‘प्राविधिक शिक्षामा निजी क्षेत्रको अहम् भूमिका’

  •   
  •  

राप्ती इन्जिनियरिङमा स्वागत तथा अभिमुखीकरण
गोरक्ष समाचारदाता
दाङ, १० असार । राप्ती इन्जिनियरिङ कलेजले नवआगन्तुक विद्यार्थीहरुलाइ स्वागत तथा अभिमुखीकरण कार्यक्रम बिहीवार आयोजना गरेको छ । बिसिए दोस्रो बर्ष तथा विई सिभिल प्रथम बर्षका विद्यार्थीहरुले स्वागत तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेका हुन् ।

स्वागत तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका संयोजक नित्यानन्द शर्माले मुलुकमा प्राविधिक शिक्षाको क्षेत्रमा निजि क्षेत्रको अहम् भूमिका रहेको बताएका छन् । प्रमुख अतिथि शर्माले प्राविधिक शिक्षाको माग पछिल्लो समयमा अत्यधिक बढिरहेकाले त्यसलाई सम्बोधन गर्न सरकार एक्लैले नसक्ने भन्दै प्राविधिक शिक्षामा लगानी बढाउन पनि निजी क्षेत्रलाई आग्रह गरे ।

‘हामीलाई बिक्ने शिक्षा चाहिएको छ, त्यो प्राविधिक शिक्षा हो, त्यस अर्थमा प्राविधिक शिक्षालाई अब गाउँवस्तीसम्मै लैजान आवश्यक छ’, अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि शर्माले भने । मुलुकभरी सरकारी तीनवटा मात्रै प्राविधिक शिक्षालय भएको अवस्थामा करिब डेढ दशकअघि नै राप्ती इन्जिनियरिङ कलेजले प्राविधिक शिक्षाको आवश्यकता बोध गरेको भन्दै प्रमुख अतिथि शर्माले प्राविधिक शिक्षाका हरेक विधामा अब स्थानीय तहमै पठन–पाठनको व्यवस्थापन हुनुपर्ने बताए ।

मुलुकलाई अहिले वडा तहदेखि मन्त्रालयसम्मै प्राविधिक नभई नहुने अवस्था रहेको स्मरण गर्दै उनले अब हरेक सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पठन–पाठन सुरु गर्नका लागि आफूले सम्बन्धित क्षेत्रमा समन्वयकारी भूमिका निर्वाह गर्ने पनि बताए । आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राप्ती इन्जिनियरिङ कलेजका प्रमुख कार्यकारी अधिकृत डा. शैलेन्द्र गिरीले आफूहरुले यहाँका निम्न तथा मध्यमवर्गीय समुदायका विद्यार्थीलाई प्राविधिक शिक्षा यही नै दिन सकिन्छ भन्ने मान्यताका साथ १५ बर्षअघि देखेको प्राविधिक शिक्षाको सपना अहिले आएर पूरा हुँदै गरेको स्मरण गरे ।

साथै उनले अब लर्निङ कल्चरलाई बदलेर अनुसन्धानमा आधारित शिक्षा पद्धतिको विकास गर्न आफूहरु प्रतिबद्ध रहेको बताए । ‘हाम्रा उत्पादनहरु मुलुकभर फैलिइसकेका छन्, लुम्बिनी प्रदेशमा कम्तीमा पनि ९० प्रतिशत प्राविधिक जनशक्ति हाम्रै उत्पादनले थेगेको छ’, डा. गिरीले भने । साथै अब शिक्षालाई सामाजिक रुपान्तरणको अभियानमा जोड्न आफूहरु लागेको बताउँदै राप्ती इन्जिनियरिङबाट प्राविधिक शिक्षा लिएका विद्यार्थीहरुले यहाँका सामुदायिक विद्यालयहरुमा कम्तीमा एक साता निःशुल्करुपमा अध्यापन गराउने पनि अभिव्यक्ति दिएका छन् ।

कार्यक्रममा कलेजका निर्देशक मधुसूदन बैद्यले देश निर्माणमा राप्ती इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको महत्वपूर्ण योगदान हुनुपर्ने भन्दै आफू दक्ष बन्न विद्यार्थीहरुलाई आग्रह गरेका थिए । सो अवसरमा बिसिए प्रमुख विश्वबन्धु थापा, बिइ सिभिलका प्रमुख बाबुराम जोशीलगायतले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

राप्ती इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक भीमसेन गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्याम्पसका विद्यार्थीद्वय सत्यसिंह रोकाय र गौरी चौधरीले गरेका थिए ।
सो अवसरमा राप्ती इन्जिनियरिङ कलेजले नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, उपप्रमुख चेतना चौधरी, जिल्ला समन्वय समितिका सदस्य जुनुकुमारी बुढामगर तथा कल्पना सेर्पाइलीलाई स्वागत एवं सम्मान गरेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृृतिक प्रस्तुतिहरु देखाएका थिए । साथै अभिमुखीकरण कार्यक्रम पनि जारी रहेको छ । दुई दिनसम्म चल्ने अभिमुखीकरण तालिममा डा. शैलेन्द्र गिरी, नारायण नेपाल, योग प्रशिक्षक रविन्द्र बस्नेत तथा इन्जिनियर प्रज्वल आचार्यले प्रशिक्षण दिने बताइएको छ ।