राजनीतिक संकट र दलिय द्वन्द्व

बिनोद पोख्रेल
२०७७ फागुन २६ गते
केही दिनबाट सोचेको भनौ वा मनमा आएको कुरा लेख्दैछु । मलाई धेरैपल्ट आफै लेखाईले पूर्ण सन्तुष्टि दिएको हुँदैन । किन लेखेँ भन्ने पछुतो त अहिलेसम्म अनुभव गरेको छैन तर सायद कतिपल्ट भनेको वा लेखेको पनि छु आफू सन्तुष्ट नभएको कुरा । कतिपल्ट त लेख्ने मन नै हुँदैन र पनि लेखेको छु । अस्वस्थ भएका अवस्थामा यस्तो धेरै अनुभव गरेको छु ।

त्यसबाहेक सामान्य अबस्थामा पनि कतिपल्ट किन लेख्ने भन्ने प्रश्न आफैसँग गरेको छु । गर्दैन भन्दा भन्दै पनि कहिलेकाहिँ यो प्रश्न मेरा अगाडि आइहाल्छ । अनि फेरि धेरै कुराहरु मनमा आउँछन् र लेख्ने गर्छु । मैले सायद मभित्र भएका कमजोरीलाई स्वीकार गर्नु र सम्मान पनि गर्छु । त्यसैले लेखाईमा रुकावट लगभग हुँदैन । धेरैपल्ट राजनीति वा त्यससम्बन्धी विषयलाई हुन्न भन्ने निर्णय गरे । त्यसमा पनि आफै टिक्न नसकेकै हो । मेरो क्षमता भनौ वा शक्ति भनेको आफ्ना भावनाप्रतिको प्रतिबद्धता नै हो ।

अरुले जे गरे पनि हुने मैले राम्रै सोच्नपर्ने, राम्रै लेख्नपर्ने, राम्रै गर्नपर्ने भन्ने कहाँ छ र जस्तो पनि लाग्छ । सके त राम्रो नै गर्ने हो तर म पनि माथि स्वीकारेकै छु, कमजोरी नभएको अपवाद त हैन । बरु ममा अरुभन्दा बढी कमजोरी हुनसक्छन् । कहिलेकाहीँ त समस्या समेत अनुभूति र व्याख्याकै भरमा ठूला वा साना बनाइन्छन्जस्तो लाग्छ । मैले पनि त्यही गरिरहेको होजस्तो लाग्छ । मेरा अलमल वा अल्छीपन लुकाउन म पनि तर्कमा अलमलिएर अरुलाई पनि अलमलाउन खोज्दैछुजस्तो लाग्छ । यदि यस्तो हो भने मेरो कमजोरी मसँगै रहोस्, यहाँहरु नअल्मलिनुहोला भन्ने निवेदन पनि गर्छु ।

चुरो कुरो के हो भने लेखले केहीबेर सोच्न, तर्क गर्न, बुद्धिको प्रयोग गर्न बाध्य पार्नुपर्छ भन्ने मेरो मान्यता हो । यदि यस्तो गर्न सक्दैन भने पूर्णरुपमा मनोरञ्जन देओस् भन्ने पनि सोच हो । दुवै दिन नसक्ने लेखको उपादेयता केही हुँदैन । सायद यस्तै लेखले हो कि सन्तुष्टि दिन नसक्ने । अर्को विश्वास के पनि हो भने मैले लेखेका सबै माथि उल्लेख गरिएका क्षमता भएका नहुनु पनि त सक्छन् । त्यस्तै उही सोच कसैलाई ठीक र कसैलाई बेठीक पनि लाग्छ सक्छ । मैले कमसल मूल्याकन गरेको लेख अरुको लागि साह्रै चित्त बुझ्ने पनि हुनसक्छ । मैले जो सोच बनाएको छु त्यसमा म दृढ हुनपर्छ ।

मेरा लेखाई सबै एउटा स्तरका हुने भन्ने कुरो हुँदैन त्यो पनि स्वीकार गर्नुपर्छ । सबै विषयबारे मेरो उत्तिकै दक्षता छ भन्ने गलत धारणाबाट आफू मुक्त हुन सक्नुपर्छ र लेख्नु नै पर्छ । यो अभिव्यक्तिको सशक्त माध्यम हो । यसको प्रयोग गर्न सके धेरै तनावहरु हराएर गएको मेरो अनुभव छ । यही सोचले जितोस् र अझ दृढ भएर लेख्ने प्रेरणा बनाओस् ।

