालाहरुले पनि पाउनुपर्ने हो । सरकारले यसरी जनतालाई ठगिरहेको छ ।
भाइ रमेश, नेपालमा कसैको सरकार पूरा टिक्दैन । फेलबदल भइरहन्छ । भूमिहीनलाई लालपूर्जा दिने भन्छन्, आवेदन लिन्छन् । सिफारिस गरे्वापत जनताबाट दस्तुर लिन्छन् । सरकार बदलिन्छ कार्यक्रम सेलाउँछ । फेरि अर्को सरकार आउँछ । फेरि भूमिहीनबाट आवेदन लिन्छन् । स्थानीय सरकारले सिफारिस गरेवापत पुनः दस्तुर लिन्छन् । विचरा भूमिहीन दस्तुर तिरिरहन्छन् । तर जमिन पाउँदैनन् ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको छ । पाँचजनाको परिवारले बर्ष दिनमा रु. ३५०० तिरे पुग्छ । अरु सबै उपचार खर्च सरकारले दिने भन्छ । जब मानिस बिरामी भई अस्पताल पुग्छन्, औषधि अस्पतालमा छैन, बाहिर किन्नोस् भन्छन् । २÷४ थरिका औषधि मात्र दिन्छन् । यसमा पनि सरकार इमान्दार छैन । भाइ रमेश, रोजगारका कुरा त्यस्तै छ । नेताका आफन्तहरुका लागि रोजगार छ । बाँकी जनता भीडमा नारा लगाउने मात्र हुन् । यिनले रोजगारी पाउँदैनन् । त्यसैले हामीहरु अर्धआराममा छौ भनेको छु । यिनै कुराहरु लेखेर मैले यो पत्रको विट मार्न चाहन्छु ।
तिम्रो माया गर्ने दाजु
खगराज न्यौपाने