के.पी. सुवेदी
नेकपाको झण्डै दुईतिहाइ बहुमतले सत्तामा पुगेको केपी वली नेतृत्वको सरकार आन्तरिक कलहको विग्रहमा परेर त्यसको निकास खोज्ने वहानामा असंवैधानिक र असंसदीय कदम बढाउन खोजेपछि बिगठन भयो । पचास वर्ष अकण्टक सत्ता चलाउने र मुलुकलाई समृद्ध बनाएर विश्व कम्युनिस्ट आन्दोलनको सफल नेतृत्वकर्ता मुलुकको परिचय दिने घोषणासहित कांग्रेसलाई किनारा लगाएको आत्मरतिमा रमाउने तत्कालीन नेकपाका अध्यक्ष केपी वली, द्वितीय अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता भनिने माधव, झलनाथ, बामदेवलगायतका सबैजनाको एउटै भाषा र एउटै लयमा थिए ।
पार्टी धेरै मिलेर बनेको भए पनि ठूलो संख्या नेकपा एमाले र नेकपा माओवादी केन्द्रको भएकोले ठूलो स्वर पनि उनीहरुकै हुन्थ्यो । त्यसमा पनि एमाले दुई कदम अगाडि नै थियो । मानाँै उनीहरु नेपालमा समाजवादी व्यवस्था स्थापित गरेर साम्यवादी समाजको निर्माण गर्न लागिसके । विश्व कम्युनिस्ट नेताहरु कार्लमाक्र्स, लेनिन, स्टालिन अनि माओले गर्न नसकेको उनीहरुले पूरा गर्नै लागेका छन् ।
स्थानीय तहदेखि केन्द्रसम्म बलियो सरकार, जनाधार पनि बलियो अनि कम्युनिस्ट सत्तामा पुगेर चामत्कारिक विकासको मोडल हेर्न सातदशकदेखि प्रतीक्षारत नेपाली जनताको चाहनाले मूर्तरुप लिने अवसर तर जसरी विश्व कम्युनिस्ट आन्दोलनको दुःखद् अन्त्य हुँदै खुला अर्थ व्यवस्था र व्यक्तिगत स्वतन्त्रतातर्फ उन्मुख भएको थियो, त्यसरी नै नेकपाको सरकार पनि ढल्न पुग्यो र आशाको दियो निभ्यो ।
नेकपाको सरकार ढलेर अर्को सरकार कांग्रेस नेतृत्वमा गठन भएको करिब एघार महिना बितेको छ । भनिन्छ, राजनीतिमा जे पनि संभव हुन्छ । नेपालको राजनीति पनि यही तथ्यमा उभिएको देख्न सकिन्छ । केही दिन अघिसम्म आधा शताब्दी कांग्रेसलाई सत्ताको नजिक जान नदिने घोषणा दोहो¥याइ, तेहे¥याइरहेका नेकपाका द्वितीय अध्यक्ष प्रचण्ड स्वयम् आफ्नै पार्टी नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीले ज्यादै अन्याय, अत्याचार र संविधान विपरीतका गतिविधि गरेका कारण उनलाई हटाएर कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव लगेर गएका थिए र साथमा उनै वरिष्ठ नेतालगायतका थिय ।
थोरै समयमा फेरिएको राजनीति चक्रव्यूह कसरी निर्माण हुने गर्छ, सायद ठूल्ठूला राजनीतिक विश्लेषकहरु पनि चित्त खाएको हाम्रो राजनीति अझै पनि त्यसैमा तरंगित भइरहेको छ । राजनीतिक दृष्टिकोणले ठूलो आकारको राजनीतिक दल गठन भएको एउटा सुखद अवसर बन्ने संभावना हुँदाहुँदै पनि नेतृत्वहीन र सिद्धान्तहीन जमातले त्यो संभावना सधैँका लागि समाप्त पारिदिएको छ । अझै पनि एउटै कम्युनिस्ट पार्टी बनाउने भनेर बामदेव गौतमहरु नेतृत्वको भोक मेटाउन तम्सिएका देखिन्छन् तर यो दिउँसै सपना देखेभन्दा फरक होइन ।
