दाङमा विद्युत सेवाको नियति :‘पाँच पोल ढलेका छन्, दिनभरि लाग्न सक्छ’

  •   
  •  

खेमराज रिजाल
तुलसीपुर, ३ असार । ‘रातिदेखि नै बत्ती गएको हो, कतिबेला आउँला बत्ती ?’, तुलसीपुर उपमहानगरपालिका–१७ झिंगैका उपभोक्ता धर्म केसीले बिहीवार दिउँसो नेपाल विद्युत प्राधिकरण घोराहीको फोन सम्पर्कमा जवाफ आयो– ‘पाँच पोल ढलेका छन्, दिनभरी लाग्न सक्छ ।’ विद्युत प्राधिकरणको ल्याण्डलाइनमा फोन गरिरहेका केसीले थप कुरा सोध्न नपाउँदै प्राधिकरणका कर्मचारीले फोन राखिहाले । फेरि फोन लागेन ।

धर्मको सानो–तिनो चिया–नास्ता पसल छ, फोर्टिनाइन स्कुल गेटमा । धर्म यस कारण पनि चिढिएका थिए, उनले अघिल्लो साँझ फ्रिजमा राखेको दूध बत्ती गएपछि फाटिसकेको थियो । डि–फ्रिजमा राखेको मासु गन्ध आउन सुरु गरिसकेको थियो । चिया पिउन आउनेहरुले पासवर्ड मागिरहँदा उनको वाइफाइ पनि चलेको थिएन । बच्चाहरुका लागि बिक्री गर्ने भनेर फ्रिजमा राखेको आइसक्रिम सबै झोल बनेको थियो । उनको सानो नातिसमेत बत्ती जाँदा बेचैन थियो । बिहीवार मध्य दिउँसोसम्म पनि बत्ती नआउँदा बच्चा गर्मीले छटपटाउन थालिसकेको थियो ।

नजिकै रहेको एउटा चालिसे मिल सुनसान छ । जसोतसो सानो कुटानी पिसानी मिल खोलेका चालिसेले एक हप्ताअघि कुटानी–पिसानीका लागि ल्याइएका गहुँ, चामल बेसार, मसला कुटाउन पाएका छैनन् । ‘धेरैजसो त बत्ती नै हुँदैन, आएका बेला पनि लो भोल्टेजको समस्याले मिल चल्दैन’, सीता मिलका सञ्चालक सीता चालिसेले भनिन्– ‘मिल जोडेदेखि नै यस्तै समस्याले हैरान बनाएको छ । ग्राहकहरुलाई दैलोमै कुटानी पिसानी मिल खोलेर चाँडै सेवा दिने र घर खर्च पनि चलाउने आशा बोकेका चालिसे परिवार अहिले सबैभन्दा बढी विद्युत सेवासँग बेचैन छन् ।

तुलसीपुर उपमहानगरपालिका–१८ मनिकापुरस्थित एउटा राइस मिलमा पनि तनाव यस्तै थियो । ‘अस्ती तोरी पेल्दा पेल्दै बत्ती गएको तीन घण्टापछि मात्रै आयो, बत्ती आएपछि मिल कन्टीन्यु गर्दा तेल थोरै आयो भनेर ग्राहकको हप्की खानुप¥यो’, मिलका सञ्चालक तिलक डाँगीले भने । उनको नाम चलेको पुरानो तेल मिल हो । त्यहाँ तेल धेरै आउँछ भनेर दक्षिण भोजपुर र डुरुवाबाट समेत स्थानीयहरु तोरी पेलाउन झिँगै मनिकापुर मिलमा आउने गरेका छन् ।

उनले यसैबर्ष होलर र सेलर पनि आधुनिक प्रविधियुक्त नयाँ जोडेका छन् । तर पटक–पटक जाने बत्ती र आएको बेला पनि लो भोल्टेजमा आउने कारण मिल चलाउनै मुस्किल भएको उनले बताए । राज्यले उद्योगी व्यवसायीहरुलाई नियमितरुपमा बत्ती समेत उपलव्ध गराउन नसक्दा आफूजस्ता सयौं मिल सञ्चालकहरु निकै मारमा परेको तिलकको अभिव्यक्ति थियो ।

होटल व्यवसाय, औद्योगिक क्षेत्रमा मात्र होइन, विद्यालयमा पनि समस्या बनाएको छ, अनियमित विद्युत सेवाले । यहाँका अधिकांश विद्यालयहरु टिनको छानामुनि कक्षा कोठामा पढाइ हुन्छ । गर्मी विदा पनि यसपालि भएको छैन । सामुदायिक विद्यालय र निजी विद्यालयहरुबीच तारतम्य नमिल्दा । कतिपय विद्यालयमा विद्यार्थीहरु नै फेन्ट हुने अवस्था देखिएको छ, अत्यधिक गर्मीका कारण । तर शितलो पार्न पंखा चल्दैन, बत्ती नभएर ।

