Goraksha

National Daily

कुकुरलाई ‘लकडाउन-भोजन’

तुलसीपुर २० चैत । चैत ११ गतेदेखि २५ गतेसम्मको लकडाउनका कारण मानिसहरु एकान्तबासमा बसेका छन् । होटल रेष्टुरेन्ट, चिया नास्ता र अन्य पसल बन्द भएका छन् । खाना नास्ता पसल लामो सम्मदेखि पूर्णरुपमा बन्द भएपछि सबैभन्दा बढी शहर बजारका सयौं कुकुर भोकभोकै छन् ।

मासु पसल पनि बन्द छन् । कुकुरले रागाँ, खस्सी, भेडा, कुखुरा बिक्रि गर्ने पसल आसपासमा बसेर आफ्नो खुराक पुरा गर्दथ्ये । तर चैत ११ गतेदेखि भने खान नपाएर मर्ने अबस्थामा तुलसीपुरका स्थानीय युवाहरुले कुकुरालाई भात मासु खुवाउन शुरु गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष बिरेन्द्रकुमार शाह, वडा सदस्य एबम अधिकारकर्मी सुरेशकुमार श्रेष्ठलगायतले दैनिक एक सय बढी कुकुरलाई भात र मासु खुवाउन शुरु गरेका छन् ।

एक सय कुकुरलाई दैनिक २५ किलो चामल र ५ केजी मासु खुवाउन शुरु गरिएको श्रेष्ठले जानकारी दिए । ‘मर्न थालेका कुकुरहरु अव भने बाँच्ने छन्’ श्रेष्ठले भने । सयौं कुकुर भोक भोकै मर्नुपनि वातावरण प्रतिकुल हुने उनीहरुको भनाई छ । लकडाउन लागु हुँदासम्म कुकुरलाई खाना खुवाउने काम भई रहने श्रेष्ठले बताए ।