किसानलाई मलको व्यवस्था गर्न नेविसंघ दाङको माग

दाङ,२६ जेठ । नेपाल विद्यार्थी संघ दाङले किसानलाई समयमै रासायनिक मल उपलव्ध गराउन सरकारसँग माग गरेको छ । बर्षाद सुरु भएर किसानले खेती गर्ने समय भैसक्दा पनि रासायनिक मल किसानले नपाउनु दुःखद भएको भन्दै नेपाल विद्यार्थी संघले अभिलम्व मलको व्यवस्था गर्न सरकारसँग माग गर्दै कृषि सामग्री कम्पनी घोराही शाखामा ज्ञापनपत्र बुझाएको हो ।

नेपाल विद्यार्थी संघ दाङका कार्यवाहक अध्यक्ष टोपबहादुर बुढाथोकीको नेतृत्वमा कार्यालय पुगेर कृषि प्रधान देशमा खेतीका लागि किसान जति सक्यो चाडै मल उपलव्ध गराउन समेत माग गरेको छ ।
‘बर्षादको समय सुरु भैई किसानले खेती सुरु गर्ने समय आइसेको छ । तर किसानले मल नपाएर चिन्तित बन्नुपर्ने र छटपटाउनुपर्ने अवस्था छ’,संघका कार्यवाहक अध्यक्ष बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘कृषिमा आत्मनिर्भर हुने देशका किसानले यस्तो समस्या भोग्नु दुखद हो । यस प्रकारको समस्या समाधानका लागि राज्यले जति सक्यो चाडै पहल गरेर समस्या हल गर्नुपर्छ ।’

साथै विज्ञप्तिमा कृषि प्रधान देश नेपालमा बर्सेनी रासायनिक मलको अभाव हुनु सरकारको कमजोर व्यवस्थापकीय क्षमतालाई उदांगो बनेको भन्दै नेपाल विद्यार्थी संघले बर्षेनी किन र के–कति कारणले मलको अभाव सिर्जना हुन्छ त्यसको खोजी गरि समाधानका लागि लाग्न समेत सरकारलाई आग्रह गरेको छ ।

नेपाल विद्यार्थी संघका कार्यवाहक अध्यक्ष बुढाथोकीसहित नेपाल विद्यार्थी संघका नेताहरु कुलराज पोख्रेलगायतका नेता तथा विद्यार्थीहरु कृषि सामग्री कम्पनी घोराही शाखा पुगेर कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए ।