तुलसीपुर, २४ जेठ । मंगलवार विश्व खाद्य स्वच्छता दिवस मनाइरहँदा बजारमा गल्न थालेका केरा ठेलामा बिक्री भैइरहेको थियो । नजिकै होटलहरुमा जाली नलगाएर राता जेरीहरु बाहिर काउन्टरमा सजाएर राखिएको थियो । खाद्य पदार्थको स्वच्छता कायम राख्न उत्पादनदेखि उपभोगसम्मका सम्पूर्ण चरणसँग सम्बद्ध सबैले इमानदार र प्रतिबद्ध भएर काम गर्नुुपर्ने हुन्छ । तर त्यो हुन सकेको छैन ।
मंगलवार विश्व खाद्य स्वच्छता दिवस स्वच्छ सन्तुलित आहार स्वस्थ जीवनको आधार भन्ने नाराका साथ औपचारिक तरिकाले दिवस मनाइन्छ । तर बजारमा भने विभिन्न खाद्य पदार्थमा मिसावट र के खान हुने के नहुने भन्ने विषयमा जानकार नहुँदा समस्या हुने गरेको छ । ‘बजारमा फलफूलदेखि विभिन्न खानेकुराहरुमा विभिन्न केमिकल र रंगहरु प्रयोग भएको हुन्छ तर त्यो खानलायक छ वा छैन कसले हेर्ने ?’ उपभोक्ता कैलाश केसीले भने । त्यस्तै बजारमा अनुगमन गर्दा खाली लेवल लागेको र उत्पादन र म्याद गुज्रेको छ वा छैनबाहेक अन्य अनुगमन र निरीक्षण नहुने उपभोक्ताहरु बताउँछन् ।
स्वच्छ र गुणस्तरीय खाद्यवस्तुको उपभोग गर्न पाउने हरेक नागरिकको नैसर्गिक अधिकार हो भने त्यसको समूचित व्यवस्था गर्नु राज्यको दायित्व हो । संविधानमा हरेक नागरिकले पर्याप्त, पोषणयुक्त, गुणस्तरीय र स्वच्छ खाद्य पदार्थको उपभोग गर्न पाउने मौलिक अधिकारको व्यवस्था गरेको छ । तर, त्यो व्यवस्था कार्यान्वयनको पक्ष भने फितलो छ । बजारमा पाइने प्रायः सबैजसो खाद्य वस्तुमा अखाद्य वस्तुको मिसावट भएको पाइन्छ भने स्वास्थ्यलाई हानी गर्ने रसायन तथा रङको समेत प्रयोग गर्ने गरेको पाइन्छ ।
तर, यसलाई रोकथाम र नियन्त्रण गर्न सरकारले खासै चासो दिएको छैन । हरेक दिनजसो बजार अनुगमन भइरहेको भनिए पनि उपभोक्ताले त्यो महसुस नै गर्न पाएका छैनन् । अखाद्य वस्तुको मिसावटसँगै महंगीको मारमा उपभोक्ता छन् । ‘बजारमा खानलायक नभएका बस्तुहरु ठेलामा कम शुल्कमा बिक्री भइरहेको हुन्छ त कुहिएको केरा, स्याउदेखि अन्य चिजहरु त्यो कस्ले रोक्ने ?’ उपभोक्ता ध्रुव गौतमले भने । उनले खाद्य पदार्थको स्वच्छता कायम राख्न उत्पादनदेखि उपभोगसम्मका सम्पूर्ण सम्बद्ध सबैले इमानदार र प्रतिबद्ध भएर काम गरे सबैलाई भलो हुने बताए ।
‘एउटाले चामल बेच्छ त्यसले फेरि घिउँ किन्छ त्यसैले आफूले इमानदारिता गरे अर्कोले पनि गर्छ भन्ने सोच सबैमा हुनुपर्ने उपभोक्ताहरु बताउँछन् । स्वस्थ जीवनका लागि स्वच्छ र सन्तुलित खाना एउटा महत्वपूर्ण पक्ष भनिए पनि कार्यान्वयन नहुँदा अस्वस्थ खानपानकै कारण जटिल प्रकारका रोगसमेत लाग्ने गरेको छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार विश्वमा हरेक वर्ष दस जनामध्ये एकजना विषाक्त खाद्य पदार्थको उपभोगका कारण बिरामी पर्ने गरेका छन् ।