जेसीज सप्ताह २०२२ : घोराहीमा ट्राफिक सचेतना

  •   
  •  

दाङ, ८ असार । दाङ महिला जेसीजले जेसीज सप्ताह २०२२ को पाँचौं दिन आज सवारी चालक र यात्रुहरुलाई ट्राफिक सचेतना प्रदान गरेको छ । जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव उपरीक्षक रिजालले बढ्दो सवारी दुर्घटना कम गर्नका लागि सचेतना आवश्यक रहेको बताएका थिए । उनले बढ्दो सवारी चापमा दुर्घटना स्वाभाविक रुपमा बढिरहेकाले सडक संस्कार स्थापित गर्न सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए । मानिसलाई सचेतसँगै जिम्मेवार बनाउन सचेतनामुलक कार्यक्रमहरु निरन्तर रुपमा हुनुपर्नेमा जोड दिएका थ्एि ।

कार्यक्रमको प्रशिक्षकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक झबिन्द्र परियार रहेका थिए । उनले बढ्दो शहरीकरणसँगै सवारी दुर्घटना बढि रहेकाले मानवीय तथा भौतिक क्षति कम गर्न र सभ्य समाज निर्माणका लागि ट्राफिक सचेतना आवश्यक रहेको बताए । सडक अनुशासन पालना पहिलो प्राथमिकतामा राख्न सवारी चालक र यात्रुहरुलाई प्रहरी निरिक्षक परियारले आग्रह गरेका थिए ।

निर्माणाधीन सडकका कारण दुर्घटनाको जोखिम धेरै बढेकाले त्यसतर्फ सवैले ध्यानदिनुपर्ने उनको भनाई थियो । उनले पैदल यात्रु दायाँ लेनबाट हिड्नुपर्ने, सवारी चालकले सडकको अवस्था, सवारी साधनमा यात्रुको चाप, समय सबै ख्याल गरेर सवारी चलाउनुपर्नेलगायत कुरामा ख्याल गर्न आग्रह गरेका थिए । जीवन रहेमात्रै घर परिवार आफन्त छन्, जीवननै नरहे सबै सकिन्छ भन्ने गहन सोँच राखेर आफु र अरुलाई बचाउँदै गन्तव्यमा पुग्न चालकहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा त्रिभुवननगर जेसीजका कार्यवाहक अध्यक्ष महेश गुप्ता, दाङ महिला जेसीजकी पूर्व अध्यक्ष ममता बिष्टलगायतले बोलेका थिए । ६० जना भन्दाबढी सहभागी कार्यक्रममा जेसीज सप्ताहकी मुल संयोजक बसन्ती सुवेदीले सप्ताहव्यापी कार्यक्रमका बारेमा जानकारी गराएकी थिइन ।

कार्यक्रम संयोजक दीपा पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा आस्थापाठ सहसचिव संगिता रोकायले गराएकी थिइन । कार्यक्रमको सहजीकरण महासचिव नारायणी भण्डारीले गरेकी थिइन । महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विहिवार घोराही १५ भरतपुर खेलमैदानमा स्लो स्कुटी रेस कार्यक्रम गर्दै छ ।