प्रशंसामा होइन आत्मसन्तुष्टिमा रमाऔं

  •   
  •  

नारायणप्रसाद श्रेष्ठ
आधुनिक सभ्यताको विकाससँगै मानवीय चेतनाले बढाएको आकांक्षा दिनप्रतिदिन एकपछि अर्को गर्दै विलासीतिर मोडिँदैछ । जीवन छ त मोज छ भन्ने गरी भौतिक युगले ल्याएको परिवर्तित आचरणप्रति मानवीय सोच बृद्धि भएको छ । मनोरञ्जन र प्रशंसा नै जीवनको उद्देश्य हो भन्ने गरी मानिसको सोच बढेको छ । जीवन के, किन र कसको लागि किन आएको हो भन्नेतर्फ भन्दा जन्मको उद्देश्य प्रशंसा र सुखभोग हो भन्ने गरी प्रत्येकले आफूलाई प्रदर्शन गरेको अवस्था छ ।

क्षणिक लोभ र लालच नै जीवनले प्राप्त गर्नुपर्ने मुख्य उद्देश्य हो भन्ने गरी विषयान्तर भई जीवनको गोरेटोलाई अन्तै मोड्ने प्रयास मानिस स्वयंले गरिरहेको अवस्था छ । जे–जस्तो गरेर पनि जीवनले पाउनुपर्ने प्रशंसा नै हो भन्ने गरी प्रत्येकले आफूलाई रमाउने चेष्टा गरिरहेको अवस्था छ । भोलिको चिन्तनभन्दा अहिलेको खुसी नै सबै हो भन्ने गरी त्यसरी आधुनिक विज्ञानले मानिसको विचार र चिन्तन क्षणिकतातर्फ मोड्दै गइरहेको छ, यसले भविष्य कस्तो हुने हो रु चिन्ताको विषय बनेको छ ।

चाहे जेसुकै गरौँ, राम्रो–नराम्रो कर्म जे भए पनि म सम्मानित हुनुपर्छ, मलाई सबैले मान्नुपर्छ र मेरो निर्देशन सबैका लागि मान्य हुनुपर्छ भनी जसरी मानवीय चिन्तन सामाजिक उपज भएर सार्वजनिक भइरहेको छ, दम्भ प्रदर्शन भइरहेको छ, वास्तवमा यसले हाम्रो उद्देश्य धर्मराएको त होइन रु प्रश्न उठिरहेका छन् । सबैको भरोसाको पात्र कसरी बन्ने र सेवा र सद्भावबाट आफूलाई कसरी अरुको दिलो दिमागमा प्रतिस्थापन गर्न सकिन्छ त्यतातिर मात्र वर्तमान पिढीको सोच देखा पर्दैछ ।

जसरी हुन्छ मलाई सबैले मान्नुपर्छ, वस १ यही सोच वर्तमानमा मानवीय आचरण भएर देखापरेको छ । जसको फलस्वरुप आत्मसन्तुष्टि र सकारात्मक चिन्तन ओझेल परेको छ । तसर्थ अहिलेको मुख्य विषय भनेको भौतिक युगको चकचौधले ल्याएको विलासी कामनाभन्दा पनि आफू र आफ्नो परिवेशलाई कसरी सन्तुष्टि र खुसी बनाउन सकिन्छ त्यसतर्फ सबैको ध्यान पुग्न जरुरी छ ।

जन्म, मरणको इतिहाससँगै सुरु भएको हाम्रो पौराणिक सत्यभित्र लुकेको यथार्थलाई बुझ्ने हो भने हाम्रो पूर्खाको उद्देश्य अरुको सेवा र सत्कार नै जीवनको उद्देश्य हो भन्ने गरी गुज्रेको थियो । आपसी सहयोग, सद्भाव र मेलमिलापबाट नै स्वच्छ र आदर्श समाज निर्माण गर्न सकिन्छ भन्ने आदर्शता जसरी पूर्खाले प्रतिस्थापन गर्दै सामाजिक संस्कारको रुपमा पिढीको विकास भएको छ, त्यसलाई सरसर्ती हेर्ने हो भने हिजो स्थापित संस्कृति र संस्कारले मानिसलाई आत्मसन्तुष्टिको मार्गमा अंकित गर्दै सेवा र सत्कारप्रति लक्षित गर्न उत्प्रेरित गरेको पाइन्छ ।

