तुलसीपुर, १० असार । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले सहकारीलाई उत्पादनसँग जोड्न आग्रह गरेका छन् ।
बिजौरी साना किसान कृषि सहकारी संस्थाले आयोजना गरेको आफ्ना गतिविधि बारेमा जानकारी दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले महिलाहरुलाई सहकारीमार्फत उत्पादनका कार्यमा अघि बढ्न आग्रह गरे ।
सहकारी संस्थाका अध्यक्ष चित्रा धितालको अध्यक्षता एवं नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । नगरप्रमुख खड्काले महिला सहकारीलाई अर्थोपार्जनको बाटोमा अघि बढे सहयोग गर्ने बताए । उपप्रमुख स्यानी चौधरीले सहकारीमार्फत समाजमा उत्पादन र बचतको संस्कृतिलाई अघि बढाउन सकिने बताए ।
आर्थिक समितिका संयोजक माधव वलीले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै उत्पादनमा अघि बढे पालिकाबाट सहयोग गर्न सकिने बताए । कार्यक्रममा वडा नं. १९ का कार्यवाहक अध्यक्ष पूर्णबहादुर बुढाथोकीलगायतका वक्ताहरुले बोलेका थिए ।
२०७२ सालदेखि सुरु भएको सहकारी संस्थामा साविक बिजौरी गाविसका १ सय ५२ वटा समूहका ६ सय ३ घरधुरीका ७ सय ९० सदस्यहरु रहेका छन् । सहकारी संस्थाले ५ करोड २३ लाख लगानी गरेको छ । आर्थिक वर्ष २०७८÷७९मा २४ लाख ८३ हजार नाफा गरेको छ । कार्यक्रममा सहकारी संस्थाका सदस्य ज्वाला पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन सुबोधराज रेग्मीले गरेका थिए ।