तुलसीपुर कांग्रेसद्वारा जनप्रतिनिधिलाई सम्मान : उत्तरदायित्व विमुख नबन्न जनप्रतिनिधिलाई आग्रह

गोरक्ष समाचारदाता
तुलसीपुर, २२ जेठ । नेपाली कांग्रेस तुलसीपुर उपमहानगर समितिले तुलसीपुर उपमहानगरपालिकाका वडाहरुमा निर्वाचित ५ वडाध्यक्ष एवं १८ जना वडा सदस्यहरुलाई सम्मान एवं बधाइ ज्ञापन गरेको छ ।

नगर सभापति सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी उच्च नेतृत्वले आफूहरु अल्पमतमा भए पनि कर्तव्य एर्व उत्तरदायित्वविमुख नबनेर जनताका काममा अहोरात्र खटिन आग्रह गरेका छन् ।

बधाइ दिँदै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले घोराही र तुलसीपुरको नतिजालाई मात्रै हेरेर समग्र दाङको अवस्था विश्लेषण गर्न नहुने बताएका छन् । उनले कांग्रेस नेता कार्यकर्ताहरुमा विपक्षीका धेरै कुरा जान्ने तर आफ्ना बारेमा कुनै बहस गर्न नसक्ने प्रबृत्ति हावी भएको बताउँदै संगठनको मर्मभित्र बस्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

निर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ दिँदै सभापति डाँगीले जिल्लाले बंगलाचुलीमा मात्रै गठबन्धन गरेको बताउँदै घोराही र तुलसीपुरमा गठबन्धन गर्ने चाहना जिल्लाको नभएर केन्द्रको निर्देशनमा भएको पनि बताए । ‘तैपनि निराश हुने अवस्था छैन, दाङका धेरै पालिका जित्यौ, जिल्ला समन्वय समितिमा पनि स्पष्ट बहुमत हाम्रै भएको छ’, सभापति डाँगीले भने ।

सोही कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति जगत खड्काले अल्पमतमा भए पनि उत्तरदायित्वविमुख नहुन तुलसीपुरमा निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरे । पार्टीमा संगठन गर्न नसक्ने र हारेपछि अन्तर्घात ग¥यो भनेर कराउनुको कुनै अर्थ नरहने पनि क्षेत्रीय सभापति खड्काको अभिव्यक्ति थियो ।

बधाइ तथा सम्मान कार्यक्रममा निर्वाचन क्षेत्र नं. ३ क का सभापति देवेन्द्र रिजालले संगठनभित्रकै असन्तुष्टिका कारण निर्वाचनमा पराजय भोग्नुपरेको बताउँदै सबै क्षेत्रमा भएका असन्तुष्टिहरुलाई क्रमशः सम्बोधन गरिनुपर्ने बताए ।

सो अवसरमा अर्का प्रदेश सभापति अभियान बस्नेतले संगठन नै कमजोर भएको हो वा गठबन्धन कमजोर भएको हो भन्ने विषयमा फेरि एकपटक उच्च नेतृत्वले समीक्षा गर्नुपर्ने बताएका थिए । सो अवसरमा अर्का प्रदेश सभापति प्रकाश श्रेष्ठले पनि गठबन्धनको परिचालन अर्थपूर्णरुपमा हुन नसकेको तथा मतदाता शिक्षा निकै कमजोर भएका कारण नेपाली कांग्रेसले घोराही र तुलसीपुर उपमहानगरपालिकामा यसअघि जितेका वडाहरुसमेत गुमाउनुपरेको बताए ।

नेपाली कांग्रेस तुलसीपुर नगर समिति महिला विभाग प्रमुख शुषमा अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सम्पूर्ण निर्वाचित वडा सदस्यहरुका तर्फबाट शेषमणि भण्डारी, सबै वडा सभापतिका तर्फबाट नेपाली कांग्रेस तुलसीपुर–२ का सभापति भीमबहादुर वली, निवर्तमान नगर उपसभापति भीमप्रकाश भण्डारीले बधाइ मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा निर्वाचित वडाध्यक्षहरु तुलसीपुर उपमहानगरपालिका–१७ का थलराज पुरी, वडा नं. १४ का शंकर खड्का, ७ नं. वडाका अध्यक्ष रामबहादुर जिसी र तुलसीपुर उपमहानगरपालिका–९ का अध्यक्ष घनश्याम ढकालले आफूहरु अल्पमतमा भए पनि जनताका काममा कहिल्यै विचलित नहुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण नगर सचिव सुशील वलीले गरेका थिए । कार्यक्रमको समापन गर्दै नगरसभापति हमालले निर्वाचनको परिणामका सन्दर्भमा एकले अर्कालाई आरोप–प्रत्यारोप गर्ने प्रवृत्तिलाई त्यागेर आगामी प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन आग्रह गरे ।