२०७७ फागुन २७ गते

नेपाल अहिले राजनीतिक संकटमा छ । हरेक दलहरुभित्र द्वन्द्व छ । द्वन्द्व सामान्य कुरा हो तर यसलाई जब मूल विषय बनाएर सार्वजनिक गरिन्छ तब यो दुर्घटनाको कारक तत्व बन्छ । त्यसैले मैले हर दलभित्रको द्वन्द्वलाई समेत अलि बढी महत्व दिन चाहेँ । जब एएटै दलभित्र द्वन्द्व छ भने अलग–अलग दलहरुबीच द्वन्द्व त अवश्यम्भावी नै हो । त्यसलाई स्वाभाविक रुपमा लिनुपर्ने भएको छ । तर कतै द्वन्द्व अपेक्षित हुने पर्छ ।

विचारको द्वन्द्वले नयाँ नीति जन्माउन पनि सक्छ । त्यसका लागि देशको आवश्यकता बुझेर त्यही आवश्यकता समाधान गर्नकै लागि नीति निर्माण गर्न सक्ने र यस्तो लागू गर्न प्रेरित गर्न सक्ने नेतृत्व चाहिन्छ । तर अहिलेको नेपालको राजनीतिक द्वन्द्वमा राष्ट्रियता र राष्ट्रिय आवश्यकताको आभाष पाइँदैन । बरु यहाँ दलीय, समूहगत र व्यक्तिगत स्वार्थको द्वन्द्व छ । यो द्वन्द्व दुई कारणले बढेको जस्तो लाग्छ । एउटा धेरै वर्षसम्म मेरो आशय २००७ सालबाट नै यहाँको राजनीति ध्रुवीकरण भयो ।

एउटा ध्रुवको नेतृत्व कांग्रेस पार्टीले ग¥यो अर्कोको नेतृत्व धेरैसम्म दरबारले ग¥यो भने पछिल्लो समयमा आएर यो ध्रुवको नेतृत्वमा केही परिवर्तन भए । कांग्रेसले संवैधानिक राजतन्त्र स्वीकार्दा पनि अर्को ध्रुवले कांग्रेसलाई स्वीकार गर्न चाहेन । दरबारले एक समयमा कांग्रेस मास्न सम्पूर्ण शक्ति लगायो भने पछिल्लो समयमा माओवादी पनि त्यही काममा संलग्न भयो । केपी ओलीले त कांग्रेस सकिएको घोषणा समेत गरे । यसको कारण स्वयं कांग्रेस पनि हो भने अन्य राष्ट्रिय र क्षेत्रीय शक्ति पनि हुन् ।

कांग्रेस मास्न कांग्रेसको विरोध एकातर्फ चलिरह्यो भने अर्कोतर्फ नाम जे राखे पनि नीति र विचार कांग्रेसकै राखेर त्यही अनुसार सत्ता सञ्चालन ग र्ने नेतृत्वसमेत निर्माण भयो । बेष्ट मिनिस्टरकै शैलीको शासन व्यवस्था स्वीकार गर्ने भएपछि केही कार्यक्रममा फरक पर्नुबाहेक शैली र सिद्धान्त एकै हुन गयो । अको भाषामा आफू नै कांग्रेस जस्तो भएर कांग्रेसलाई यो देशको खलनायक प्रमाणित गरेर आफू नायक बन्ने प्रयास धेरैबाट भयो । सो सोच एक प्रकारले परम्पराजस्तै बनिसकेको छ ।

भर्खरै भएको राजनैतिक खेलमा पनि तुलना गर्दा कांग्रेसभन्दा पनि जस्ता शब्द प्रयोग भए, मद्दत भने कांग्रेसको चाहिएकै हो । आफ्नो विषयगत पण्डित्याइँ त्यागेर कांग्रेसी शैलीमा आएको कांग्रेसकै नीति अनुसार आफ्नो नीति बनाएको वास्तविकतालाई ढाक्न एउटा अलग टे«डमार्क भने छोड्न नचाहेको वा नसकेको सोच अनि दरबार ढलेपछि कांग्रेसइतर राजनीतिको नेतृत्वमा दृढता भनौ वा स्थायित्व अझै नबनिसकेकोले अहिले नेपालको राजनीति यो अवस्थामा आएको हो ।

यसमा माथि भनेजस्तै कांग्रेसको कमजोरी प्रमुख कारण हो भने कांग्रेसप्रतिको पूर्वाग्रह दोस्रो कारण हो । यस्तोमा जति संघर्ष अरुले गर्नुपर्छ वर्तमान स्थिति सुधार्न त्यो पनि धेरै संघर्ष र त्याग कांग्रेसले गर्नपर्छ । अन्यथा एउटाले अर्कोलाई गाली गर्दैमा देश नै सकिन पनि सक्छ ।