किनभने कसैलाई नपर्खिने र पछाडि नफर्किने पनि समय हो । कुनै बेला नेकपामा आबद्ध भएर त्यसको रक्षा गर्न नसकेका नपुंशकहरुले ‘हातको माछो छोडेर दुलामा हात हाल्ने एउटा महामूर्ख’ जस्तै हुन खोजेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेर कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन गरेर सरकार बनाउनु विशिष्ट परिस्थितिको कारण हो । यो विशिष्ट परिस्थिति कांग्रेसका लागि मान्न सकिन्छ तर प्रचण्ड माधव समूहका लागि अविशिष्ट हो । ६–६ महिनामा पालैपालो गाली गर्ने र दोषारोपण गर्ने यी कम्युनिस्ट नेताहरुको राजनीतिक संस्कृति बसिसकेको छ । उता एमाले नेतृत्वलाई गाली गर्दागर्दै स्थानीय निर्वाचन आइ सकेछ । अधिकांश कांग्रेस कार्यकर्ताको चाहना र आवश्यकता विपरीत गठबन्धन कायम राख्ने मात्र उद्देश्यले स्थानीय निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा भाग लिने निर्णय भयो ।
विगतमा कांग्रेसमाथि थोपरेको हिंसात्मक आक्रमण सैद्धान्तिक र भौतिक दुवै प्रकारले क्षति व्यहोरेको कांग्रेसले जति संयमता अपनायो यो भन्दा बढी असंभव थियो । अहिले आफ्नो जनाधारको धरातलीय अवस्था ख्यालै नगरी माधव प्रचण्डले कांग्रेसलाई कहिले धम्काउने र घुक्र्याउने गरिरहेका छन् । यिनीहरुको राजनीतिक संस्कार देख्दा उनीहरुसँग कुनै राम्रो विचार छैन । यता कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि कांग्रेसभन्दा बढी यिनलाई महत्व दिएर थमाइरहेका छन् ।
यिनीहरु हिजोका दिनमा नेकपाबाट छुट्टिँदा एमालेमा रहन चाहनेहरु खराब हुन् भन्ने हौवा उत्पादन गरेर आफूहरु दूधले धोएको देखाउन कोशिस गर्थे । जब यिनीहरु गठबन्धन सरकारमा संलग्न भए त्यसपछि उनीहरुको चरित्रको पर्दा उघ्रिन सुरु भयो ।
कम्युनिस्टका कटकरी स्याहारेर भए पनि प्रधानमन्त्री भइरहने शेरबहादुर देउवाको चाहना उनीहरु पनि बुझिराछन् । त्यसैले एकतिर अनैतिक र अमर्यादित चरित्र दोहो¥याइरहेका नेकपा (यस) र माओवादी केन्द्रका वर्तमान मन्त्रिपरिषद्मा प्रतिनिधि रहेका केही सदस्यले दैनिक जसो केही न केही काण्ड मच्चाउँद छन् भने अर्काेतिर उनीहरुको नेतृत्वले कांग्रेससँग निहुँ खोजिरहेका छन् । कांग्रेस कार्यकर्ताले सरकारको नेतृत्व गर्ने पार्टीको हैसियतले जवाफ दिन परिरा‘छ । कम्युनिस्टको जातै अनैतिक हुँदा रहेछन्, उदाहरण अहिले केन्द्रमा मात्र देखिएको होइन प्रदेशमा पनि त्यस्तै छ, अवस्था ।
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीको काण्ड अझै नजिकको उदाहरण हो । उनी नेकपा एमाले र नेकपा माओवादीमा पालैपालो वारिपारि गरिरहन्छिन् । हुन त उनी नेकपा एमालेबाट निर्वाचित सदस्य हुन् । यस्ता चरित्रका धनीहरु यो राज्य सञ्चालक हुँदा र उनीहरुमाथि कुनै कारबाही नगरिँदा सचेत नागरिकले राज्य र व्यवस्थाप्रति कसरी काँध थापिरहने हो ?