रझेना स्कुलमा बलदेव गौतम स्मृति पुरस्कार स्थापना

गोरक्ष समाचारदाता
दाङ, २९ जेठ । शिक्षाप्रेमी स्व. बलदेव गौतमकी धर्मपत्नीबाट आफ्ना पतिको नाममा पाँच लाख राशिको ‘बलदेव गौतम स्मृति पुरस्कार’ स्थापना गरिएको छ ।

घोराही उपमहानगरपालिका रझेनास्थित श्री माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापकको रूपमा समेत सेवा गरेका रझेना दाङ निवासी स्व. बलदेव गौतमकी धर्मपत्नी तिलका गौतमबाट आफ्ना श्रीमानको स्मृतिमा उक्त श्री माध्यमिक विद्यालयका अध्ययन गर्ने गरिब तथा जेहेन्दार छात्रछात्राहरूलाई पुरस्कार दिन बलदेव गौतम स्मृति पुरस्कार कोष स्थापना गरेका हुन् ।

उक्त पुरस्कारको स्थायी स्रोतको लागि अक्षयकोष स्थापना गर्न ५ लाख रकम आइतवारै विद्यालयलाई हस्तान्तरण गरिएको छ । लामो समय आफ्ना पतिले शैक्षिक क्षेत्रमा गरेको सेवा तथा समर्पणको चीर स्मरणको लागि उक्त पुरस्कारको स्थापना गरिएको परिवारले जनाएको छ । अक्षयकोषको राशि उक्त माविमा रहेका अन्य अक्षयकोषमध्ये सबैभन्दा ठूलो भएको विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपानेले जानकारी दिएका छन् ।

यही ज्येष्ठ २६ गते भएको रकम हस्तान्तरण समारोहमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जीवन गौतमले स्व. बलदेव गौतमले शिक्षा क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए । अक्षयकोषबाट पुरस्कार वितरण गरिने प्रक्रियाबारे प्रधानाध्यापक उद्धव न्यौपानेले विस्तृत जानकारी गराएका थिए । उक्त कार्यक्रममा स्व. बलदेव गौतमका माहिला छोरा अमर गौतम, छोरी शिला पोख्रेल र जुवाइँ बिनोद पोख्रेल तथा विद्यालय परिवारकाका अन्य सदस्यको समेत उपस्थिति रहेको थियो ।

दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ रझेनास्थित श्री माध्यमिक विद्यालय, त्यस क्षेत्रको ऐतिहासिक शैक्षिक थलोको रूपमा मानिन्छ र त्यस स्कुल स्थापनाको लागि निरन्तर लागिपर्ने व्यक्तित्वमध्येको एउटा नाम स्व. बलदेव गौतम । उनका घरआँगन छेउमै भएर मात्र उनले स्कुल स्थापनाको प्रयास गरेनन्, जनतालाई शिक्षित नबनाएसम्म जनता चेतनाको स्तर बृद्धि हुँदैन र जनचेतना नबढेसम्म समाजबाट गरिबी हट्न सक्दैन, समाजको विकास हुँदैन भन्ने सोच राख्दै आफूले शिक्षा आर्जन गर्न जनता महाविद्यालय बिजौरीसमेत पुगेका थिए ।

बिजौरीमा शिक्षा आर्जन गरी शिक्षा क्षेत्रमै आफूले ठूलो योगदान गरेका थिए । एउटा मध्यम वर्गीय परिवार आफूलाई खान लगाउन काम गर्नैपर्ने बाध्यता नभए तापनि शिक्षाको विकासबिना कुनै पनि घर–परिवार, समाज तथा राष्ट्रको उन्नति प्रगति हुन सक्दैन भन्ने मूल मन्त्रका साथ उनले सुरुमा हालको बंगलाचुली गाविसको कमिरेचौरमा रहेको माध्यमिक विद्यालय अध्यापन थालेका थिए ।

त्यस स्कुल सञ्चालनको लागि आवश्यक प्रशासनिक, भौतिक तथा आर्थिकरूपमा समेत ठूलो सहयोग गरेका थिए । पछि घोराही नजिक घोरदौरा कोटमा समेत स्कुल सञ्चालन गर्दै पठन–पाठन गराउने काम गरे । उक्त स्कुललाई कहिले अम्बापुरमा कहिले रझेनामा सारेर समेत सञ्चालन गराउने अवस्था समेत सिर्जना भएको थियो ।

पछि रझेनामा सञ्चालन भइरहेको स्कुल पुनः घोरदौरा फर्काउनुपर्ने बाध्यता भएपछि रझेनामा स्कुलको अभावदेखि तत्कालीन अवस्थामा राजाको सवारी भएको मौका पारी त्यस क्षेत्रका शिक्षा प्रेमीहरूलाई जुटाई राजासमक्ष बिन्ती–पत्र हाल्न लगाई पुनः रझेनामा स्कुल खोल्न सफल भएका थिए । यसरी निरन्तर रूपमा शिक्षा क्षेत्रमा योगदान गर्दै २०२८ सालसम्म संस्थापक प्रधान अध्यापकको रूपमा श्री माविमा सेवा गरेका थिए ।

पछि पद्मोदय स्कुल भरतपुर हुँदै महेन्द्र बहुमुखी क्याम्पसको प्रशासकीय अधिकृतसम्मको पदमा पुगी आफू सेवा निवृत्त भएका थिए । उनी आफ्नो घर–परिवारको मात्र प्रेरणाको स्रोत नभएर आफ्नो गाउँघर, अन्य परिवार तथा समुदायकै सदस्यहरूलाई शिक्षाको उज्यालो ताराका रुपमा चिनिएका थिए । वि.सं. १९८९ सालमा जन्मेका स्व. गौतमको २०७५ चैत २५ मा ८५ वर्षको उमेरमा निधन भएको थियो ।