मभन्दा ऊ खुसी हुनु र ऊभन्दा समाज खुसी हुनु हामी सबै खुसी हुनु हो भन्ने धारणा जसरी पौराणिक सत्यलाई हामीलाई निर्देशित गर्दै आइरहेको छ, त्यसलाई मध्यनजर राख्ने हो भने सेवा र समर्पणबाट प्राप्त हुने प्रेमभाव र प्रेमभावबाट उत्पन्न हुने सहयोग र समर्पण नै आनन्दको अनुभूति हुने सत्यलाई नकार्न सकिन्न । मनमा एकैछिनमा धेरै विचार उत्पन्न हुनु यो प्राकृतिक सत्यभित्रको विषय पनि हो । अहंकार, घमण्ड र स्वार्थी चिन्तन उठ्नु सामाजिक विकृतिको अर्को रुप हो भनी मान्ने हो भने यो अस्वाभाविक पनि मानिँदैन किनकि हाम्रो समाजमा स्थापित स्वार्थपरक चिन्तन जुन किसिमले विकसित हुँदै आएको छ, मानवीय चेतनामा असर पारिरहेको छ, त्यसको स्वरुप मनमा अहंकार बढ्नु, स्वार्थीपन देखापर्नु यो स्वाभाविक पनि हुनसक्छ ।

तर पनि चैतन्यस्वरुप पवित्र आत्माको गहिरिएर अध्ययन गर्ने हो भने यी बाह्य आवरणले मानिसको चिन्तनमा जसरी कलुसित विचार प्रवाह गरेको छ यो हाम्रो लागि दुर्भाग्य मान्नुपर्दछ । केही स्वार्थी चिन्तकको अगुवाईले जुन किसिमको वातावरण वर्तमानमा देखापरेको छ यो हाम्रो लागि अभिसाप पनि हो ।

हुन त भौतिकवादी चिन्तनले ल्याएको परिवर्तनबाट मानव स्वभावमा विचित्र आचरण उजागर नभएका पनि होइनन्, वर्ग स्वार्थभित्र अहंकाररुपी बिज नफैलिएको पनि कहाँ हो र रु परोक्ष वा अपरोक्षरुपमा आत्मसन्तुष्टिभित्रको पवित्र मनलाई धमिल्याई मायारुपी जालले विचार र चिन्तनमा अपभ्रंस नबढाएको पनि कहाँ हो र रु तर पनि प्रत्येक आत्माले, प्रत्येक आत्माको सुन्दरतालाई बुझ्ने हो भने विश्वास र भरोसामा अडिएको सामाजिक संस्कृति र संस्कारलाई गहिरिएर बुझ्ने हो भने पनि सनातक संस्कृति र संस्कारभित्र हुर्केको हाम्रो पवित्र आत्माले आशाको उज्यालो किरण नदेला भन्न सकिन्न ।

किनकि एउटा सानो उज्यालोको झिल्कोले जसरी एक व्यक्तिलाई सकारात्मक भाव र सेवामा समर्पित रहन उत्साह जगाउँछ, पवित्र आत्माभित्र भरोसा जगाउन उत्प्रेरित गर्दछ, त्यही भरोसाले आत्मसुन्तष्टिको अनुभूति गराउने कुरामा दुईमत नरहन सक्छ । प्रकाशको काम जसरी सबैलाई समान अवसर र व्यवहारबाट प्रभावित बनाउनु रहेको छ, त्यसैगरी आत्मसन्तुष्टिभित्रको शान्ति र अहिंसाले सर्वत्र प्रेमभाव फिजाउने कुरा कोशेढुंगा साविक हुन नसक्ला भन्न सकिन्न ।

पवित्र आत्माको त्यो दिव्यज्ञानले आफ्नो प्रशंसामा होइन, सन्तुष्टितर्फ बढी ध्यानकेन्द्रित गरेको सत्यलाई बुझ्ने हो भने संस्कार र संस्कृतिभित्रको त्यो आदर्शले आत्मसन्तुष्टिको पहिचान गराइरहेको हुन्छ र त्यही सन्तुष्टिले अनुकूल आचरण गर्न उत्प्रेरित गरिरहेको पनि हुन्छ । आत्मसन्तुष्टिबाट उजागर हुने पवित्रताले जसरी मानवीय चेतनालाई पतीतबाट पावन बनाउने सचेतना बृद्धि गरी विश्वास र भरोसा मजबुत बनाएको हुन्छ, त्यसरी नै आउँदो भविष्यलाई पनि आाशाको दियो जलाइरहेको हुन्छ ।

