बिजौरी उवासंघमा जनप्रतिनिधि
खेमराज रिजाल
बिजौरी (दाङ) २८ जेठ । बिजौरी उद्योग वाणिज्यसंघले तुलसीपुर उपमहानगरपालिका नवनिर्वाचित जनप्रतिनिधि नगर प्रमुख, उपप्रमुख र आफ्नो कार्यक्षेत्रमा रहेका वडाध्यक्षहरुलाई सम्मान एवं बधाइ दिएको छ । बधाइ एवं सम्मान कार्यक्रममा प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले यो बर्ष विकास निर्माणमा खासै तरक्की गर्न नसकिने बताएका छन् ।
‘हामीले यो बर्ष राजश्व करीब ३५ करोड उठाउन सक्ने अनुमान छ, ३० करोड त तिर्नै छ, बाँकी ५ करोडले के गर्न सकिएला’, बधाइ तथा सम्मान कार्यक्रममा खड्काले भने– ‘यो आर्थिक बर्ष विकास निर्माणको भन्दा नीति निर्माणको बर्ष हुनेछ ।’ चालु आर्थिक बर्षमा बजेट प्रषेपण यथार्थ धरातलभन्दा बाहिर गएर गरिएका कारण तुलसीपुर उपमहानगरपालिका दायित्वले चुर्लुम्म डुबेको छ । दुई महिनाअघिको तथ्यांकमा उपमहानगरपालिकाले निर्माण व्यवसायी एवं उपभोक्ताहरुलाई काम सम्पन्न गरिसकेको करीब ६० करोड रुपैयाँ जति भुक्तानी दिन बाँकी रहेको बताइएको छ ।
कार्यक्रममा नगर प्रमुख खड्काले व्यवसायीहरुलाई लगाइँदै आएको करमा उपमहानगरपालिकाले केही संशोधनसहित पुनर्विचार गर्ने समेत संकेत गरे । ‘हामीले करको दर बढाउने छैनौं, दायरा फराकिलो बनाउन हाम्रो प्राथमिक पहल हुनेछ’, खड्काले भने । आफूले आगामी बर्षका लागि बजेट प्रक्षेपण गर्दा राजश्व परामर्श समितिको आधिकारिक तथ्यांकलाई मनन् गर्ने र त्यसमा व्यवसायीहरुलाई पनि आफूले समितिमा आमन्त्रित सदस्यमा राखेको अभिव्यक्ति दिए ।
त्यसैगरी बिजौरी क्षेत्रको समृद्धिका लागि रोल्पा दहवन–बिजौरी–जलकुण्डी सडकको सुत्रधार नै आफू भएकाले विशेष प्राथमिकतामा राख्ने पनि बताए । आफै राष्ट्रिय योजना आयोगसम्म पुगेर यो सडकलाई तीन जिल्ला जोड्ने रणनीतिक सडकका रुपमा राखेर क्रमांगत योजनामा राख्न सफल भएको समेत उनले बताएका छन् । बिजौरी उद्योग वाणिज्य संघको सभाहलसहितको भवन निर्माणमा आफूलगायत यस क्षेत्रका ४ वटै वडा लागिपर्ने भएकाले त्यसमा ढुक्क हुन पनि व्यवसायीहरुलाई आग्रह गरेका थिए ।
स्वागत सम्मान तथा बधाइ कार्यक्रममा विशिष्ट अतिथि स्यानी चौधरीले आफ्नो प्राथमिकता शिक्षा र स्वास्थ्य रहेको भन्दै सामुदायिक विद्यालयहरुमा पर्याप्त भौतिक पूर्वाधार हुँदा पनि शैक्षिक गुणस्तर उस्कन नसकेकाले यसमा शिक्षकहरुले विशेष जागर गर्ने वातावरण बनाउन आफू लागेको बताइन् । त्यसैगरी स्वास्थ्य क्षेत्रलाई पनि आधुनिक एवं स्तरीय बनाउन आफ्नो खास पहल हुने पनि उनको भनाइ थियो ।