कम्प्युटर कक्षा पनि चल्न सकेका छैनन् । ‘दुई बर्ष पढाइ कोरोना भाइरसको संक्रमणले ध्वस्त बनायो, अहिले बत्तीले निकै समस्या बनाएको छ’, तुलसीपुरका एक विद्यालयका प्राचार्यले भने । बत्ती नहुँदा इन्टरनेट सेवा अवरुद्ध हुने मात्र नभएर पछिल्लो समयमा तुलसीपुर क्षेत्रमा ल्याण्डलाइन टेलिफोन सेवासमेत अवरुद्ध हुने गरेको छ । यसले दूरसञ्चारको राजश्वलाई समेत गम्भीर रुपमा प्रभावित बनाएको छ ।

विद्युत प्राधिकरणले अधिकांश बहाना हावाहुरीलाई बनाउने गरेको छ । बाँकी समस्याका रुपमा फल्ट नभेटिने हो । त्यो भन्दा बाहेकको समस्या सिस्टम जाने बताइन्छ । यी सबै कुरा उपभोक्ताहरुले बुझ्ने हैसियत राख्दैनन् ।

हावाहुरीबाहेकको समयमा पनि पटक–पटक बत्ती गइरहने समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्नतर्फ दाङ विद्युतको कुनै स्पष्ट योजना देखिँदैन । जिल्लाभरका सरकारी कार्यालयहरुले जिल्लासभामा आ–आफ्ना कार्यालयले दिने सेवाका विषयमा नागरिक वडापत्रसहितका योजना सार्वजनिक गर्ने चलन भए पनि विद्युत प्राधिकरणले जिल्ला सभामा कहिल्यै अर्थपूर्ण सहभागिता जनाउन सकेन ।

विद्युतका एक अधिकारी भन्छन्– ‘यहाँका फिडरहरु उचित स्थानमा राखिएका छैनन्, लामो दुरीमा लाइन तान्दा कहिँ न कतै समस्या आउनु स्वाभाविक हो ।’ छोटो–छोटो दुरीमा फिडरहरु राखिएको भए यो समस्या केही हद समाधान हुने पनि ती अधिकारीको विश्वास थियो । तर विद्युत कार्यालयको यो समस्यालाई क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयले सम्बोधन गर्न खास योजना ल्याउन सकेको छैन ।

जसोतसो पश्चिम दाङको पञ्चकुले र पूर्वी घोराहीको झिँग्नीमा हाइटेन्सनको लाइन तानिए पनि पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । जिल्लाभरी असरल्ल विद्युतका तारहरु, लत्रेका पोलहरु र असुरक्षित सवस्टेशनले पनि यहाँको विद्युत सेवालाई गिज्याइरहेको उपभोक्ताहरुले बताएका छन् । यहाँसम्म कि बर्षातको मौसममा विद्युत तारमुनीका झिंगटका हागा हटाउने फुर्सद पनि छैन, विद्युत प्राधिकरणलाई ।

विद्युत सेवामा देखिने अनियमितताका विषयमा उद्योगी व्यवसायीहरुले, विद्यार्थीहरुले, राजनीतिक दलहरुले तथा नागरिक समाजले समेत पटक–पटक विद्युत कार्यालयहरुमा ध्यानाकर्षण गराइरहेका छन् । तर विद्युत सेवामा कत्ति पनि सुधार हुन नसकेको नागरिक अगुवा टीकाराम रेग्मीले बताए । पञ्चकुलेमा आएको उच्च क्षमताको विद्युतले पनि यहाँको विद्युत सेवालाई सहज बनाउन नसकेको उनको अभिव्यक्ति थियो ।

‘सरकार पेट्रोलियम पदार्थको खपत कम गर्न पटक–पटक प्रयास गरिरहेको छ, विद्युत खपत बढाउन नागरिकलाई आग्रह गरिरहेको छ, तर नियमित विद्युत सेवाका लागि कत्ति पनि गम्भीर देखिँदैन’, नागरिक अगुवा रेग्मीले भने । यहाँको विद्युत सेवाका समस्यालाई टालटुले शैलीमा मात्र नभएर जरैदेखि सुधार गर्नुपर्ने उनको सुझाव थियो ।

विद्युत सेवा नियमित बनाउनका लागि के–कति स्रोत आवश्यक छ भन्ने विषयमा यथार्थ जानकारी तीनै तहका सरकारलाई विद्युतले गराउनुपर्ने पनि उनको आग्रह थियो । ‘समस्यालाई तत्कालका लागि कामचलाउ बनाउने र मुख्य समस्या ढाकछोप गर्ने प्रवृत्तिले यो समस्या देखिएको पनि उनको अभिव्यक्ति थियो ।