आफू र आफ्नो परिवेशमा रहने वातावरणलाई स्वच्छ र सफा राख्दै आफैप्रति विश्वासको बलियो आधार तयार गरिरहेको पनि हुन्छ । जसको फलस्वरुप धैर्य र सहनशील बनाई आत्मा सत्यको पहिचानसँगै आत्मज्ञानी बनाइरहेको हुन्छ । आत्मज्ञानी बन्नु भनेको सामाजिक जीवनशैलीमा आउने उतार–चढावलाई सरलीकृत गर्दै कर्तव्य र दायित्वप्रति सहज बन्नु हो । तेस्रो आँखा जसलाई हामी ज्ञानको आँखा पनि मान्ने पर्दछौं, त्यो नेत्र खोली ज्ञानगंगामा तैरन सिकाउन, आत्मतत्वभित्र रहेको शुद्धताको खजानालाई पहिचान गरी मनमो पवित्र गंगामा तैरँदै अघि बढ्ने संकल्प गर्न पनि उत्प्रेरित गरिरहेको हुन्छ ।

यसरी पवित्र आत्मसन्तुष्टिभित्र रहेको सत्यले ल्याउने परिवर्तित सत्यलाई बुझेर मानव आत्माको सामाजिक गतिशीलतालाई निरन्तरता दिने आचरण गर्नु हामी सबैको साझा कर्तव्य र दायित्व पनि हो । त्यसैले मानव आकांक्षाभित्र भौतिक विलासिताले ल्याएको अवाञ्छित गतिविधि र स्वार्थीपनलाई हटाई परिस्थितिअनुकूल जीवनको गतिशीलतामा पवित्र आचरणयुक्त प्रवृत्तिको विकास गर्नु जरुरी हुन्छ ।

समाज आफैमा आफ्नो परिवेश, संरक्षण र सम्वद्र्धन गर्दै सकारात्मक भाव जागृत गरी जीवनलाई सहज र चलायमान बनाउने एउटा झुण्ड हो । यहाँ विविधताभित्र एकता भएर नै स्वच्छ र पवित्र धारणाहरु छरप्रष्टिएका हुन्छन् । विचारमा पवित्रता, सम्बन्धमा प्रेमभाव, सेवामा निःस्वार्थपन, चिन्तनमा सकारात्मक प्रवृत्ति, आपसी मेल र सेवाभाव यहाँभित्र लुकेको सत्य नै हुन् । तसर्थ यी सत्यलाई आत्माको पवित्रतासँग जोडेर विवेकशील बनी सिर्जनाका नयाँ उपहारहरुमार्फत हामी सबैले एकले अर्काप्रतिको दृष्टिकोण, बुझाई र सेवाभावमा सकारात्मक प्रवृत्तिको विकास गर्न जरुरी छ ।

क्षणिक भावाबेसमा नआई प्रकृतिले मानव समाजलाई दिन खोजेको आत्मसन्तुष्टि ग्रहण गर्ने वातावरण बनाउनु अहिलेको टड्कारो आवश्यकता मानिन्छ । समयको गतिशीलतासँगै सस्तो लोकप्रिय बढाई हाइ, हाइ बनेर प्रशंसामा रमाउने हाम्रो प्रवृत्तिप्रतिको हाम्रो लगावलाई यहीँ विश्राम दिई मर्यादित जीवनपद्धतिभित्रको आचरण र व्यवहारबाट अरुप्रतिको सेवा, सोच र चिन्तनमा निःस्वार्थभाव जागृत गर्ने संकल्प गरौँ ।

आत्मसन्तुष्टिभित्रको खजानालाई चिनेर हामी र हाम्रो आचरण र व्यवहार सर्वजन हिताय, सर्वजन सुखायको मान्यताभित्र मुखरित हुने गरी आफूलाई प्रदर्शन गरौँ । हामी स्वच्छ भएर सबै स्वच्छ हुन्छ यो मान्यता शिरोधार्य गर्दै प्रशंसामा होइन, आत्मसन्तुष्टिमा रमाउन सिकौँ । समयले यही खोजिरहेछ ।