‘क्वालिटी, क्वीक, क्लीयर एण्ड क्लिन हाम्रो मिशन हो, हामीले पनि गर्न सकेनौं भने तुलसीपुरमा अरु कसैले गर्ने छैन’, उपप्रमुख चौधरीले भनिन् । उनले आर्थिक असमानताका कारण यहाँ महलमा बस्ने पनि दुःखी भएको तथा रोडमा बस्ने पनि दुखी भएको बताइन् । यसलाई हटाउन असमानताको ग्याप घटाउनुपर्ने उनको आग्रह थियो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–१६ का अध्यक्ष शिवानन्द डाँगीले आफू किसानको छोरा भएकाले कृषिको समृद्धिमा विशेष ध्यान दिने बताए । कृषिको मुख्य आधार भनेको सिँचाइ र किसानलाई समयमै रसायनिक मल उपलब्ध गराउनुपर्ने बताउँदै सिँचाइको समस्या समाधान गर्न अनियन्त्रितरुपमा नदीजन्य पदार्थको दोहन रोक्न आफूले हरसम्भव प्रयास गर्ने बताए । उनले बिजौरी उद्योग वाणिज्य संघका माध्यमबाट मानपुर बजारलाई पनि व्युझाउनुपर्ने उनको सुझाव थियो ।
वडा नं. १९ का अध्यक्ष प्रेमनाथ योगीले किसानलाई मल वितरण गर्ने सवालमा उपमहानगरपालिकाले भिन्नै नीति बनाउनुपर्ने बताए । सहकारी दर्ता भएका आधारमा वडालाई मल उपलव्ध गराउने नीतिका कारण आफ्नो वडाले ४० बोरा मात्रै रसायनिक मल पाइरहेको बताए । किनकि सो वडामा एउटा मात्रै सहकारी छ । अन्य वडाहरुमा भने कम्तीमा आधा दर्जन सहकारीहरु रहेका छन् ।
बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका योगीले बिजौरीको व्यावसायिक समृद्धिका लागि दहवन रोल्पालाई वाह्रै महिना बिजौरीसँग यातायातले जोड्ने व्यवस्थापनका लागि व्यवसायीहरु लागिरहेको भन्दै यसमा सहयोग गर्न नगर प्रमुखलाई आग्रह गरे ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै यस क्षेत्रका व्यवसायीहरुले व्यवसायीहरुलाई साइनवोर्ड कर नलगाउन, एकीकृत कर प्रणालीको विकास गर्न, कृषिको समृद्धिका लागि सहजरुपमा रसायनिक मल उपलव्ध गराउन, सातामा दुईपटक फोहर उठाउने व्यवस्था मिलाउन तथा व्यावसायिक सुरक्षाको अनुभूति दिलाउन हेमन्तपुरमा रहेको प्रहरी चौकीको स्तरबृद्धि गर्न माग गरेका थिए ।
त्यसैगरी यस क्षेत्रको पर्यटकीय समृद्धिका लागि छिल्लीकोटलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउनका लागि सहज यातायात सेवा, विद्युत सेवा, सहज खानेपानीलगायतका भौतिक पूर्वाधार निर्माणमा पनि उपमहानगरपालिकाको ध्यानाकर्षण व्यवसायीहरुले गराएका थिए । त्यसैगरी नेपालकै गहनाका रुपमा रहेको नेपाल संस्कृत विश्वविद्यालय पटक–पटक तालाबन्दीकै समस्यामा रहने बताउँदै यसमा पनि ध्यान दिन तथा बिजौरीमा रहेको प्रादेशक आयुर्वेद चिकित्सालयलाई बिरामीको गन्तव्यका रुपमा विकास गर्न पनि स्थानीय सरकारको ध्यानाकर्षण गराइएको थियो ।
बिजौरी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष दुर्गा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बिजौरी व्यापार समितिका संस्थापक अध्यक्ष दुर्गाबहादुर केसी, बिजौरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मुक्तबहादुर वली (मुकेश), पूर्व अध्यक्ष कमानसिंह खड्का, व्यवसायी पुष्पा डाँगी, बिजौरी उवासंघका उद्योग उपाध्यक्ष बालकृष्ण रेग्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बिजौरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य प्रेमबहादुर विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव विदुर गौतमले गरेका थिए ।