नेताहरु चिल आयो भन्दै कुखुरा चोर्दै

मधुसूदन सुवेदी
यतिबेला नेपालका राष्ट्रिय तहका नेताहरु जनतालाई चिल आयो, चिल आयो, चिल आयो भनेर कराउँदै हिँड्ने र जनतालाई आकाशमा हेर्न पठाउने र आफूले भुइँमा खेलिरहेका कुरालाई चोरेर लैजाने वा बोकेर दौड्ने काम गर्दैछन् । नेताले चिल आयो भन्नु उनीहरुको महामूर्खता र जनताले आकाशमा हेरिरहनु ठूलो कमजोरी हो ।

चिल आकाशमा उडेको छ वा छैन थाहा नपाउने तर आकाशमा चिल नै उड्छ भन्ने भान हुने, आकाशमा सबैको नजर जाने र केही क्षणपछि भुइँमा हेर्दा कुखुरा नै गायब । कस्तो अचम्म ? आकाशमा जनताले हेरेकै छन् । यो रोगले जनता यतिबेला आक्रान्त छन् । अर्थात् भन्न खोजेको कुरा के हो भने जब यो देशका सत्ता पक्ष वा विपक्ष जो होस् आफ्नो स्वार्थपूर्तिका लागि जनताका लागि घात हुने काम गरेर कुनै कुरा पारित गर्दैछन् वा छिमेकी मुलुकसँग कुनै सन्धि सम्झौता गर्दैछन् वा कुनै हातहितयार ओसार–पसारमा लाग्दैछन् वा विदेशी दूतसँगको भेटवार्ता गर्दैछन् ।

देशका जनताका नाममा भित्रभित्रै सेटिङ चलाएर कुनै काम गर्दैछन् भने वा दल र पार्टीलाई ठूलो फाइदा हुने काम गर्दैछन् भने त्यो बेलामा यी सबै नेताले आकाश खस्ने गरी र गला फाट्ने गरी नयाँ कुरा उचालेकै हुन्छन् । यो लामो समयदेखिको चलाखीपूर्ण खेल हो । विगतमा एमाले पार्टी फोर्नु, यिनी सरकार ढाल्नु थियो वा नयाँ समीकरण गर्नु थियो । त्यसभित्र थुप्रै काम थिए, थुप्रै सेटिङ थिए ।

थुप्रै अनैतिक कर्म थिए । ती सबैलाई जनताको माझबाट चोर्नलाई, खोस्नलाई या त्यस्ता हर्कतपूर्ण कार्यादेश र जनतालाई ढाकछोप गर्नका लागि प्रतिपक्षले वा सत्तापक्षले संसद् विघटनको कुरालाई उचाल्यो र एमसीसी भन्ने जन्तुलाई भित्र्याएर जनताको माझमा तेस्र्यायो । जनताले संसद विघटन भएको र एमसीसी पारित हुने कुराको भ्रम फैलाएर सत्तापक्ष र प्रतिपक्षले आफ्नो दुनो सोझो बनायो । त्यो बेला एमसीसी पनि केही थिएन ।

संसद् विघटन पनि केही थिएन । त्यो केवल माछा मार्नको लागि पानी धमिलो पारेको खेलमात्र थियो । एमसीसीलाई हल्लाको महल बनाएर सत्तापक्ष र प्रतिपक्षले कति स्वार्थ लुटे भन्ने कुराको पोल खुल्दै जाला । त्यो एमसीसीको चक्कर चलाएर विश्राम लिइरहेको बेला सत्तापक्ष र प्रतिपक्षलाई अर्को खेल खुल्नुपर्ने बेला भयो । एकातिर बजेटमाथिको शंका निवारण गर्नु र अर्कोतिर मन्त्रीमण्डलको विवादलाई साम्य पार्नु, एकातिर प्रतिपक्षलाई गठबन्धनमा जो हुनु अर्कोतिर सत्तापक्षलाई मन्त्रीहरुको अनुहार बदल्नु ।

