तुलसीपुर, ७ असार । तुलसीपुर उपमहानगरपालिकाले नगरका नागरिकलाई उज्यालो प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
आँखा स्वास्थ्य शिक्षा तथा उज्यालो अभियानमा सार्वजनिक प्रतिबद्धता जनाएको हो । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत राप्ती आँखा अस्पतालले तुलसीपुरमा आयोजना गरेको आँखा स्वास्थ्य शिक्षा तथा उज्यालो अभियानमा जनप्रतिनिधिको भूमिका विषयक छलफल कार्यक्रममा नेपालको संविधान र नेपाल सरकारको स्वास्थ्य नीतिबमोजिम आफ्नो पालिकाका सबै नागरिकलाई सहज, सुलभ एवं स्तरीय स्वास्थ्य सेवाका लागि जनप्रतिनिधिहरुले सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।
एनएबीपी नर्वेको आर्थिक सहयोगमा भएको कार्यक्रममा पालिकाका प्रमुख, उपप्रमुख एवं वडाध्यक्षहरुले उपमहानगरपालिकाका सबै आँखा रोगीहरुको सहज स्वास्थ्य उपचारका लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षतामा एवं नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्य एवं उपप्रमुख स्यानी चौधरीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख खड्काले आँखा स्वास्थ्य सेवामा सहज पहुँच र सबैलाई आँखा उपचार सेवा प्रदान गर्न आफूहरुले सक्दो सहयोग गर्ने बताए । उनले तुलसीपुरमा रहेको राप्ती आँखा अस्पताललाई लुम्बिनी तथा कर्णाली प्रदेशका जनताले सबै सेवा यहीबाट पाउने गरी यसको विकास गर्नुपर्ने बताए । उनले तुलसीपुर उपमहानगरपालिकाले विगत ५ बर्षदेखि उज्यालो अभियान कार्यक्रम सञ्चालन गरेको भन्दै त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
‘राप्ती आँखा अस्पतालालाई नमुना अस्पताल बनाउनुपर्छ, त्यसमा हामीहरुले सबै किसिमको सहयोग गर्नेछौं’, उनले भने । खड्काले आँखाजस्तो संवेदनशील अंगको उपचार सेवाका लागि आफूहरु पनि साझेदारी गर्ने बताए । कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले अस्पतालले सर्वसुलभ र गुणस्तरीय सेवा दिएको भन्दै त्यसको सिको अरुले गर्नुपर्ने बताइन् । उनले अस्पतालको विकासका लागि सबैको छलफल र सल्लाहबाट आवश्यक सहयोग गर्ने बताइन् ।
जनप्रतिनिधिहरुले निःशुल्क मोतीविन्दुको अप्रेशनमा यसअघि पनि पालिकाले अहम् भूमिका निर्वाह गरेको उल्लेख गर्दै त्यसलाई अझै प्रभावकारी ढंगले अघि बढाउने पनि विश्वास व्यक्त गरे । कार्यक्रममा नगर प्रवक्ता माधव वली, वडा नं. २ का वडाध्यक्ष भीमबहादुर योगी, वडा नं. ६ का अध्यक्ष दुजमान भण्डारी, ८ का अध्यक्ष धर्मराज वली, १० का अध्यक्ष यमराज केसी, वडा नं. ११ का वडाध्यक्ष मानबहादुर रावत, १३ का अध्यक्ष मोहन पौडेल, कार्यपालिका सदस्य यमुना परियारलगायतले यस क्षेत्रको गहनाको रुपमा रहेको अस्पताललाई सहयोग गर्नु सबैको दायित्व रहेको भन्दै अस्पतालले दिँदै आएको सेवा प्रभावकारी भएको बताए ।
संघका सचिव सुरेन्द्रबहादुर खड्काको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा अस्पतालका प्रमुख प्रशासक शम्शेर थापालले तुलसीपुर उपमहानगरपालिकासहित नेपालभरकै आँखा रोगीहरुको तथ्यांक र नेत्रज्योति संघले आँखा स्वास्थ्यका सन्दर्भमा खेल्दै आएको भूमिकाको तथ्यांक प्रस्तुत गरेका थिए ।
सोही अवसरमा राप्ती आँखा अस्पताल बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले मुख्यगरी मानिसका आँखामा लाग्ने रोग, लक्षण र ती समस्याका उपचारात्मक अभ्यासका विषयमा जानकारी गराएका थिए । पालिकाभरका सबै जनप्रतिनिधिहरुको उपस्थितिमा नेत्र सहायक गौतमले मोतिविन्दु, जलविन्दु, दृष्टि दोष, ट्रकोमा, आँखामा फुलो पर्ने, आँखामा हुने एलर्जी, आँखामा मासु पलाउनेलगायतका समस्यामा उपचार विधिका विषयमा जानकारी गराएका थिए ।