घोराही,२४ जेठ । ट्रक व्यवसायी र उद्योगविच सहमति भएपनि चार दिनदेखि बन्द रहेका ट्रकहरु सञ्चालनमा आएका छन् । राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समिति, दाङ जिल्ला उद्योग बाणिज्य संघ र दाङमा रहेका सिमेन्ट उद्योगका प्रतिनिधिहरुकाविच मंगलवार घोराहीमा भएको छलफलबाट नयाँ भाडादर लागुगर्ने सहमति भएपनि आन्दोलनरत व्यवसायी ट्रक सञ्चालन गर्न तयार रहेका हुन ।
राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिका अध्यक्ष रत्नप्रसाद श्रेष्ठको अध्यक्षता तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकप्रसाद बुढाथोकीलगायत विभिन्न सिमेन्ट उद्योगहरुका प्रतिनिधिहरुको उपस्थीतिमा भएको छलफलले दुरी अनुसारको भाडादर तोकेको छ । साथै उक्त भाडादर लागु नगर्ने र घटाएर सामाग्री लोड गराएको पाइएमा पहिलो पटक सचेत गराउने र त्यसपछि पनि गल्ती भेटिए ट्रक व्यवसायी समितिले उक्त उद्योगलाई ट्रक उपलव्ध नगराउने सहमति भएको राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिका प्रशासनिक सचिव उमेशचन्द्र मजगैँयाले जानकारी दिएका छन् ।
त्यसैगरीले छलफलले ट्रकको क्षमताभन्दा लोड नगर्न व्यवसायी तथा उद्योगहरुलाई आग्रह गर्दै क्षमताभन्दा बढी बोकेको भेटिएमा उद्योग र व्यवसायी दुवैलाई कारवाही गर्ने, कुनै पनि ठाउँको भाडा समायोजन गर्नुपर्ने भएमा समिति र उद्योग बसेर टुंगो लगाउने,डिजेलको मुल्य १५३ बाट घटेमा सरोकारवाला पक्ष बसेर घटाउने र नघटे आज कायम गरेकै मुल्य लागु गर्ने, कुनै कारण समितिले टोकेन बन्द गर्नुपर्नेमा ३ दिनअघि मौखिक वा लिखित रुपमा जानकारी गराउने,कुनै पनि उद्योगले ट्रकलाई समान लोड गरि चलानी दिदा दुई वटा चलानी नदिने र चलानीमा भाडा उल्लेख गर्नुपर्ने निर्णय गरेको छ । साथै ट्रक लोड गराउँदा ट्रान्सपोटको विल्टी लिएको भएपनि ट्रक समितिको लोडिङ टोकन स्लीप लिएको ट्रकलाई मात्र उद्योग फ्याक्ट्रीबाट लोड गराउने निर्णय भएको छ ।