एकातिर प्रतिपक्षलाई संसदलाई घर, बाटो, चोक, गल्लती, होटल, महल र दरबारमा बोलाएर फकाउनु अर्कोतर्फ सत्तापक्षलाई सबै गठबन्धनलाई जोगाउनु । अहिले चरम महंगीलाई पचाउनु, अहिले मलको अभावलाई नसुन्ने बनाउनु, अहिलेको मूल्यवृद्धिलाई फिर्ता लिनुपर्ने नगराउनु र अहिलेको अर्थमन्त्रीको कमजोरीलाई ढाकछोप गर्नु यति धेरै काम गर्नलाई त फेरि पनि देश र जनताबाट त ओझेलमा पर्नैप¥यो ।

यो सबैलाई ढाक्ने, छोप्ने र पुर्ने गर्नुप¥यो । यो काम गरेर नसक्दासम्म देशलाई र जनतालाई के भन्ने त ? एउटा गतिलो मसला त चाहियो । त्यही मसलाको रुपमा फेरि एसपीपी भन्ने आयो । यो एसपीपी पनि केही होइन । यो केवल चिल आयो, चिल आयो भनेको मात्रै हो । बाँकी चल्ला चोर्ने काम त यी सत्तापक्ष र प्रतिपक्षको नै हो । के हो एसपीपी ? जाल पनि कति बुन्न जानेको ? लाज लाग्दैन ? यो भन्या छ, त्यो भन्या छ, ऊ भन्या छ, भित्रभित्रै अर्कै काम ग¥या छ ।

जनता आखिर को हुन् ? किन यसरी जनतालाई मूर्ख बनाएको ? अहिले सिजन के हो ? अहिले मौसम के हो ? बजेटले कृषकलाई ठूलै मालिक बनाउँछ भनेको छ भने यो बेला सबैले मिलेर मल भित्र्याउने, सबै किसानको घरघरमा मल झरे–नझरेको बुझ्ने, बीउ–बिजनको जोहो गरी कृषकहरुलाई धानखेतीको प्रशिक्षण दिने ।

धानबालीमा लाग्ने रोगको र त्यसको रोकथामको अग्रिम जानकारी गराउने । कृषि औजारको बिक्री वितरणमा सहजीकरण गर्ने । कृषकले प्रयोग गर्ने बीउ–बिजन गुणस्तर छ कि छैन ? त्यो जाँचबुझ गर्ने । हिमाल, पहाड, तराईमा लगाउने धानबालीको बर्गीकरण गर्ने, त्यसको जानकारी गराउने । यतिबेला सारा नेताहरु किसानको खेतबारीमा जानु पर्दैन ? नेताहरुले पनि खाने अन्न होइन ? कि उनीहरुले सुन, चाँदी हिरा–मोती खान्छन् र ? यदि अन्न खान्छन् भने यतिबेला मकै गोडमेल गर्ने बेला भएको छ, त्यो बेला पनि किसानलाई मल नै चाहिन्छ ।

यतिबेला धानखेतीका लागि कतिपय ठाउँमा खेत रोपिँदैछन् भने कतिपय ठाउँमा ब्याड राख्दैछन् । त्यसका लागि पनि मल नै चाहिन्छ । कृषिमा क्रान्ति गर्न चाहेका नेताहरु जनताको खेतबारीमा प्रवेश गर्ने हो कि होइन ? आज बेला के हो यो ? मुठी छरेर मुरी बनाउने सुवर्ण बेला हो । यस्तो बेलामा एसपीपीजस्तो घिनलाग्दो कुरा गरेर जनता ढाँट्न पाइन्छ ? एसपीपी भनेर जनताको ध्यान मोड्ने आफूले के काम गर्ने लाज नभएका नेताहरुलाई जनताको खेतबारी प्यारो कि अमेरिकाको एसपीपी प्यारो ? बृद्धि आउँछ कहिले ?