दाङ महिला जेसीजद्वारा रक्तदान

दाङ, ६ असार । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार घोराहीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जेसीजलको आयोजना था रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा जेसीजले रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रम दाङ महिला जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा रक्त सञ्चार केन्द्र घोराही प्रमुख दिलिप न्यौपानेको प्रमुख आतिथ्य एवं लेखक संघ दाङकी कोषाध्यक्ष सन्ध्या रेग्मीको विशिष्ट आतिथ्यमा भएको थियो । कार्यक्रममा १४ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले रक्तदान कार्यक्रमले समाजमा ठूलो योगदान दिने हुँदा जेसीजले मानव सेवाका लागि गरेको कार्यक्रम प्रशंसनीय रहेको बताए । स्वस्थ व्यक्तिले आवधिक रुपमा रक्तदान गर्न सक्ने हुँदा खेर जाने रगत दान गरेर बिरामीलाई जीवनदान गर्ने महान अभियानमा सरिक हुन पनि उनले सबैमा आग्रह गरे ।

जिल्लामा रगत अभाव पूर्ति गर्न तथा सामाजिक उत्तरदायित्व पूरा गर्न जेसीजले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ । सामाजिक जागरणसँगै व्यक्तित्व र नेतृत्व विकासमा विशेष प्राथमिकता राख्दै काम गर्दै आएको जेसीजले विगतदेखि नै विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको जेसीजकी संस्थापक अध्यक्ष निर्मला गौतमले बताइन् ।

कार्यक्रममा त्रिभुवननगर जेसीजका कार्यवाहक अध्यक्ष महेश गुप्ता, महिला जेसीजकी पूर्व अध्यक्ष विमला शर्मालगायतले भनाइ राखेका थिए । कार्यक्रम संयोजक भीमा डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मी घमालले आस्थापाठ गराएकी थिइन् । सहभागी सबैलाई संस्थाकी कानूनी सल्लाहकार अनिता ढकालले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमको बारेमा मुल संयोजक बसन्ती सुवेदीले जानकारी गराएकी थिइन । कार्यक्रमको सहजीकरण महासचिव नारायणी भण्डारीले गरेकी थिइन् । जेसीज सप्ताहअन्तर्गत मंगलबार गोरक्ष रत्ननाथ मन्दिर चौघेरामा रहेका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गर्ने कार्यक्रम  रहेको छ ।